वर्तमान जेनतेन सडकमा, भविष्यको चिन्ता !

शरीरमा ठाउँ–ठाउँमा च्यातिएका लुगा, थोत्रा प्लास्टिकले  भरिएका बोरा ठेलामा थुपार्न व्यस्त, उमेरले आठ वर्ष पनि नकटेका यी बालकको तस्बिर मात्रै देख्दा पनि कुनै चलचित्रको दृश्यजस्तो लाग्न सक्छ । आमाबाबुको काखमा हाँसीखुसी खेल्ने र किताब-कापी लिएर विद्यालय जाने उमेरका यी बालक किन सडकमा फोहोर टिप्न बाध्य छन् त ? 

घरको आर्थिक अवस्था कमजोर भएका कारण कलिलै उमेरमा ठेला चलाएर प्लास्टिक संकलन गर्न बाध्य यी बालकको मनमा पनि आउँदो हो नि– मीठो खाने, राम्रो लगाउने, साथीभाइ हातमा हात समाएर विद्यालय जाने अनि आफ्ना परिवारको साथमा बसेर जीवन गुजार्ने सपना त यी बालकमा पनि हुँदो हो । तर, यिनको पीडा बुझिदिने कसले ? 
  
जनकपुरधाम उपमहानगरपालिका–१४ रजौलका बालक रामभजन मुखिया, रामजीवन मुखिया, भुल्ला मुखिया र दिनेश साह । सबै करिब ७ देखि ८ वर्षसम्म उमेर समूहका छन् । विगत तीन वर्षदेखि जनकपुरधाममा बस्दै आएका उनीहरुले अहिलेसम्म विद्यालयको मुखसमेत हेर्न पाएका छैनन् । कहाँ छन् बालबालिकाको नाममा दर्जनौँको संख्यामा खोलिएका ती एनजिओ र आइएनजिओ ? के उनीहरुलाई लाग्ने गरेको  आरोप ‘डलर भजाउन’ मात्र काम गरिरहेका छन् त ? 

आफूहरुलाई हेर्ने कोही पनि नरहेको उनीहरुको दुःखेसो छ । उनीहरुको कहानी दुःखद् छ । रातमा मात्र घरमा हुन्छन् । उनीहरु सूर्य उदाउनुअघि नै बजार पुगिसकेका हुन्छन् । मानिसहरु निद्राबाट नब्युँझँदै उनीहरु प्लास्टिक संकलन गर्न सुरु गरिसकेका हुन्छन् ।
 
फोहोर फाल्ने ठाउँमा जानुहुँदैन । विभिन्न खालका रोग लाग्छ भन्ने कुरा उनीहरुलाई थाहा छ । तर, यो काम उनीहरुले रहरले होइन बाध्यताले गरेका हुन् भन्ने बुझ्न जो–कसैलाई गाह्रो छैन । रामजीवन भन्छन्, ‘फोहोर फाल्ने ठाउँमा नगए प्लास्टिक नै संकलन गर्न सक्दिनँ । अनि कसरी पैसा कमाइ हुन्छ ? फोहोर ठाउँमा जाने त बाध्यता छ ।’

यस्तो कलिलै उमेरमा जनकपुरधाम आएका यी बालकहरु कबाडीखानामै रात बिताउँछन । दिनभर नगरको कुना–काप्चामा फोहोर टिप्छन् । परिवारको गुजारा चलाउन दिनभर प्लास्टिक संकलन गरेर साँझमा कबाडीमा पुगेर बिक्री गर्छन् । 
पुस–माघको जाडो होस् वा चैत–वैशाखको उखर्माउलो गर्मी नै किन नहोस्, दिनरात सडकमा नै बिताउने, त्यहीँ खाने, त्यहीँ घुम्ने, त्यहीँ सुत्ने यिनीहरुको दिनचर्या बनेको छ । विभिन्न कारणले घर, परिवार छाडेका यी बालकहरु सडकमै आश्रित छन् । 



बालक राम भजनले भने, ‘दिनभरको हिँडाइले साँझमा एकदमै थाक्छु ।  कबाडीमा सामान बेचेपछि रातमा हामी सबैजना त्यहीँ सुतिहाल्छौँ ।’ आर्थिक अवस्था कमजोर भएको परिवारमा जन्मेका कारण एक कक्षासम्म पनि नपढेको उनले सुनाए । उनी सुस्केरा हाल्दै भन्छन्, ‘खानलाई नै पुग्दैन भने विद्यालय कसरी जानु ?’ 



‘गरिबको कोखबाट जन्मनु पनि अभिशाप रैछ,’ उनी भन्छन्, ‘अहिले त जसोतसो गुजारा चलिरहेको छ, तर भविष्यको चिन्ताले मलाई पोल्छ ।’ सडक बालक हुनुपरेकोमा उनलाई धेरै पीडा छ । उनीहरुसँग न त बस्ने घर छ न त खाने अन्न नै । उनीहरु सबैको घरमा आमाबुवा र भाइबहिनी छन् । उनीहरुले कमाएको रकमबाट बचाएर जसोतसो घरपरिवार चलाउँछन् । 

यी बालकहरु प्रतिनिधि पात्र मात्र हुन्, जनकपुरधाम उपमहानगरपालिकामा प्लास्टिक संकलन गर्नेको संख्या दर्जनभन्दा बढी छ । यसरी प्लास्टिक संकलन गर्नेहरुमा अधिकांश ७ देखि १५ वर्षका बालक छन् । होटल, इँटा उद्योग, पसल, सवारीसाधन लगायतका ठाउँमा पनि बालश्रमिकको कमी छैन । कतिपय बालबालिका इँटा उद्योगमा भारी बोक्न बाध्य छन् । सवारी साधनमा काम गर्ने बालकहरु ज्यानै जोखिममा राखेर काम गर्छन् । होटलमा प्लेट, भाडा वर्तन सफा गर्ने बालबालिका त फोहोरसँगै खेल्न बाध्य हुन्छन् । घरको आर्थिक अवस्था कमजोर रहेका कारण कलिलो उमेरमै श्रम गर्न बालबालिका बाध्य छन् । 

कतिपय अभिभावकको छोराछोरी पढाउने इच्छा हुँदाहुँदै पनि आर्थिक अभावका कारण श्रम गर्न बाध्य बालबालिकाको संख्या बढिरहेको छ । सरकारले सबैका लागि अनिवार्य निःशुल्क शिक्षा दिने नीति अवलम्बन गरे पनि यस्ता बालकहरुसम्म पुगेको छैन । 

सडकमा बालबालिका बढ्दै जानु भनेको बालक, परिवार, समाज र राष्ट्रका लागि पीडादायक अवस्था हो । सडकमा आश्रित बालबालिकाले पीडा र अप्ठ्यारो त भोगी नै रहेका छन्, सुरक्षा खतरा एकातर्फ छ भने अनियमित जीवनको भविष्य अझै कहालीलाग्दो छ ।

शिक्षाको पहुँचबाट टाढा भई यस्तो कलिलै उमेरमा सडक पेटीमा कबाडी संकलन गरेर जीविकोपार्जन गर्दै आएका बालकहरुका लागि पनि सरकार छ भन्ने प्रत्यभूति कहिले होला ?  

  • प्रकाशित मिति : भदौ १४, २०७८ साेमबार २१:४३:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया