किन अनिश्चित भयो देउवाको गृहजिल्ला डडेल्धुरासहित ३ जिल्लामा अधिवेशन ?

नेपाली कांग्रेसको १४औं महाअधिवेशन अन्तर्गतका वडा अधिवेशन भईरहेको छन् । भदौ १८ गते मुलुकका विभिन्न वडाहरुमा अधिवेशन भइरहेका हुन् । 

सुदूरपश्चिमका ४ जिल्लामा धमाधम वडा अधिवेशन सम्पन्न भइरहेका छन् । अधिकांश वडाहरुमा वडा प्रतिनिधिहरु निर्विरोध चयन भइरहेका छन् ।

सुदूरपश्चिम प्रदेशको ९ जिल्लामा ४ जिल्लामा भइरहेको हो भने दुई जिल्लामा भोलि र पर्सी हुने कांग्रेसले जनाएको छ । डोटी, अछाम, बझाङ कञ्चनपुरमा सम्पन्न भइसकेको हो भने बैतडी र दार्चुलामा भोलि र पर्सी हुँदैछ । 

अन्य ३ जिल्लामा भने कहिले सम्पन्न हुने भन्ने केही टुङ्गो लागेको छैन । क्रियाशील सदस्यका विवादका कारण प्रदेशका ३ जिल्लाको वडा अधिवेशन अनिश्चित बनेको हो ।

क्रियाशील सदस्यताको टुंगो नलागेका कारण डडेल्धुरा, कैलाली र बाजुरामा  वडा अधिवेशन हालका लागि स्थगित भएको छ । डडेल्धुरा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला हो । 

कैलाली पनि देउवाको घर छ । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट सभापति देउवाको पत्नी आरजु उम्मेद्वार थिइन् । अझै पनि अगामी निर्वाचानमा आरजुलाई नै उम्मेद्वार बनाउने चर्चा छ ।



सबैभन्दा बढी पाँच संघीय संसदीय निर्वाचन क्षेत्र रहेको कैलाली तथा डडेल्धुरा र बाजुरामा क्रियाशील सदस्यताको विवाद अझैं टुंगिएको छैन ।

वडा अधिवेशनका लागि नेताहरु जिल्लामा तयार भए पनि क्रियाशील सदस्यता तथा मतदाता नामावली सार्वजनिक नहुँदा अन्योल भएको छ । 



कैलालीमा सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा सबैभन्दा बढी क्रियाशील सदस्य (१८ हजार १३४) रहेका छन् । यो संख्यामा कैलाली क्षेत्र नम्बर १ को टीकापुर नगरपालिकाको वडा नम्बर १ को ५७६ जना नयाँ क्रियाशील सदस्य समावेश रहेको छैन ।

कैलालीको टीकापुर नगरपालिका, जानकी गाउँपालिका र लम्कीचुहा नगरपालिकाका धेरै वडामा सबैभन्दा बढी क्रियाशील सदस्यतासम्बन्धी विवाद रहेको देखिएको छ । क्रियाशील सदस्यता विवाद समाधान गर्न दबाबस्वरुप क्षेत्र नम्बर १ का सभापति भुवनेश्वर अधिकारी सहितका नेताहरू एक महिना बढी कांग्रेस केन्द्रीय कार्यालयमा धर्नामा बसेका थिए ।

कैलाली कांग्रेसका सभापति नरनारायण शाह ‘मनु’ ले क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक नहुँदा समस्या भएको बताए । 

‘वडा, क्षेत्र र जिल्ला कार्यसमितिबाट सिफारिस नभएका, पहिले फारम नै नभरेका, शुल्क नबुझाएका सदस्यहरू थप गरियो भने कैलाली कांग्रेसले कदापी स्वीकार गर्ने छैन’, उनले भने, ‘महाधिवेशनको मुखमा कुनै पनि कारणले नयाँ क्रियाशील सदस्य थप्ने कार्य गलत हो । यस्तो भयो भने अधिवेशन नै प्रभावित हुने छ ।’

कैलालीमा १२६ वडा छन् । पार्टी सभापति तथा प्रधानमन्त्री देउवाको गृह जिल्ला डडेल्धुरामा पनि वडा अधिवेशन अनिश्चित बनेको छ । डडेल्धुरामा पनि अहिलेसम्म क्रियाशील सदस्यता सम्बन्धी टुंगो लागेको छैन ।

डडेल्धुरा कांग्रेसका अनुसार डडेल्धुरामा पुरानो सदस्यता नवीकरण र नयाँ गरी करिब पाँच हजार आठ सय बढी क्रियाशील सदस्यको सिफारिस गरिएको छ । 

डडेल्धुरा काँग्रेस स्रोतका अनुसार जिल्लाबाट सिफारिस भएका सदस्यताहरूमध्ये केन्द्रबाट पाँच सय ९८ जना हटाएर तीन सय ३८ जना थप गरिएको छ ।

डडेल्धुरा जिल्ला कार्यसमितिले विधि र प्रक्रिया पूरा गरेर पाँच हजार आठ सय (नयाँ तथा नवीकरण) सहितको क्रियाशील सदस्यको विवरण केन्द्रीय कार्यालयमा पठाएको डडेल्धुरा कांग्रेसका नेता हरि भट्टले बताए । 

एक संसदीय निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा ५२ वटा वडा रहेका छन् । बाजुरामा पनि क्रियाशील सदस्यताको टुंगो लागेको छैन । सोही कारण वडा अधिवेशन अनिश्चित बनेको छ । 

पार्टी जिल्ला सभापति कविराज पण्डितले क्रियाशील सदस्यको नामावली प्राप्त नहुँदा वडा अधिवेशन हुन नसकेको बताए । 

‘क्रियाशील सदस्यको नामावली प्राप्त भएपछि मात्रै वडा अधिवेशन प्रक्रिया सुरु गर्नेछौं’, उनले फरकधारसँग भने । एक संसदीय निर्वाचन क्षेत्र रहेको बाजुरामा ६९ वडाहरू छन् ।


 

  • प्रकाशित मिति : भदौ २०, २०७८ आइतबार १६:२३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया