नेकपा एमाले विभाजन भएपछि नेकपा (एकीकृत समाजवादी)मा आवद्ध हुने प्रदेश- १ प्रदेशसभाका सदस्यहरूले आज बुधबार सनाखत गर्ने भएका छन् ।
समाजवादीका नेता राजेन्द्र राईले बुधबार सनाखत गर्ने तयारी भएको बताए । एमाले छाडेर समाजवादीमा गएको सांसदहरूलाई दल चुन्नका लगि २२ गते सम्मका लागि समय थियो । समय अगावै दल चुन्नका लागि सनाखत तयारी भएको राईले जानकारी दिए।
कम्तीमा १० प्रदेश सभा सदस्यले समाजवादी पार्टी रोज्ने राईको दावी छ । शुक्रबार नै १० जना प्रदेश सभा सदस्यहरूले समाजवादीमा जाने भनेर हस्ताक्षर गरेका थिए ।
शुक्रबार भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, मोरङका उपेन्द्र घिमिरे, सावित्रा रेग्मी र कृष्णकुमारी राईले समाजवादीमा जाने भनेर हस्ताक्षर गरेका छन् ।
यस्तै इलामकी खिनु लङ्वा लिम्बू, पाँचथरका गणेश काङ्माङ, उदयपुरकी सुनिता चौधरी, संखुवासभाकी सरिता थापा र पदमकुमारी गुरुङदले नेकपा समाजवादी रोज्ने देखिएको छ ।
केही दिनदेखि सामूहिक रूपमा बसेर छलफल गर्दै आएका उनीहरूले नयाँ दल रोज्नका लागि एक साथ विराटनगरमा रहेको निर्वाचन कार्यालयमा सनाखत गर्ने तयारी गरेका छन् ।
यसअघि माधवकुमार नेपाल समूहमा रहेका सांसदहरूलाई रोक्न एमालेले नेपाल समूह छाडेर आएका भीमप्रसाद आचार्यलाई मुख्यमन्त्री बनाएको छ । तर, उनी मुख्यमन्त्री भएपनि नेपाल समूहका बहुमत सांसदको उनले साथ नपाउने देखिएको छ ।
यसअघि नेपाल समूहमा आवद्ध भएका १८ सांसदमध्ये कम्तिमा १० जनाले समाजवादी रोज्दै सनाखत गर्ने पार्टीका केन्द्रीय सदस्य एवं प्रदेश सांसद राजेन्द्र राईले दावी गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।