कांग्रेसभित्र विधिको शासन स्थापित गर्न मेरो उम्मेदवारी : गगन थापा

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले पार्टीलाई व्यवस्थित र विधानसम्मत तरिकाले चलाउनका लागि आफूले महामन्त्रीमा उम्मेदवारी दिन लागेको बताएका छन् । 

सोमबार काठमाडौंमा आयोजित ‘नेपाली कांग्रेसको १४औँ महाधिवेशन नेतृत्व विकास र भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेता थापाले पार्टीको महामन्त्री बनेपछि ४ वर्षमा अधिवेशन गराउने र पार्टीका साथीहरुलाई अनशन बस्नुपर्ने स्थिति आउन नदिने प्रतिबद्धता व्यक्त गरे । 

पार्टीका आन्तरिक समस्याहरुलाई हल गर्न सके मात्र पनि आधा समस्या समाधान हुने विश्वास व्यक्त गर्दै उनले पार्टीको व्यवस्थापन गर्न नसक्नेले देश, नगर, सहर बनाउँछु भनेर नपत्याउने बताए । नेता थापाले पुराना दिन सम्झिएर नयाँ कांग्रेस बनाउनका लागि नौजवानको आवश्यकता रहेको बताए । 

‘नेपाली कांग्रेस पार्टी विधानको अक्षर अक्षर पालना गरेर चलेन भने यो पार्टीले आफ्नो थिति बसाल्न सक्दैन, अहिले हामीले पाएको धेरै दुःखको कारण यही हो,’ नेता थापाले भने,  ‘पार्टीलाई अक्षरशः विधानको आधारमा चलाउन सकियो भने मात्रै धेरै समस्याको हल हुन्छ ।’ 

नेता थापाले ठूला–ठूला कुरा नगरी स–सानो काम पूरा गरेर देखाउने काम गर्नुपर्ने धारणा व्यक्त गरे । संविधानको शासनको पक्षमा उभिने कांग्रेसभित्र पनि विधिको शासन स्थापित गरेर छाड्ने बताउँदै उनले ठूला नेताहरुले साथ दिएर पार्टीलाई अघि बढाउने विश्वास व्यक्त गरे । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको घरमा अपरिचित समितिले क्रियाशील सदस्यताबारे गर्नै नहुने काम गरिरहेको उनले बताए । 

उनले भने, ‘हाम्रो पार्टीको विधानले पदाधिकारी, पूर्वपदाधिकारी भन्नेलाई चिन्दै चिन्दैन, चिन्दै नचिनेको बैठकमा चिन्दै नचिनेको समितिले गर्नै नहुने क्रियाशीलको काम गरिरहेको छ, तर हामी गएका छैनौँ, यो एकजनाको काम होइन, हाम्रो हामी सबैको दोष हो ।’



नेता थापाले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईजनालाई उत्तेजनामा ल्याउन र दुई, चारवटा मत बिगार्नका लागि पशुपतिको ढोकामा दिनमा पाँचपटक समेत पुग्न तयार रहेको उनले आरोप लगाए । 



  • प्रकाशित मिति : भदौ २१, २०७८ साेमबार १९:२२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया