आफ्नो साथ छाडेकालाई नेपालले भने- विद्रोही मानसिकताका कमरेडहरूलाई विशेष धन्यवाद

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो साथ छाडेर केपी ओलीतिरै लागेकाहरूलाई विशेष धन्यवाद दिएका छन् । बानेश्वरको ल्होत्से भवनमा आयोजित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई लगायतका आफ्नो साथ छाडेका नेताहरूलाई विशेष धन्यवाद दिएका हुन् । 

सर्वोच्च अदालतमा १४६ जना पुगेर सशरीर उपस्थित भई आफूहरूले आफ्नो परिचय दिएको भन्दै उपस्थित हुने सबैलाई धन्यवाद दिए । ‘त्यहाँ उपस्थित भएका सबै साथीहरूलाई धन्यवाद दिन चाहन्छु,’ नेपालले अघि भने, ‘विद्रोही मानसिकताका साथ साथ दिने कमरेडहरूलाई विशेष धन्यवाद छ ।’

नेपालले पार्टी पूर्ववत् अवस्थामा फर्किसकेको अवस्थामा ओलीले २८ फागुनमा एकलौटी रूपमा निर्णय गरेपछि समस्या बढ्दै गएको बताए । नेपालले भने, ‘उहाँ (ओली)ले एकपछि अर्को निर्णय गरेर पुरै पन्छाउनुभयो । जहाँ जान्छौं जाऔँ भन्नुभयो । यो सबै हुँदा पनि हामीले एकता गर्ने प्रयास गर्‍याैँ ।’ 

ओलीको यो कदमपछि आफूहरूले पार्टीका अन्य गतिविधि सुरु गरेको बताए । ‘केपीलाई प्रधानमन्त्रीबाट निकाल्नैपर्छ भन्ने कुरा पनि आए । शेरबहादुरलाई कन्भिन्स गराए, प्रचण्डलाई विश्वास दिलाएर, उपेन्द्र यादवलाई विश्वास दिलाएर हामीले कदम चाल्यौँ ।’ उनले अघि भने, ‘हामीले अन्तिम कोसिस गर्‍याैँ । प्रतिगमनका कदम सच्चिनेछन्, त्यसपछि गएर पार्टीलाई विधान अनुरूप लाने काम हुनेछ भनेर प्रयास गर्‍याैँ । त्यो काम केही भएन ।’

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेपाल र प्रचण्ड बालुवाटार पुगेका थिए । उनीहरूलाई देउवाले मन्त्रीको नाम पठाउन अनुरोध गरेका छन् । सरकारमा सहभागी हुनुपूर्व सो दलले संसदीय दलको नेता चयन गर्न लागेको हो।

नेता मेटमणि चौधरीका अनुसार एकीकृत समाजवादी पार्टी केही दिनभित्रै सरकारमा सहभागी हुनेछ ।





  • प्रकाशित मिति : भदौ १३, २०७८ आइतबार १३:२४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया