[ अनुवाद आलेख ] नसिरुद्दीन शाहको सानै कुराले हल्लिएका कट्टरपन्थी

विभाजित समाजमा एक मिनेटभन्दा कम समयको अभिव्यक्तिले पनि कति ठूलो भूकम्प ल्याइदिन सक्छ भन्ने कुराको गज्जबको अनुभव हालै हामीले गर्यौं । सिनेमामा आफ्नो प्रतिभाको अमिट छाप छोड्न सफल नसिरुद्दिन त्यहाँ अरुले लेखेको संवाद बोल्छन् र ताली पाउँछन् । तर, उनले आफ्नो मनको कुरा जब ओकल्न थाल्छन् तब आकाशै खस्लाजस्तो भइदिन्छ । केही महिनाअघि पनि उनले आफ्नो मुख खोलेका थिए र यसैगरी केही मानिस उनीमाथि जाइलागेका थिए । र, केहीले उनको बचावट पनि गरेका थिए । फरक केवल यति भयो कि, मित्र र दुश्मनको भूमिका फेरियो ।

एक मुसलमानको पहिचानसहित भारतमा बस्दा आफूलाई डर लाग्ने गरेको त्यो बेला उनको अभिव्यक्तिको आशय थियो । उनको अभिव्यक्ति आउनासाथ केही राष्ट्रवादी उनीमाथि हमला गर्न थाले । र, उनलाई कुनै ‘सुरक्षित’ स्थानमा गएर बस्न सल्लाह दिन थालियो । यो पटक जब उनले भारतीय मुसलमानको एक वर्गले अफगानिस्तानमा तालिबानको जितमा उत्सव मनाएको सन्दर्भमा विमति जनाए तब उनलाई राष्ट्रवादीहरुले नायक बनाइदिए ! उदारवादी र धर्मनिरपेक्षवादी जमातले त्यो समय जब उनलाई एक महत्वपूर्ण आवाजका रुपमा बुझे तब उनलाई त्यस्तो अभिव्यक्तिबारे कस्तो प्रतिक्रिया दिने भन्ने अन्योल हुन गयो ।

नसिरले यस पटक त्यस्तो के भने ? उनको एक मिनेटभन्दा पनि छोटो क्लिपिङमा दुई कुरा महत्वपूर्ण देखिन्छ । उनलाई यो कुरामा आपत्ति छ कि, संसारका निम्ति खतरनाक साबित तालिबानको विजयमा भारतीय मुसलमानको एक ठूलो तप्काले खुसी प्रकट गरको छ । अर्कोतिर, संसारका अन्यभन्दा फरक भारतीय मुसलमानले आफू मध्ययुगीन बर्बरताको समर्थन गर्ने हो यो इस्लामको आधुनिक संस्करणलाई स्वागत गर्ने हो भन्ने स्पष्ट हुनुपर्ने उनको भनाइ छ । जब उनी बोलिरहेका थिए तब उनीसँग सिनेमाको जस्तो लिखित संवाद थिएन । उनी भावनाको बाढीसँग जुध्दै आफ्नो मनको कुरा गरिरहेका थिए, त्यसैले उनको मूल्यांकन गर्न व्याकरणको सहयोग लिइरहनु पर्दैन । 

नसिरको अभिव्यक्तिविरुद्ध उनको आफ्नै समुदायभित्रबाट थुप्रैखालका आवाज उठिरहेका छन् । केही त धार्मिक पहिचानको राजनीति गर्ने मानिस थिए, जो संसारमा शरियत आधारित राज्यव्यवस्था कायम गर्ने दिशामा तालिबानले चालेको कदम रुचाउँछन् । यसकारण पनि नसिरको अभिव्यक्तिको विरोध गर्नुलाई कमजोर चिन्तन भएका मुसलमानको प्रलापभन्दा ठूलो केही होइन भनेर बुझ्न सकिन्छ । तर, यस्ता मानिसको संख्या कम छ । बढी संख्या त्यस्ताको छ, जो उनको शब्द चयनप्रति दुःखी छन् । तिनलाई लाग्यो– नसिरले तालिबानको जितको स्वागत गर्ने सबैलाई एउटै कोटीमा राखिदिए । कतिपयले के दाबी पनि गरेका छन् भने, तालिबानको जितमा खुसी मनाउने भारतीय मुसलमान नगण्यमात्रै छन् । तर, सोसल मिडियामा दृष्टि दौडाउँदा यो भनाइ उचित लाग्दैन । मेरा निम्ति यी प्रतिक्रियाहरु जसरी अप्रत्याशित थिएनन्, लगभग उसैगरी अहिले हिन्दुत्ववादीलाई नसिर नायक लागिरहेको छ । म यहाँ नसिरविरोधी ती प्रतिक्रियाहरुको कुरा गर्न लागिरहेको छु, जुन उक्त सेक्युलर लिबरल समाजको तर्फबाट आएको थियो । त्यो समाजको उनी तब नायक थिए, जब उनलाई  भारतमा बस्न ‘डर’ लागिरेहको थियो !

बहुसंख्यक र अल्पसंख्यक साम्प्रदायिकताको बहस निकै पुरानो हो, जुन संसारका अन्य मुलुकमा जस्तै भारतमा पनि चलिरहेको छ । मलाई लाग्छ, बहुसंख्यक समाजको साम्प्रदायिकता अधिक खराब छ, किनकि त्योसँग राज्य कब्जासम्म गर्न सक्ने सामथ्र्य हुन्छ । भारतको अनुभवले यही भन्छ । यसको अर्थ के होइन भने, अल्पसंख्यक समुदायको साम्प्रदायिकता कम हानिकारक हुन्छ । दुवैले एकअर्कोका लागि ‘औषधि’ को काम गर्छ । जहाँ पहिला उदार संस्थाहरु नष्ट गरिन्छ, त्यहाँ आफ्नै समाजको कमजोर तप्कामाथि आघात हुन जान्छ । 

एउटा ठूलो दुर्भाग्य के हो भने, हाम्रा वामपन्थीहरु हिन्दु कट्टरतामाथि हमला त गर्छन् तर राजनीतिक इस्लाममाथि कुरै गर्न चाहँदैनन् । यसो गरेर मुसलमानहरुको प्रगतिशील तप्कालाई उनीहरु एक्लै छाडिदिन्छन् । स्वतन्त्रालगत्तै लत्ताकपडादेखि भाषासम्म तिनीहरुको एउटा पहिचान बन्यो र राजनीतिक दलहरुका लागि तिनको हैसियत एक भोट बैंकभन्दा ठूलो केही बनेन । जसरी नसिरको अभिव्यक्तिका बारेमा सेक्युलर तप्काबाट प्रतिक्रिया आएको छ, त्यसले उनलाई कट्टरपन्थीबीच वा कुनै किनारासम्म पुर्याइदिन्छ ।



यो प्रसंगमा मलाई आफ्नै एक अनुभव स्मरणमा आइरहेको छ । यसले मेरा कुरालाई राम्ररी बुझाउन पनि सक्ला । अलिगढ मुस्लिम विश्व विद्यालयको एक सेमिनारमा भाग लिन गएको समयमा मैले प्रत्येक वक्ता (अधिकांश) मुस्लिम स्रोताबीच हिन्दुत्वको खतरामाथि बोलेर ताली बटुलिरहेका थिए । आफ्नो अध्यक्षीय भाषणमा मैले भनेको थिएँ, ‘तपाईंहरु सबै हिन्दुत्वको दंश आफ्नो दैनिक जीवनमा झेलिरहनु भएको छ, त्यसैले त्यसको खतराबारे आफैंले बताउँदा उतिविधि हित हुँदैन । म तपाईंहरुसामु निवेदन गर्न उभिएको छु– इतिहासको जुन अवस्थामा हामी छौं यसमा हामी अल्लाहको शासन कायम गर्न सक्दैनौं । र, संसारको कुनै पनि कुनामा शरिया कानुन लागू गर्ने कुरा कसैले गर्छ भने त्यो मुसलमानको दुश्मन हो । धर्मनिरपेक्षता केवल भारतका लागि होइन, पाकिस्तान, साउदी अरब र इरानका लागि पनि जरुरी छ ।’ यति भन्दा ताली मेरो भागमा पनि आयो । 

नसिरको छोटो भनाइको निहितार्थ निकै ठूलो छ । मलाई निकै खुसी लागेको छ, मुसलमानहरुको एक ठूलो तप्काले पनि यसको स्वागत गरेको छ । यदि कट्टरपन्थीहरु उनको विरोध गरिरहेका छन् भने, देशभरका सेक्युलर र लिबरल तप्का बलियो ढंगमा नसिरको साथमा उभिएका छन् भन्ने बुझ्न सकिन्छ । उनीजस्ता बुद्धिमान मानिस एक्लो हुनै हुँदैन, जसरी पूर्वका कतिपय बुद्धिजीवी आफ्नै समाजमा ‘हाँसो’को पात्र बनिरहेका छन् ।



(लेखक राय आइपिएसका पूर्वअधिकारी हुन् । हिन्दुस्तान टाइम्सबाट अनूदित तथा सम्पादित)       
 

  • प्रकाशित मिति : भदौ २२, २०७८ मंगलबार १४:५७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया