केही समययता अमेरिकी अधिकारीहरु राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनबाट भटाभट बाहिरिइरहेका छन् । पछिल्लोपटक ट्रम्प प्रशासनबाट बाहिरिने घोषणा गरेकी छिन्, संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निकी हेलीले ।
मंगलबार उनले संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूतकाे पदबाट राजीनामाकाे घोषणा गर्दै यस वर्षको अन्त्यसम्म पद छाड्ने बताइन् । रिपब्लिकन नेत्री हेली यसअघि साउथ क्यारोलिना राज्यको गभर्नर भइसकेकी छिन् ।
हेली ट्रम्प प्रशासनभित्रका थोरै मात्र हाई प्रोफाइल महिलामध्ये एक हुन् । उनले ट्रम्पको एन्टी–ग्लोबलाइजेसन फैसलाबाट संयुक्त राष्ट्रसंघलाई बचाउने हरसम्भव प्रयास गरेकी थिइन् ।
राष्ट्रपति कार्यालयमा बसेको बैठकमा ट्रम्प र हेली दुवैले यसलाई एक सुखद् अन्त्यका रुपमा देखाउने कोसिस गरे । राष्ट्रपति ट्रम्पले हेलीको प्रशंसा गर्दै उनी आफ्नो भूमिकामा निकै ‘ग्ल्यामर’ लिएर आएको बताए ।
हेली संयुक्त राष्ट्रसंघमा रुस र सिरियाको कट्टर आलोचक थिइन् । संयुक्त राष्ट्रसंघको इजरायलविरोधी सोचको पनि उनी आलोचना गर्थिन् ।
उनले संयुक्त राष्ट्रसंघको प्यालेस्टाइनी शरणर्थी एजेन्सीका लागि अमेरिकी सहयोग बन्द गर्ने कुराको समर्थन गरेकी थिइन् ।
विश्वव्यापी आलोचनाका बाबजुद ट्रम्प प्रशासनले गरेको तेल अभिवबाट दूतावास सारेर जेरुसेलम लैजाने फैसलाको पनि उनले बचाउ गरेकी थिइन् ।
उत्तर कोरियामाथि कडा प्रतिबन्ध लगाउन चीनमाथि दबाब बनाउनमा हेलीले महत्वपूर्ण भूमिका खेलेकी थिइन् । त्यसबखत उनको कूटनीति निकै सफल रह्यो ।
यद्यपि, उनको काम गर्ने तरिका कहिलेकाहीँ उनका सहकर्मीहरुलाई मन पर्दैनथ्यो । जुन–जुन देशले अमेरिकाको समर्थन गरेनन्, ती देशहरुको सूची बनाउनेदेखि लिएर चेतावनी दिने उनको आक्रामक रबैयादेखि कतिपय नजिकका सहयोगी पनि हैरान थिए ।
तैपनि, यदाकदा भनिन्छ कि संयुक्त राष्ट्रसंघको शान्ति मिसन अमेरिकाको खिलाफ अघि बढिरहेको छ, र यसमा हेलीको महत्वपूर्ण भूकिका छ ।
हेली रिपब्लिकन पार्टीकी एक प्रभावशाली नेत्री हुन् । उनलाई अमेरिकाको भाबी राष्ट्रपतिका रुपमा पनि हेर्ने गरिन्छ । त्यसैले पनि उनको ट्रम्प प्रशासनबाट बाहिरिने घोषणालाई विश्वले निकै महत्वका साथ हेरेको छ ।
तथापि, उनले २०२० को राष्ट्रपतीय चुनावमा ट्रम्पलाई चुनौती दिन अस्वीकार गरिसकेकी छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।