‘के रमाइलो छ र बरी लै’, रौनक हराएको तीज

‘माइतीको आगनमा गाउँभरिका दिदी–बहिनी जम्मा भएर नाचेको दृश्य आँखा वरिपरि घुमिरहन्छ । आफैं जन्मिएको घर पनि जान डराउनु पर्ने दिन आयो । पोहोर पनि जान पाइएन । यसपाली पनि जान डर छ । तीज त्यसै खल्लो छ,’ सीता कोइरालाले घर जान नपाउँदाको दुःख पोखिन् । 

अघिल्लै वर्षबाट कोरोनाले रोकेको घरको बाटो कहिले सहज बन्ने हो ठेगान छैन । सीताजस्तै कपनकी सविना दाहाल पनि आमा सम्झिएर बसेकी छन् । अघिल्लो वर्षजस्तो डरै त छैन, तर सहज पनि भैसकेको छैन समय । त्यसैले सविनाले यो वर्ष पनि माइत जाने आँट गर्न सकिनन् । 

कपनकी ६० वर्षीया रीता धमला तीन वर्षअघि तीजमा खुब नाचेकी थिइन् । तीन छोरीकी आमा नाति–नातिना पनि सँगै आउँदा उनको घर नै उज्यालो हुन्थ्यो ।

कोरोनाका कारण उनका छोरीहरु पोहोर पनि आएनन् । यो वर्ष पनि छोरीहरुले जम्मा नहुने बताएपछि निराश छिन् । ‘समय सुध्रियो भने अर्को साल जम्मा हुनु पर्छ, पिर नगर्नु है आमा भनेकी छन् कान्छी छोरीले,’ रीताले थोरै खुसीको सम्भावित धर्सो देखाउँदै भनिन् । 

झापाकी आभा खड्काले दिदीहरुसँग तीज मनाउन नपाएको तीन वर्ष भयो । यो तीजमा त समय सहज बन्ला र दिदीहरुसँगै तीज मनाउँला भन्ने धोको पूरा हुन पाएन । परिस्थिति नै विषम् भएको भन्दै उनले मन बुझाउने प्रयास गरेकी छन् । पाँच वर्षअघि आमा बितेपछि आभाका दुई सालका तीज त रोएरै बिते । तेस्रो वर्ष आफूले पनि जाने बाटो त्यही हो भनेर मन बुझाइन् । अहिले त दिदी र तीज सम्झिँदा पनि उनको मन तम्तम्याइलो बन्छ ।  भन्छिन्, ‘अहिले त समय नै खराब आयो, सम्झेर रोएर पनि भएन ।’

दाङकी सपना घिमिरे पनि काठमाडौंमा माइती सम्झेर बसेकी छन् । गाउँमा आमा एक्लै, उनी यता एक्लै ! तीजको रौनक छैन । घरकी एक्ली छोरी सपना अवस्था सहज भएको भए दर खाने अघिल्लो दिन माइत पुग्ने योजनामा थिइन् । ‘घरमा दुःख छैन, तर चाडबाडमा माइती जस्तो घर हुँदो रहेन छ,’ सपना भन्छिन्, ‘कोरोनाले साँचे अर्को साल मनाउँला भनेर मन बुझाएकी छु ।’



फेरिएको कामना

अघिल्ला वर्षहरुमा श्रीमान्को दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै ब्रत बस्ने गरेकी झापाकी इन्दिरा भट्टराई अघिल्लो वर्ष ‘कोरोनाविरुद्धको भ्याक्सिन बनोस्’ भन्ने कामनामा ब्रत बसिन् । यो वर्ष सबै नागरिकले सहज रुपमा कोरोनाविरुद्धको सुइ लगाउन पाउन् भनेर ब्रत बस्ने उनको योजना छ । 



तीजको रौनकले नछोए पनि संस्कृतिको जगेर्ना एवम् सम्बद्र्धन भने गर्नुपर्ने उनको बुझाइ छ । ‘ब्रत बसेर कुनै कामना पूरा हुने÷नहुने बेग्लै कुरा हो,’ उनी भन्छिन्, ‘तर, मन शान्त हुन्छ ।’

मन भुलाउने प्रयास गर्दागर्दै पनि हेटौंडाकी प्रमिलाका आँसु थामिएनन् । उनकी आमाको कोरोनाकै कारण मृत्यु भयो । यो वर्षको तीजमा प्रमिलाको पनि कामना फेरिएको छ । भन्छिन्, ‘कोरोना कहर छिट्टै सकियोस् भनेर ब्रत बस्छु ।’

छाक टार्नै धौधौ

कोरोनाकै कारण चितवनकी बिनाका श्रीमान्को रोजगारी गुम्यो । छाक टार्ने समस्या झेल्दै आएकी बिनाका लागि आफ्नै घरमा खाने मीठोमसिनो छैन । माइतीघरको बाटो कोरोनाले छेक्यो । तर पनि उनले मन बुझाएकी छन् । 

भन्छिन्, ‘रोग नै कसैलाई भेट्नै नहुने आएको छ । भेट्न पाइएन भनेर मन दुखाएर के गर्नु ? बाँचे अर्को साल तीज मनाउने हो । यो वर्ष त म ब्रत पनि बस्दिनँ । कोरोना लाग्यो भने उपचार गराउन सकिँदैन ।’ अवस्था अलि सहज भएको जस्तो देखिए पनि कोरोना संक्रमण नघटेको प्रमिला बताउँछिन् । 

दाजुभाइ पनि दुःखी

चेलीबेटीका मात्रै होइन, दाजुभाइको मन पनि अमिलिएको छ । स्थिति ठीकठाक हुन्थ्यो भने बसुन्धराका गोपाल कार्कीको घरमा तीजको रौनक हुन्थ्यो । कोरोना कहरका कारण घर र मन सुनसान छ । उनी आफ्नी बहिनीलाई सम्झँदै भन्छन्, ‘पहिला जस्तो रमाइलो नभए पनि मन बुझाउनै पर्ने छ । बाँचे त अर्को साल धुमधामसित मनाउँला नि !’

अघिल्ला वर्षहरुमा तीज आउनुभन्दा महिना दिन अघिदेखि नै पार्टी प्यालेसमा दर खाने कार्यक्रम हुन्थ्यो । नाचगान र भीडभाड हुन्थ्यो । यसपालि सबै सुनसान छ । शुभकामना साटासाट गर्नेले पनि सामाजिक सञ्जालको प्रयोग गरेका छन् । 

सौन्दर्य व्यवसायी मारमा

सौन्दर्य व्यवसायी निलु श्रेष्ठ तीजमा राम्रै आम्दानी गर्थिन् । अघिल्ला वर्षहरुमा उनको व्यवसाय एक महिना राम्रै फस्टाउँथ्यो । दर खान जाने महिलाहरु उनकोमा सिँगारिन आउथे । उनलाई भ्याइनभ्याई हुन्थ्यो । कमाइ अरुबेलाभन्दा राम्रो हुन्थ्यो । 

तीजमा उनले आफ्ना ग्राहकलाई विभिन्न अफरसमेत दिने गरेकी थिइन् । निलुका ग्राहकले अघिल्ला वर्षदेखि नै उनका अफर लिन पाएका छैनन् । निलुको व्यवसाय सुनसान छ । ‘पोहोरभन्दा यो वर्ष थोरै चहलपहल त बढेको छ, तर रौनक पटक्कै छैन,’ निलु सुनाउँछिन् । 

निलुको जस्तै आशा श्रेष्ठको पनि व्यवसायमा सुख्खा लागेको छ । कोरोनाका कारण उनका धेरै ग्राहकले आयआर्जनको बाटो गुमाए । आर्थिक रुपमा सबल नहुँदा खुलेर तीज मनाउन सक्ने अवस्था छैन । त्यसको असर उनको व्यवसायमा परेको छ । 

आशा भन्छिन्, ‘कोरोनाका कारण तीजको अवसर पारेर गरिने कार्यक्रम, मेला र प्रतियोगीताहरु रोकिए । कोरानाको डर अघिल्लो वर्षभन्दा केही कम भए पनि प्रायले जहाँ हो त्यहीँ बसेर तीज मनाउने मनस्थिति बनाएका छन् । दिदी–बहिनीमा तीजको उत्साह नै छैन ।’ 

टिकटक रौनक

गाउँ, सहर र परिवारमा नआएको तीजको रमाइलो टिकटकमा देखिन्छ । तीजको अवसर पारेर निर्माण गरिएका गीतका टुक्कामा दिदी–बहिनीहरुको राम्रै रौनक देख्न सकिन्छ । टिकटकमा दिदी–बहिनी मात्रै होइन दाजुभाइले पनि तीज मनाइरहेका छन् । उनीहरुले तीजका गीतमा लिप्सिङ गरेर मात्रै होइन, आफैंले अभिनय गरेका सन्देशमूलक भिडियो समेत अपलोड गरिरहेका छन् । 

बिष्णु माझीको ‘चरी जेलैमा’ होस् वा ज्योति मगरको ‘माइतीको माया बरी लै’ सबैखाले गीतमा महिलाले अभिनय गरिरहेका छन् । भौतिक रुपमा दिदी–बहिनी जम्मा भएर तीज मनाउन नपाएका उनीहरुले टिकटकमा रमाउने प्रयास गरिरहेका छन् । टिकटक बनाउनकै निम्ति महिलाहरुले थन्काएर राखेका राता सारी झिकेका छन् । फुल मेकअप गरेर भिडियो बनाइरहेका छन् ।
 
सुनसान पार्टी प्यालेस

अवस्था सामान्य हुन्थ्यो भने यतिबेला काठमाडौंका सडकहरु कलरफुल देखिन्थ्यो । तीज आउनुभन्दा महिना दिन अघिदेखि नै काठमाडौंका पार्टी प्यालेस तथा होटलहरु भरिभराउ हुन्थे । विभिन्न संघ–संस्थाको आयोजनामा पालैपालो दर खाने र खुवाउने कार्यक्रम सञ्चालन हुन्थे । 

महिलाका रातै, पहेँलै पहिरनले भरिने पार्टी प्यालेसका दैलो अहिले बन्द छन । दर खान हिँडेका महिलाको ओहोरदोहोरले भरिभराउ हुने काठमाडौंका सडक प्रायः सुनसान छन् । तीज संघारैमा आइसक्यो, तर त्यो पर्वसँगै भित्रिने रौनक भने कतै हराएको छ ।


 

  • प्रकाशित मिति : भदौ २३, २०७८ बुधबार ५:१३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया