बुवाको हातको मायालु स्पर्श सधैं सम्झिरहन्छु : राजेश हमाल
फरकधार / २२ भदौ, २०७८

धेरैले आमालाई धर्तीसँग तुलना गरे । आमाको त्यागको व्याख्या गरे । आमाको ममताका बारेमा लेखे । तर, बुवाभित्र पनि मायाको विशाल खानी हुन्छ भन्ने कुरा कमैले मात्र महसुस गरेका छन् ।



आमालाई धर्ती भन्दै गर्दा बुवाभित्रको आकाशजस्तै विशाल छाती किन नियाल्न सकेनन् होला कवि, कथाकारले ? यो कुरा नायक राजेश हमाल आज पनि सोचिरहन्छन् ।

धेरै बुवाहरुको स्वभाव कर्तव्य पूरा गर्ने, चुपचाप माया गर्ने, माया नदेखाउने खालको हुन्छ । राजेशका बुवा चुडाबहादुर हमाल भने आफ्ना सन्तानप्रतिको माया देखाउने स्वभावका थिए । उनी स्पर्श गरेर माया दर्शाउँथे । आफ्ना बुवाको सम्झना गर्दा आज पनि राजेशलाई शरीरभरि बुवाको हातको मायालु स्पर्श सम्झना आउँछ । 

पाँच सन्तान, चुडाबहादुरले आफ्नै वरिपरि राखेर हुर्काए । राजेशका बुवाको सबै सन्तानसँग निकै आत्मीय सम्बन्ध थियो । आफ्ना छोराछोरी लिएर घुम्न र फिल्म हेर्न निस्कन निकै रमाइलो मान्थे राजेशका बुवा । कहिलेकाहीँ पाँचजनालाई एकै पटक लिएर निस्कन गाह्रो हुन्थ्यो । आफ्नो पालो नपर्दा पनि राजेशलाई भने घुम्न जानै पर्ने । अझै आमा जाने थाहा पाए भने उनी बिहानैबाट लुगा लगाएर तयार भएर बस्थे ।



तस्बिर : अर्जुन तामाङ

बुवाले छोडे पनि आमाले छोड्नै हुँदैनथ्यो उनलाई । आमा कतै निस्कने चाल पाएपछि बाहिरै कुरेर बस्थे । आमा निस्कनासाथ पछि लाग्थे । एक दिनको कुरा हो, उनले आमा कतै घुम्न निस्कने चाल पाए । बिहानैबाट लुगा लगाएर तयार भएर बसेका थिए । उनकी आमाले अर्कोपट्टिबाट छलेर बाहिर निस्किन् ।

थाहा पाएपछि उनले घरमा सानोतिनो रडाँको नै मच्चाइदिए । कुराकानीका क्रममा राजेशले आफ्नो हातको खत देखाउँदै भने, ‘त्यही बेला आमाको दराजको सिसा फुटाएको चोटको खत हो यो ।’ आज उनका बाबु–आमा भौतिक रुपमा धर्तीमा छैनन् । उनी सम्झनामा बाबु–आमाको न्यास्रो मेटिरहेका हुन्छन् । 

राजेशका बुवा चाहन्थे– छोरो स्थापित पेशामा लागोस् । सेना, पाइलट, डाक्टर, वकिल जे हुँदा पनि उनका बुवालाई समस्या थिएन । समस्या थियो– कलाकारितामा । तर, छोराले त्यही क्षेत्र रोज्दा बाबु–छोराको सम्बन्धमै दरार पैदा भयो । गीत–संगीत मन पराउने, गीतका क्यासेट किनेर ल्याउने, फिल्म हेर्न रुचाउने, छोराछोरीलाई लिएर जाने उनका बुवाले कलाकारितामा छोराको भविष्य देखेनन् । नदेख्नु स्वाभाविकै थियो । 

त्यतिबेला नेपाली भाषामा वर्षभरिमा एउटा फिल्म बन्न पनि मुस्किल थियो । फिल्मी क्षेत्रमा करिअर बनाएर कहाँ पुगिन्छ भन्ने टुंगो थिएन । यो क्षेत्रमा भविष्य खोज्नु नै मुर्खता मानिन्थ्यो । त्यही अन्योलका बीच फिल्म क्षेत्रमा प्रवेश गरेका राजेशको यात्रालाई लिएर उनका बुवा खुसी हुन सकेनन् । स्पर्श गर्दै हुर्काएका बुवासँग राजेशको मनमुटाव नै भयो । बोलचाल पातलियो । बुवा खुसी नभएपछि आमाको मन पनि छोराप्रति खुम्चियो । 

नेपाली फिल्म उद्योग विस्तार भएकै थिएन । विस्तार नभएको मात्र कहाँ हो र, व्यवस्थित पनि नभएको क्षेत्रमा होमिएको छोराको भविष्य के होला ? उनका बुवालाई चिन्ता थियो, ‘छोरालाई देश–विदेश घुमाएँ, पढाएँ । आखिरमा यस्तो पेसामा लाग्दैछ जसको भविष्य पनि छैन । वर्तमान पनि छैन । राजेशले हामीले भनेको मान्दैन ।’ बुवाको गुनासो सुनाउँदै गर्दा राजेशका आँखा रसिला भए । अनुहार मलिनो भयो । एकैछिन मौन भए । 

मनको इच्छा छोड्न पनि सकेनन् । बुवाको मन बुझाउन पनि सकेनन् । आफ्नो सपनाका लागि राजेशले बाबुसँगको सम्बन्धलाई दाउमा राखे । भविष्य कस्तो होला भनेर उदाहरण दिने कोही नभएको क्षेत्रमा पाइला चाले ।

उनलाई त्यसबेला लाग्यो– ‘म भोलिको पुस्ताका लागि उदाहरण बन्न सक्छु । तर, आफूलाई मन लाग्ने केही नगरे जीवनको एउटा बिन्दुमा गएर पछुताउनु पर्छ । त्यो पश्चात्ताप गर्ने ठाउँ राख्नु हुँदैन ।’ करिअरको सुरुवातमा नपाएको बुवाको साथ, हौसला र शीरमाथि पर्न नपाएको त्यो हातको स्पर्श सम्झँदा अहिले पनि अमिलो हुन्छ उनको मन । 

तस्बिर साैजन्य : राजेश हमाल

बुवा दरिलो अभिभावक । जिन्दगीकै सबैभन्दा बलियो भर लाग्थ्यो उनलाई बुवाको हातको । चाहन्थे आफ्ना पिताले आफूले हिँडेको बाटोमा मार्गनिर्देशक भएर साथ दिउन् । भावना वा आत्मविश्वास दिने मान्छे बुवा हुन् भन्ने लाग्थ्यो उनलाई । तर, उनका बुवालाई उनको फिल्मी करिअरलाई लिएर कुनै वास्ता थिएन । उनी कुन फिल्मको छायांकन गर्छन् ? कामको सिलसिलामा कहाँ कहाँ पुग्छन् ? छायांकनका क्रममा कत्तिको गाह्रो–सजिलो भएको छ ? उनका पिताले कहिल्यै प्रश्न पनि गरेनन् । बुवाको जीवनकालमा उनका तीनवटा फिल्म रिलिज भैसकेका थिए । तर, कहीँ पनि बुवाको साथ र हौसला पाएनन् । 

राजेशलाई लागेको थियो, ‘मेरो भावना राम्रो छ । बुवाप्रतिको सम्मान उस्तै छ । बुवाले पनि आफूले चाहेको जस्तो नहुँदा चित्त दुखाएर नबोलेका हुन् । एक दिन म सफल हुने छु । बुवाले न्यानो अँगालोमा बाँधेर भन्नेछन्– स्याबास छोरा ।’

तर, उनको जीवनमा त्यो दिन आउनुअघि नै बुवाको आयु सकियो । ५६ वर्षको उमेरमा पाकिस्तानमा उनका बुवाको मृत्यु भयो । बुवाको मृत्युको खबर आउँदा उनी चौथो फिल्म छायांकनका क्रममा थिए । बुवाको निधनले उनको दिमाग र हृदयमा लामो समय चोट पु¥यायो । झन् बुवा बितेपछि उडेको आमाको अनुहारको रंग सम्झिँदा अहिले पनि मुटु गाँठो पर्छ राजेशको । 

बुवाको मृत्युसँगै धेरै कुरा अधूरै रहे उनको जीवनमा । उनका बुवाको त्यतिबेला पाकिस्तान सरुवा भएको थियो । सरुवा भएर पाकिस्तान पुगेको एक महिना नबित्दै बुवाको मृत्यु भयो । ‘पाकिस्तान जाँदा मलाई बाई पनि भन्नुभएन । भेट्नु पनि भएन । मैले पनि बुवालाई गुड बाई भन्न पाइनँ । मलाई लागेको थियो– फिल्म गर्दै गएपछि एकदिन सफल हुन्छु अनि त सम्बन्ध सुध्रिहाल्छ । आखिर उहाँहरु मेरो सफलता चाहनुहुन्थ्यो । तर, बुवालाई मेरो सफलता देखाउनै पाइन ।’

बुवा सम्झदा आज पनि राजेशलाई लाग्छ– ‘मेरो बुवाले आफ्नो शरीरको ख्याल गर्नु भएको भए त्यति छिट्टै त्यो साथ छुट्दैनथ्यो ।’

तस्बिर साैजन्य : राजेश हमाल

उनका बुवा अम्मली नभए पनि पार्टी तथा बैठकमा रक्सी पिउँथे । खानपान पनि त्यस्तै हुन्थ्यो । आफ्नो शरीरको सुरक्षाका बारेमा चासो राख्दैनथे । ३० को दशकबाटै प्रेसरको रोगी भए । शारीरिक रुपमा अस्वस्थ हुन पुगे । त्यही प्रेसरकै कारण हृदयघात भएर उनका बुवाको मृत्यु भयो । 

राजेशको बुवाप्रति त्यही एउटा गुनासो रह्यो । अन्यथा, उनी आफ्ना पिताका थुप्रै सकारात्मक कुरा सम्झना गर्छन् । आफ्नो कार्यमा अब्बल आफ्ना पिता सफल कूटनीतिज्ञ हुन् भन्ने लाग्छ राजेशलाई । सबैलाई समान व्यबहार गर्ने बुवाको बानीबाट निकै प्रभावित छन् उनी । पछाडि फर्किएर हेर्दा आफैंले पनि आफ्ना पितासँग माफी नमागेकोमा पछुतो छ राजेशलाई ।

भन्छन्, ‘जुन बेला बुवासँग मेरो बोलचाल बन्द भयो, त्यो समय मबाट पनि केही आशा गर्नु भएको थियो कि बुवाले ! कहिल्यै भन्नु त भएन । तर, बुवा सरी म हजुरले चाहेको जस्तो बन्न सकिनँ । मलाई यही क्षेत्र मन पर्‍यो । यसमै केही गर्न मन छ भन्न पाएको भए बुवासँगको त्यो दूरी रहँदैनथ्यो कि !’ उनलाई त्यसबेला लागेको थियो– ‘बुवा अभिभावक हो । उहाँले मलाई मार्गनिर्देशन दिनु पर्छ ।’

बुवाको मृत्युपछि भावनात्मक रुपमा हमाल निकै विक्षिप्त बन्न पुगे । उनको त्यो विक्षिप्तिता बुवाको मृत्युको भन्दा धेरै बुवासँगको अधूरो सम्बन्धका कारण उत्पन्न भएको थियो । उनी अहिले अरुलाई सुझाव दिन्छन्– ‘बुवासँग मनमुटाव भए पनि सम्बन्धको आत्मीयता प्रकट गर्नु पर्दोरहेछ । प्रकट गर्नका लागि संवाद हुनु जरुरी छ । जस्तो परिस्थिति आए पनि आफ्ना अभिभावकसँग संवाद बन्द नगर्नु पर्ने रहेछ ।

संवादले मनमा भएको तीतोपना बाहिर निकाल्छ । र, सम्बन्धमा मिठास फर्किन्छ । मैले मेरो मनको तीतो पोख्न सकिनँ । बुवाले उहाँको मनको तीतो पोख्न सक्नु भएन र हाम्रो सम्बन्ध अधूरै रह्यो । यस्तै गल्तीले अरु कसैको पितासँगको सम्बन्ध अधूरो नहोस् ।’
 

  • प्रकाशित मिति : भदौ २२, २०७८ मंगलबार १२:१८:१२,   अन्तिम अपडेट : भदौ २२, २०७८ मंगलबार १२:५८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया