संखुवासभा सामूहिक हत्या : यसरी हुँदै छ अनुसन्धान

संखुवासभाको मादीमा सोमबार एकै परिवारका ६ सदस्यको ‘सामूहिक हत्या’को अनुसन्धान मंगलबार बिहानबाट सुरु भएको छ ।

घटना अनुसन्धानका लागि संघीय प्रहरी एकाइ कार्यालय धरानका प्रहरी उपरीक्षक भीमदाहाल नेतृत्वको टोली सोमबार राति घटनास्थल पुगेपछि मंगलबार बिहानबाट अनुसन्धान सुुरु भएको हो । अविरल वर्षा र भौगोलिक विकटताका कारण अनुसन्धान टोली समयमै घटनास्थल पुग्न सकेको थिएन । 

घटना अनुसन्धानका लागि सिआइबीको टोलीसमेत विराटनगर आइपुगेको छ । डिएसपी रुगमबहादुर कुँवरको कमान्डमा ५ जनाको टोली घटनास्थलतर्फ हिँडेको प्रदेश १ प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसीले बताए । 

यसरी हुँदै छ अनुसन्धान

पहिलो चरणमा घटनास्थलमा हुन सक्ने सबुत प्रमाण संकलनका लागि ‘ट्रयाकर’ डग पिकु र लैलालाई अपराधस्थलमा परिचालन गरी ‘डग स्निफिङ’ गरिनेछ । प्रहरीको घटनास्थल अनुसन्धान टिमको क्राइम सिन अफिसरको टिमले घटनास्थलको सर्च गर्नेछ र सबुत प्रमाण संकलन गर्नेछ । टोलीले घटनामा प्रयोग भएको हतियार खोज्नेछ । त्यसका लागि धरानबाट गएको फरेन्सिक टिम र जिल्ला प्रहरी कार्यालयको टिम संयुक्त रूपमा बिहानैदेखि खटिएको छ ।

सबुत प्रमाण संकलनपछि अनुसन्धान टोलीले घटनास्थल र शवको लास जाँच प्रकृति मुचुल्का विवरण उठाउनेछ । लास जाँच प्रकृति मुचुल्का उठाएपछि शव पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याइनेछ । पोस्टमार्टमका लागि मृतक सबैको शव धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।  



जिल्ला अस्पतालमा भन्दा बिपीमा छिटो पोस्टमार्टम हुने भएकाले सबै शवलाई धरान ल्याइने अनुसन्धानमा खटिएका प्रहरी उपरीक्षक दाहाल बताउँछन् । पोस्टमार्टम रिर्पाेट जति चाँडो आउन सक्यो त्यति नै अनुसन्धान फराकिलो हुने दाहालको भनाइ छ । पोस्टमार्टम रिर्पाेट क्लियर नभएको खण्डमा भिसेरा जाँचका लागि शवको केही नमुना प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाउनुपर्ने हुन्छ ।

शव पोस्टमार्टमका लागि पठाएपछि हत्याको कारण केलाउन थालिनेछ । तर, घटनामा संलग्न अपराधी फरार हुने सम्भावनालाई रोक्न घटनाको जानकारी प्रहरीलाई हुनासाथ शंकास्पद व्यक्ति भाग्न सक्ने नाकामा निगरानी बढाइने प्रहरीको भनाइ छ । 



यो हत्यामा पनि प्रहरीले सुरुमै संखुवासभाबाट बाहिरिने नाका र जिल्ला छिर्ने नाकामा प्रहरी परिचालन गरेको अवस्था छ । त्यसको अलावा २४ घण्टाको घटनास्थलको कल डिटेल रेकर्ड सिडिआर निकालेर प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ । 

दुई बच्चासहित परिवारकै हत्या गरिएकाले घटनामा चिनजानको व्यक्ति संलग्न हुनसक्ने आशंका गरिएको छ । आफन्त र छरछिमेकीलाई समेत बोलाएर प्रहरीले बयान लिनेछ । अनुसन्धानका सबै विधि प्रयोग गरेर भए पनि अपराधीसम्म चाँडो पुग्ने प्रहरी उपरीक्षक दाहाल बताउँछन् ।

घटनास्थलमा भेटिएको शवको प्रकृति हेर्दा हत्याराले मृतकहरूलाई लखेटी–लखेटी हत्या गरेको अनुमान गरिएको छ । घरभित्र ८४ वर्षीय पार्वती कार्की मृत अवस्थामा भेटिएकी थिइन् । छोरा ५२ वर्षीय तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दिपेन र नातिनी ७ वर्षीया गोमाको शव तीन बेग्लाबेग्लै स्थानमा भेटिएको थियो । 

प्रहरीका अनुसार नाति–नातिनाको शव घरमाथिको खर बारीमा भेटिएको छ । तेजबहादुरको शव सडकमा छ । रञ्जना र कमलाको शव घरनजिकैको खोल्सोमा छ । ​मृतकहरूका चप्पल, चुरा लगायत सामान यत्रतत्र छरिएकाले लखेटेर हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । पाँचजनाको भाग्दाभाग्दै र एक जनावृद्ध महिलाको सुतेकै अवस्थामा हत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । हत्यामा सबैजनामाथि धारिलो हतियार प्रहार भएको देखिन्छ । 

प्रहरीको प्रारम्भिक अनुसन्धानले यो घटनामा एक जनाभन्दा बढीको संलग्नता र उनीहरूले खुकुरी र बन्चरो जस्ता घरेलु हतियार प्रयोग गरेको हुन सक्ने मृतकहरूको शरीरको चोटबाट देखिएको छ । धारिलो हतियारले टाउको, घाँटी र कोखामा प्रहार भएको देखिन्छ ।

लुटपाटपछि हत्याको  आशंका

प्रहरीका अनुसार खेतीकिसानी गर्ने तेजबहादुरको परिवार सामान्य आर्थिक अवस्थाको हो । दुई छोरा विदेशमा छन् । जग्गा किन्नका लागि विदेशबाट पठाएको केही पैसा घरमा थियो । परिवारका अन्य सदस्यसँग पनि मिलेर झापामा जग्गा किन्ने तयारी भइरहेको थियो । 

स्थानीयका अनुसार मंगलबार वा बुधबार नै जग्गापास गर्ने तयारी थियो । त्यसका लागि विदेशमा रहेका छोराहरूले रकम पठाएका थिए । स्थानीयका अनुसार परिवारका अन्य सदस्यसँग पनि मिलेर झापामा ८० लाख रुपैयाँमा जग्गा किन्ने तयारी थियो । त्यसका लागि केही बैना रकम पनि दिएको बताइएको छ ।

घटनास्थल र घर सुरक्षित राखिएका कारण धरानबाट गएको प्रहरी उपरीक्षक दाहाल र फरेन्सिक टोलीले घरभित्र लुटपाट भएको छ वा छैन भनेर समेत अनुसन्धान गर्ने जनाइएको छ । परिवारको अन्य व्यक्तिसँग रिसिइबी भएको वा नभएकोबारे भने हालसम्म खुलेको छैन ।

  • प्रकाशित मिति : भदौ २२, २०७८ मंगलबार १८:४९:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया