आफैले बनाएका सांसदले धोका दिँदा भीम आचार्य अल्पमतमा, कहिलेसम्म होलान् मुख्यमन्त्री ?

१० जना प्रदेशसभा सदस्य नयाँ पार्टी एकीकृत समाजवादीमा लागेसँगै प्रदेश- १ मा एमाले अल्पमतमा परेको छ । ५१ सदस्य रहेको एमालेका १० सदस्य समाजवादीमा गएसँगै अब एमालेमा ४० जना प्रदेशसभा सदस्य मात्रै रहने छन् ।

४१ मध्ये एकजना सभामुख रहेका छन् भने एमालेबाट प्रदेससभा सदस्य बनेकी गुलेफन मियाँ कीर्ते मुद्दामा फरारको सूचीमा छन् । यसरी हेर्दा एमालेमा ३९ सांसद रहने छन् । प्रदेशमा बहुमत सदस्य पुर्‍याई सरकार टिकाउन एमालेलाई ४७ जना सदस्य आवश्यक पर्छ।

समाजवादीमा १० जना सांसद गएसँगै एमाले एक्लैले बहुमत पुर्‍याउन सक्ने अवस्था छैन । प्रदेश- १ मा अब माओवादी केन्द्रका १५, नेपाली कांग्रेसका २१, समाजवादीका १० जसपाका ३ जना सदस्य छन् । राप्रपाका १ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक सदस्य छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि केन्द्रदेखि नै विपक्षी गठबन्धन बनेको छ । गठबन्धन अहिले पनि कायमै छ । 

गठबन्धनमा कांग्रेस, माओवादी, समाजवादी र उपेन्द्र यादव नेतृत्वको जसपा  छन् । प्रदेशमा रहेका तीनैजना प्रदेशसभा सदस्य उपेन्द्र यादवतिर छन् । यसो हुँदा विपक्षी गठबन्धनको प्रदेश १ मा सिट संख्या ४९ पुगेको छ । यसमा राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च समावेश छैन । विपक्षी गठबन्धनमा बहुमत पुग्दा भीम आचार्य नेतृत्वको सरकार ढल्ने अवस्थामा पुगेको हो । 

दल चुन्न सनाखत गर्दै समाजवादी पार्टीका नेता राजेन्द्र राईले अब सरकारतर्फ ध्यान गएको बताएका छन् । ‘आजसम्म सनाखत गर्ने विषयमा ध्यान थियो, अब सरकारतर्फ ध्यान जाने छ,’ उनले भने । उनले गठबन्धनको निर्णय र समन्वयमा सरकार बन्ने बताए । 



आफ्नैबाट धोका हुँदा सरकार धरापमा

शेरधन राईलाई विस्थापन गर्दै मुख्यमन्त्री बनेका भीम आचार्यलाई आफ्नैले धोका दिएका छन् । निर्वाचनका बेला मुख्यमन्त्री बन्न छानीछानी आफू निकटकालाई समानुपातिकतर्फबाट सांसद बनाएका आचार्यलाई अहिले तिनै सांसदले छाडेका छन् । 



मुख्यमन्त्री बन्न उनले आफूइतरका नेताहरूलाई टिकट नदिएको आरोप लागेको थियो । त्यो बेला उनी एमाले प्रदेश- १ इन्जार्च थिए । इन्चार्ज हुँदा उनी माधव नेपालनिकट भए पनि सुनसरी, मोरङ, झापामा उनले आफ्नाे छुट्टै गुट चलाएको आरोप थियो । उनले टिकट बाँड्दा पैसाको बार्गेनिङ गरेको अडियोसमेत सार्वजनिक भएको थियो । 

छुट्टै गुट चलाएर मुख्यमन्त्री बन्ने दाउमा रहेका आचार्य त्यो बेला संसदीय दलको नेता बन्न सकेनन् । उनी शेरधनसँग २ मतले पराजित भए । उनकै विश्वासिला भनिएको खोटाङका प्रदेशसभा सदस्य राजन राईले समेत दुवै जनालाई मत हालेपछि बदर भएको थियो । अहिले तिनै २४ जनामध्ये १० जना समाजवादीमा लागेका छन् । शेरधनलाई मत हाल्ने २६ जना भने एमालेमै रहेका छन् ।

आचार्यले बल गरेर ल्याएका भनिएका प्रदेशसभा सदस्यहरू नै समाजवादीमा लाग्दा उनको सत्तारोहण एक महिना पनि नटिक्ने संकेत देखिएको छ । एमाले विभाजनपछि शेरधन राई नेतृत्वको सरकार परिवर्तन गर्दै एमालेले भीम आचार्यलाई मुख्यमन्त्री बनाएको थियो ।

आचार्य मुख्यमन्त्री भए समाजवादीमा जाने सांसदको संख्या कम हुने अनुमान गरिएको थियो । आचार्यले पनि आफू पार्टीको ड्यामेज कम गर्न मुख्यमन्त्री भएको दावी गरेका थिए । तर, उनको दाबीविपरीत उनीसँग नजिक भएका भनिएका प्रायः प्रदेशसभा सदस्य समाजवादीमा लागेका छन् ।

उनी निकट मानिएका उपेन्द्र घिमिरे, कृष्णकुमारी राई, पदमकुमारी गुरुङले समेत उनलाई छाडेर समाजवादी गएका छन् । अन्तिम समयसम्म पनि कृष्णकुमारी र उपेन्द्रले भीमका कारण एमाले नछाड्ने विश्वास गरिएको थियो । तर, दुवैले समाजवादी रोजेको भन्दै प्रदेश निर्वाचन कार्यालयमा हस्ताक्षर गरेका छन् । 

कतिञ्जेल टिक्ला एमालेको सत्ता ?

५१ सिट जित्दै एमाले प्रदेशमा सबैभन्दा ठूलो दलमात्रै भएको थिएन, बहुमत पनि प्राप्त गरेको थियो । अझ माओवादी केन्द्रसँग समेत एकता भएपछि बनेको नेकपाको नेतृत्वमा सरकार बनाउँदा शेरधन राईलाई ६६ जना प्रदेशसभा सदस्यको साथ थियो ।

तर, तीन वर्ष बित्न नपाउँदै दुईतिहाइको सरकार अल्पमतमा परेको छ । एमाले र माओवादी केन्द्र छुटिँदा ५१ मा झरेको एमाले अब समाजवादी पनि छुटिँदा ४१ मा झरेको छ  । यसरी दुईतिहाइको सरकार अल्पमतमा परेपछि नयाँ सरकार कसले र कहिले बनाउलान् भन्ने चासो चुलिएको छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले दल सनाखत भएपछि यसबारे गठबन्धनमा छलफल हुने बताए । उनले केन्द्रदेखिकै सहमतिका आधारमा मुख्यमन्त्री कसलाई दिने भन्ने निर्क्याैल हुने पनि जानकारी दिए । 

माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङबोले भीम आचार्य नेतृत्वको सरकार अल्पमतमा परिसकेकाले मार्गप्रशस्त गर्नुपर्ने बताए । उनले गठबन्धनको बैठक बसेर आगामी बाटो तय गरिने जानकारी दिए । 

  • प्रकाशित मिति : भदौ १६, २०७८ बुधबार १५:४०:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया