गौरा मनाउन धनगढी पुगिन् आरजु राणा देउवा

नेपाली कांग्रेसकी नेतृ एवं प्रधानमन्त्रीपत्नी डा. आरजु राणा देउवा धनगढी पुगेकी छन् । सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा मनाउन नेतृ देउवा आइतबार धनगढी पुगेकी हुन् । धनगढीमै घर किनेपछि उनले तीन वर्षयता गौरापर्व यहीँ मनाउँदै आएकी छन् । उनी गत निर्वाचनमा कैलालीको क्षेत्र नम्बर ५, धनगढी उपमहानगरपालिका रहेकाे क्षेत्रबाट प्रतिनिधिसभामा चुनाव लडेकी थिइन् ।
 
‘ठूली गौरा’ भनिने आजको दिनलाई व्रतालु महिलाहरुले विशेष रुपमा लिने गरेका छन् । व्रतालु महिलाहरुले बिहानै नुवाइधुवाइ गर्छन् । साँझको समयमा गौरालाई गौराघरमा भित्र्याउने चलन छ ।

अमुक्ताभरण सप्तमीका रुपमा रहेको आजको दिन व्रतालु महिलाहरु एक ठाउँमा जम्मा भएर फाग गाएर गौरादेवीको पूजा गर्ने प्रचलन रहेको पण्डित यज्ञराज पनेरुले बताए । उनका अनुसार गौरा र महेश्वरको प्रतिमूर्ति स्थापना गरेर ब्रतालु महिलाहरुले फलफूल र विरुडाले गौरादेवीको पूजा पनि गर्ने गर्छन् ।

व्रतालु महिलाहरुले धारण गर्ने विशेष प्रकारको धागो अर्थात् दुवधागो पनि आजै गौरादेवीमा चढाउने चलन छ । यसका साथै साँझको समयमा व्रतालु महिलाहरुले कुण्ड स्नान गर्छन् । आज गौरादेवीमा चढाएको दुवधागोलाई भोलि दुर्वाष्टमी अर्थात् अठ्यावालीका दिन व्रतालु महिलाहरुले धारण गर्ने गर्छन् ।

आज गौरा र महेश्वरको पूजा गरेर व्रतालुहरुले राति मिठोमसिनो खाना खाने चलन छ । दुर्वाष्टमी अर्थात् अठ्यावालीका दिन महिलाहरुले गौरालाई गौराघरबाट गौराखलामा लगेर पूजा गर्ने चलन छ । 

यद्यपि, यस वर्ष कोरोना कहरका कारण अघिलला वर्षहरुमा जस्तो गौराको रौनकता नभएको स्थानीय बासिन्दाले बताएका छन् ।





  • प्रकाशित मिति : भदौ १३, २०७८ आइतबार १८:१४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया