डुबेर तथा खोलाले बगाएर विभिन्न स्थानमा ६ जनाको मृत्यु
फाइल फाेटाे

कैलालीकाे गौरीगंगा नगरपालिका-३ कुचैनीस्थित शिवगंगा नदीमा नुहाउने क्रममा डुबेर सोही ठाउँ बस्ने ५२ वर्षीय ढिग्रा चौधरीको बुधबार साँझ मृत्यु भएको छ ।

सप्तरीकाे हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदह बस्ने ३० वर्षीय लक्ष्मण कुमार ईसरको सोही नगरपालिका-२ सखर देहीस्थित कोशी नहरमा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ ।

शौचालय गर्न कोशी नहरतर्फ गएका ईसर घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा उक्त नहरमा डुबेर घाइते भएको अवस्थामा फेला पारेका थिए । गम्भीर अवस्थामा पुगेका ईसरकाे भारदह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

झापाकाे कन्काई नगरपालिका-१ लालपानीस्थित नालीमा डुबेर सोही ठाउँ बस्ने ६६ वर्षीया नरमाँया दर्जीको बुधबार दिउँसो मृत्यु भएको छ । घाँस काट्ने क्रममा उक्त नालीको पानीमा डुबेर उनको मृत्यु भएको हो ।

यस्तै रामेछापकाे खाँडादेवी गाउँपालिका-५ तारामणी बस्ने सानु तामाङको छोरी ९ वर्षीया अनिशा तामाङ र टारबारी बस्ने गोपाल सार्कीको छोरी १२ वर्षीया मनिता सार्कीको सोही ठाउँस्थित भटौली खोलाले बगाएर बुधबार दिउँसो मृत्यु भएको छ । 

यसै गरी नवलपरासी(पूर्व)काे गैंडाकोट नगरपालिका-२ नारायणी नदीमा नुहाउन जाँदा उक्त खोलामा आएको बाढीले बगाउँदा चितवन भरतपुर महानगरपालिका-११ बस्ने ९१ वर्षीय देबिराम आचार्यको मृत्यु भएको छ । 



यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



  • प्रकाशित मिति : भदौ १७, २०७८ बिहीबार १३:०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया