इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिक टेकले आफ्नाे ठगी धन्दा ढाकछोप गर्न न्युजपोर्टल नै ब्लक गरिदिएको छ । क्लासिक टेकले आवर विराटनगर डट नेट आफ्ना ग्राहककेमा नखुल्ने बनाएको हो ।
ग्राहकसँग पैसा लिएर इन्टरनेट सेवा नदिएको विषयमा आवर विराटनगर डट नेटले समाचार सामग्री प्रकाशन गरेपछि टेकले विराटनरमा सञ्चालित सो साइट नै ब्लक गरेको हो ।
पैसा लिएर सेवा नदिएको विषयमा सो अनलाइनमा समाचार र भिडियो सामग्री प्रकाशन र प्रसारण भएको थियो । क्लासिक टेकको इन्टरनेट सेवा लिएका ग्राहकहरुकोमा नखुल्ने बनाइएको छ ।
ओबी मिडिया प्रालिका कार्यकारी निर्देशक सरोज कार्कीले समाचार प्रकाशन भएपछि आवर अनलाइनको पेज क्लासिक टेकले ब्लक गरेको बताए ।
क्लासिक टेकले धम्कीपूर्ण भाषा प्रयोग गर्दै शुक्रबारबाट आवर विराटनगर ब्लक गरेको उनले बताए ।
अहिले क्लासिक टेकको इन्टरनेट प्रयोग गर्ने ग्राहककोमा आवर विराटनगर डट नेटको पेज खुल्दैन ।
‘हामीले र्यान्डम्ली फोन गरेर पाठकहरुलाई सोध्यौँ,’ कार्कीले भने, ‘प्रश्न सोधिएका सातजनामध्ये ६ जनाकोमा मंगलबार पनि साइट नखुल्ने समस्या भएको देखियो ।’
क्लासिक टेकले शुक्रबार रातिीबाट आप्mना सबै प्रयोगकर्तामा न्युजपोर्टल बन्द गराएको थियो ।
चौतर्फी विरोधका कारण ४० घण्टापछि ब्लक हटाएको बताएको थियो । तर, आज पनि आंशिक रुपमा मात्रै ब्लक हटेको कार्कीले बताए ।
ठगी धन्दा ढाकछोप गर्न मिडिया ब्लक
चर्को शुल्क लिएर सेवा नदिएपछि इन्टरनेटप्रदायक निजी कम्पनी क्लासिक टेकको विराटनगर ट्राफिक चोकस्थित शाखा कार्यालयमा शुक्रबार सेवाग्राहीले तालाबन्दी गरे ।
चार दिनअघिदेखि सेवा अवरुद्ध भएपछि सेवाग्राहीले जानकारी गराए पनि समस्याबारे कम्पनीले चासो नराखेपछि सेवाग्राहीले कार्यालयमै तालाबन्दी गरेका हुन् ।
सेवाग्राहीले आफ्नो गुनासो राख्दा कम्पनीका प्रतिनिधिले नयाँ–नयाँ सामान जडान गर्नुपर्ने भन्दै खरिदका लागि दबाब दिँदै आएको उनले बताए ।
सेवा अवरुद्ध भएर गएका सेवाग्राहीलाई नयाँ राउटर लगाउनुपर्ने भन्दै खरिद गर्न लगाएर खर्च बढाउने मात्रै काम गरेको भन्दै आक्रोशित समूहले कार्यालयमै तालाबन्दी गरिदिएको समाचार स्थानीय अनलाइनमा प्रकाशन भएको थियो । तालबन्दीको समाचार आएपछि क्लासिक टेकले सो अनलाइन ब्लक गरेको थियो ।
कारबाही गर्न महासंघको माग
समाचार प्रकाशनको विषयलाई लिएर न्युज पोर्टल बन्द गरेपछि नेपाल पत्रकार महासंघले इन्टरनेटप्रदायक कम्पनी क्लासिक टेकलाई कारबाही गर्न नेपाल दूरसञ्चार प्राधिकरणसँग आग्रह गरेको छ ।
ओबी मिडिया प्रालिको अनलाइन संस्करण आवर विराटनगरको पोर्टललाई ‘ब्लक’ गरेको विषयमा महासंघ केन्द्रको ध्यानाकर्षण भएको ठहर गर्दै क्लासिक टेकविरुद्ध तत्काल कारबाही अघि बढाउन महासंघले प्राधिकरणसँग आग्रह गरेको हो ।
महासंघका महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा आफ्नाविरुद्ध समाचार प्रकाशन गरेकै आधारमा सञ्चारमाध्यमलाई बन्देज लगाउनु कानुन विपरीत रहेको भन्दै गम्भीर ध्यनाकर्षण भएको उल्लेख गरिएको छ ।
क्लासिक टेकको कार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन भएको भन्दै महासंघले यस्तो कार्य नदोहोर्याउन चेतावनी दिएको छ । महासंघले तत्काल बन्देज हटाउन आग्रह गरेको छ ।
क्लासिक टेक पिआर रिलेसन हेड सुशीलजंग थापाले भने आवर विराटनगर प्रकाशनमा कुनै बन्देज नलगाएको दाबी गरे ।
उनले भने, ‘क्लासिक टेकको युजरमा हाम्रा कारणले कुनै प्राविधिक समस्या छैन ।’ शुक्रबार डिएनएस सर्भरमा समस्या रहेको र आइतबारबाट समस्या समाधान भएको उनले दाबी गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।