यूएईबाट फर्किए बक्सिङ खेलाडी

एएसबिसी युथ तथा जुनियर बक्सिङ प्रतियोगितामा सहभागी भई ३ खेलाडीसहित ४ सदस्यीय नेपाली बक्सिङ टोली मंगलबार स्वदेश फर्किएको छ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य एवं नेपाल बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, प्रवक्ता श्याम अवाले, बक्सिङ मुख्य प्रशिक्षक प्रकाश थापा मगरलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

६ खेलाडीले प्रतिस्पर्धा गरेकोमा मंगलबार स्वदेश फर्किने तीनै खेलाडी पदक विजेता हुन् । अगस्ट २० देखि ३१ तारिखसम्म दुबईमा भएको प्रतियोगितामा ६ खेलाडीसहित ११ सदस्यीय टोलीले भाग लिएका थिए । ३ खेलाडीसहित ७ सदस्यीय टोली भने यसअघि नै फर्किसकेको नेपाल बक्सिङ संघले जनाएको छ ।

उक्त प्रतियोगितामा पुरुष जुनियर ५४ केजीमा छिरिङ वाङदी शेर्पाले कांस्य जिते । क्वाटरफाइनलमा कुवेतका खेलाडीलाई ५-० ले पराजित गर्दै छिरिङले सेमिफाइनलमा स्थान बनाएका थिए । सेमिफाइनलमा छिरिङ ताजकिस्तानका खेलाडीसँग चुके । पछि यो स्पर्धामा ताजकिस्तानका खेलाडीले स्वर्ण नै जिते ।

घरेलु प्रतियोगितामा चावहिलको बक्समान्डुबाट खेल्ने छिरिङको यो दोश्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । विमानस्थलमा भएको स्वागत कार्यक्रममा छिरिङले प्रतियोगिताका लागि धेरै मेहनत गर्नुका साथै ट्रेनिङमा बक्सिङ संघ र गुरुहरूले पनि धेरै सहयोग गरेका कारण सफलता प्राप्त भएको बताए । छिरिङले सफलताले आगामी दिनमा अझ बढी राम्रो गर्न हौसला बढेको बताउँदै अबको लक्ष्य युथ च्याम्पियनसिप रहेको बताए ।

महिलातर्फ जुनियर ५२ केजीमा स्वस्तिका तिरुवा तथा युथ ५७ केजीमा नारिका राईले कांस्य हात पारे । पहिलो चरणमा वाइ पाउँदै सेमिफाइनलमा पुगेपछि दुवैको कम्तीमा कांस्य पदक सुनिश्चित भएको थियो । सेमिफाइनलमा दुवै भारतीय खेलाडीले पराजित भए । 



कांस्य विजेता खेलाडीले १ हजार अमेरिकी डलर नगद पुरस्कार जिते । बाँकी तीन खेलाडी सुलभ माली, इन्द्रबहादुर सुनार र सुदेन गिरी पहिलो चरणबाटै बाहिरिएका पदक विजेता खेलाडीसँगै स्वदेश फर्किएका प्रशिक्षक दीपक महर्जनले जानकारी गराए ।

अध्यक्ष अवालेले खेलाडीको सफलताले बक्सिङ परिवार मात्र नभई सिंगो मुलुकलाई गौरवान्वित तुल्याएको धारणा व्यक्त गर्दै नेपाली खेलाडी पनि कोहीभन्दा कम छैनन् भन्ने सन्देश दिन सफल भएको बताए ।



  • प्रकाशित मिति : भदौ १५, २०७८ मंगलबार १६:५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया