धितोपत्र बोर्डको अनियमितताका दोषीलाई कारबाही गर्न अर्थसमितिको निर्देशन
छिट्टै छानबिन हुन्छ : अर्थमन्त्री

संसदको अर्थ समितिले नेपाल स्टक एक्सचेन्ज (नेप्से) र धितोपत्र बोेर्डमा भएको अनियमितताबारे छिट्टै छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएको छ । धितोपत्र बोर्ड र नेपाल नेप्सेका पदाधिकारीले आचारसंहिताविपरीत सेयर कारोबार गरेको निष्कर्ष निकाल्दै अर्थसमितिले तत्काल कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको हो । 

समितिको शुक्रबारकोे बैठकले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदीय आचरणविपरीत सेयर कारोबार गरेको निष्कर्ष निकालेको हो ।

बोर्डका अध्यक्ष ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदले सर्वोत्तम सिमेन्टको सेयर परिवारका सदस्यहरूको नाममा खरिद गरेर पदीय आचारणविपरीत काम गरेको भन्दै चर्को आलोचना भइरहेका बेला समितिले तत्काल छानबिन गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको हो ।

समितिमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री जनार्दन शर्माले अनियमितताबारे छिट्टै छानबिन हुने बताएका छन् । संसदको अर्थसमितिमा धितोपत्र बोर्डमा भएको अनियमितताबारे बोल्दै मन्त्री शर्माले यस्तो जानकारी दिएका हुन् । 

बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले आचारसंहिताविपरीत छोरीका नाममा सेयर किनेको सूचना बाहिरिएपछि अर्थ मन्त्रालयले यसअघि नै पत्र काटिसकेको थियो । सो पत्रअनुसार ढुंगानाले स्पष्टीकरण पनि दिइसकेका छन् । ढुंगानाको जवाफ चित्तबुझ्दो नभएपछि छानबिन समिति पनि गठन गरिएको छ । 

उक्त घटनाबारे अर्थसमितिले चासो देखाएपछि मन्त्री शर्माले शुक्रबार समितिमा जवाफ दिएका हुन् । धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले धितोपत्र निष्कासनका लागि तयारी गरिरहेको सर्वोत्तम सिमेन्टको सेयर प्राथमिक निष्कासन हुनुअगावै विदेशमा रहेकी आफ्नी छोरीका नाममा किनेको प्रमाणसहित समाचार प्रकाशित भएको थियो ।



अर्थमन्त्री शर्माले छानबिन भइरहेकाले आफूले अहिले धेरै बोले छानबिनमा असर पर्ने हुँदा छिट्टै प्रतिवेदन सार्वजनिक गरी त्यसैमार्फत सबै सार्वजनिक हुने बताएका छन् । 

‘अहिले बजारमा करिब ३७ लाखले कारोबार गरिरहेको रेकर्ड छ । त्यो ३७ लाखमध्ये अत्यधिक मानिस सामान्य हुन् । सयजना जति मात्रले यसको लाभ लिइरहेका छन् । त्यसैले ती सामान्य मानिसहरूको लगानी पनि नडुबोस् भन्नेमा हाम्रो ध्यान गम्भीर ढंगले गएको छ,’ उनले भने, ‘अहिले समस्याका बारेमा धेरै कुरा भन्न नहुने अवस्थामा छ । म आफैँले निर्णय गरेर छानबिन गर्न लगाइएको छु । अहिले धेरै बोले त्यसमा प्रभाव पर्न सक्छ । त्यसैले छानबिन समितिको अन्तिम रिपोर्ट नआएसम्म यसमा धेरै कुरा बताउन नमिल्ने अवस्था छ ।’
 



  • प्रकाशित मिति : भदौ १४, २०७८ साेमबार १६:४५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया