सप्तकोसी त्रास : मध्यरातमा स्थानीयबासी चढ्दैनन् तटबन्ध

सुनसरी बराहक्षेत्रका गोविन्दबहादुर कार्कीको जागिर सप्तकोसी किनार कुरेर बस्नु थियो । उनले सप्तकोसी किनार कुरेर बसेबापत दिनको २ सय रुपैयाँ सरकारबाट पाँउथे । 

झरी, बादल, घाम, पानी, दशैं, तिहार । कुनै दिन उनले सप्तकोसीको किनार छाड्न पाँउदैन थिए । सप्तकोशी किनार छाड्न नपाउने सर्तमा उनलाई सरकारले राखेको थियो । 

यदि अभरै परेर किनार छाड्नु परे उनले विश्वास गरेका अरु कसैलाई किनारमा उभ्याँउथे  । झरी पर्‍यो अथवा अलि ठूलो पानी प¥यो भने त उनले एकैछिन सप्तकोसी किनार छाड्न पाँउदैन थिए । 

सरकारी काम । गोविन्दबहादुर कार्की कहिले रुखमूनि त कहिले नजिकै रहेका टहरामा बसेर सप्तकोसी किनारको ड्युटी निभाँउथे । 

उनलाई यसरी सप्तकोसी नदीमा उभ्याउनु सरकारको निश्चित स्वार्थ थियो । सरकारले नदी किनारमा जडान गरिएको गेजमा देखिएको पानीको  रेर्कड गोविन्दबहादुरसँग लिन्थ्यो । 

सप्तकोसीमा पानीको मात्रा कति छ ? गोविन्दबहादुरले गेज हेरेर टिपाएको रेर्कडको भरमा खतराको स्तर के छ भन्ने जानकारी हुन्थ्यो । यही जानकारीका आधारमा सरकार नागरिकलाई सचेत गराँउथ्यो । 



अहिले बनेको नयाँपुलसँगै पानीको मात्रा नाप्ने गेज ब​नाइएको थियो । यही गेजको वरिपरी घुम्थे गोबिन्द । छिनछिनमा ठाँउ ठाँउबाट उनलाई फोन आँउथ्यो । उनी आएअनुसारको फोनमा बिवरण टिपाँउथे । 

यो चार वर्ष अघिको कुरा हो । चार वर्षअघिसम्म सरकार गोविन्द दाइ अर्थात गोविन्दबहादुर कार्कीको भरमा कोशीको सूचना राख्थ्यो । 



तर अहिले समय फेरिएको छ । गोविन्द कार्की नदी किनार जाँदैनन् । तर सरकारले ठाँउ ठाँउबाट सप्तकोसी नदीमा पानीको बाहाब कति छ ? खतराको लेवल पार गर्‍यो कि गरेन ? पार गर्न कति समय लाग्छ ? कुन स्थानमा कति समयपछि कति क्युसेक पानी बग्छ भन्नेसम्मको सूचना लिने संयन्त्र बनेको छ । 

कोसी किनारमा जोडिएका अत्यधुनिक सूचना दिने प्रणालीले नापेको पानीको सतह र स्तर विभिन्न स्थानमा जडान गरिएको डिस्प्ले बोर्डहरुमा देखिन्छ । यो कामका लागि स्थानीय गैरसरकारी संस्था र सरकारको भूमिकाछ । स्थानीय तहमा जनप्रतिनिधि आएपछि कोसीको विपद् र बर्सेनि आउने त्रास प्राथमिकतामा पर्‍यो । 

सप्तकोसी नदीको पूर्व किनारमा रहेका सुनसरीको बराहक्षेत्र नगरपालिका र कोसी गाँउपालिकाले सप्तकोसी नदीको सूचना दिने संयन्त्रको विकास गर्न दबाब दिए । 
संघीय सरकारले नदीकिनारमा अत्यधुनिक प्रविधिका सिस्टमहरु जडान गर्‍यो । यसरी जडान भएका सिस्टमले मापन गरेको पानीको मात्रा र स्तरको सूचना कोसी प्रभावित स्थानहरुमा स्थानीय गैरसरकारी संस्थाहरुले देखाउन थाले । 

नेपाल रेडक्रस सोसाइटी, फरवार्ड लगायतका संस्थाहरुको लागत सहभागितामा सुनसरीको प्रकाशपुरस्थित प्रकाशपुर प्रहरी चौकी, जिल्ला प्रशासन कार्यालय सुनसरी, जिल्ला प्रहरी कार्यालय सुनसरी र आन्तरिक मामिला मन्त्रालय प्रदेश–१ मा डिजिटल बोर्डको स्थापना भएको छ । 

राखिएको डिजिटल सूचना बोर्डमा सप्तकोसीको पानी र खतराको अवस्था छिनछिनमा आइरहन्छ । 

कोसीमा कति पानी बगिरहेको छ ? अब तटबन्धमा उक्लिएर बगर हेर्नुपर्दैन । सुनसरीको कोसी गाँउपालिका–३ का अध्यक्ष सुलेमान मन्सारीले भने, ‘आजकाल कोशीमा खतरा छ कि छैन भन्ने सूचना मोबाइलको म्यासेजमा आँउछ ।’

१३ वर्षअघि कोसीले पूर्वी तटबन्ध भत्काँउदा सबैभन्दा बढी प्रभावित कोसी क्षेत्रका स्थानीय बासिन्दासमेत रहेका सुलेमान १२ वर्र्षमा कोसीमा धेरै कुरा भएको सुनाँउछन् । 

बर्षायामका हरेक रातकोसी बगर हेर्न डिल चढ्थे सर्वसाधारण, अहिले त्यो अवस्था रहेन । ठाँउठाँउमा जडान भएका राडरले पठाएका सूचनाका आधारमा मोबाइलमा म्यासेज आउने व्यवस्था मिलाइएको छ । 

उनले पहिला र अहिलेको अनुभव सुनाए । कोसीको सूचना प्रणाली बलियो भएका कारण आजकाल जत्रो पानी परेपनि मोबाइल हेर्दै सुत्न सकिन्छ । 

सुनसरीको बराहक्षेत्रका बाबुराम कार्की पूर्वीतटका बासिन्दा ढुक्कले सुत्न थालेको बताँउछन् । उनकाअनुसार बेलैमा सूचना पाइने भएकाले वर्षायाममा कोसीको त्रास घटेको छ । 

सप्तकोसी बाढी पीडित संघर्ष समितिका सचिव समेत रहेका कार्कीले सूचना प्रविधिको मद्दतले कोसीमा खतरा छ कि छैन भन्ने सही सूचना पाइन थालेको छ । 
पानी पर्‍यो कि रातभरी सुतिन्न थियो । उनले सुनाए, ‘तटबन्धमा उक्लिएर बेलाबेला हेरिरहनुपथ्र्यो । तर आजकाल मोबाइल हेरिन्छ ।’

सरकारसँग समन्वय गरेर डिजिटल बोर्ड बनाउने काममा सक्रिय नेपाल रेडक्रस सोसाइटीका जिल्ला सदस्य रबिन घिमिरेले ८ लाख रुपैयाँको लागतमा डिजिटल बोर्ड राख्ने सिस्टम बनाएको बताए । 

उनकाअनुसार सुनसरीको प्रकाशपुर चौकी र जिल्ला प्रशासन कार्यालय सुनसरीमा रेडक्रसले डिजिटल बोर्ड बनाएको थियो । 

डिजिटल बोर्ड सञ्चालनका लागि आवश्यक पर्ने इन्भटर ब्याट्रीलगायतको सिस्टम सञ्चालन गर्न फरवार्ड, प्लानलगायतका संस्थाहरुको लागत सहभागिता छ । 

यसमा स्थानीय तहले पनि सहयोग र समन्वय गरे । बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनाल कोसीको सूचना प्रणाली बलियो बनाउन नागरिक संस्था र स्थानीय सरकारका बीचमा समन्वय भएको सम्झन्छन् । 

उनकाअनुसार हरेक साल वर्षा याममा हुने त्रास कम गर्नका लागि काम गर्न जरुरी थियो । आकाश कालो भयो कि सुनसरीको प्रकाशपुर, मधुवन, लौकही, हरिपुर पश्चिम कुसाहा लगायतका तत्कालीन गाबिसमा बस्ने नागरिकको सातो जान्थ्यो । 

कोसीका कारण ६० हजार भन्दा बढी पूर्वी तटका बासिन्दा जेठदेखि असोजसम्म डराएर बस्थे । 

नागरिकको सुरक्षा प्रदान गर्नु र उनीहरुलाई सान्त्वना दिनु सरकारको कर्तव्य थियो । निर्वाचनका बेला सही सूचना दिन र कोसीको त्रास घटाउन केहि न केहि गर्ने उम्मेद्वारहरुले बाचा गरेका थिए। 

बाचाअनुसार कम्तिमा सही सूचना पुर्‍याउनुपर्छ भनेर नागरिक संस्थासँगको सहकार्यमा काम गरेको मेयर खनालले बताए । २०६५ सालमा कोसीले तटबन्ध भत्काउँदा सबैभन्दा बढी प्रभाव परेको कोसी गाँउपालिकाका अध्यक्ष एयुब अन्सारी १२ वर्षमा कोसीको सूचना प्रणालीमा आकाश जमिनको फरक भएको बताए ।


नगरिक सरकारको समन्वयमा भएको कामले विपद् नै आइहाले पनि क्षति कम हुने ऐयुब बताँउछन् । 

अनेकखाले हल्लाले सुत्न सकिन्न थियो । आजकाल त्यो पीडाबाट मुक्त छन् गाँउपालिकाबासी । उनले भने, ‘कम्तिमा बगर हेर्नु पर्ने अवस्था रहेन ।’

प्रभावित राख्न घर, उद्धार गर्न रबरबोट 

सरकार र गैरसरकारी संस्थाहरुको समन्वयमा विपद् आइहाले यसबाट पर्ने प्रभाव कम होस् भनेर पनि काम हुन थालेको छ । 

कोसीले पूर्वी तटबन्ध भत्काएपछि विस्थापितहरुलाई राख्न स्कुल र खुल्लाचौर प्रयोग भएकोमा अहिले त्यसो नहोस् भनेर सुरक्षित आवासहरु निर्माण भएका छन् । 

पूर्वी तटबन्धमा पर्ने पालिका र गैरसरकारी संस्थाहरुको समन्वयमा अहिले इनरुवा, बानडाँडा राजाबास र प्रकाशपुरमा सुरक्षित भवनहरु निर्माण भएका छन् । 

ती आवास गृहमा एकैपटक १५ सय भन्दा बढीलाई सुरक्षित रुपमा राख्न सकिनेछ । विपद् नआओस भनेर नै हामीले काम गरेका छौं । यदि आइहाले पनि कसरी जीउधनको सुरक्षा गर्ने भनेर पनि सँगसँगै काम थालिएको छ । 

गैरसरकारी संस्थाहरुको अगुवाइमा भएको भवन निर्माणमा स्थानीय तहरुले लागत साझेदारी गरेका छन् । 

राजाबासको भवन निर्माणमा स्थानीय पालिकाहरुको २० लाख, बानडाँडमा ५ लाख र प्रकाशपुरमा भने १० लाख रुपैयाँको लागत साझेदारी छ ।

इनरुवामा रहेको एक हजार जना अटाँउन सक्ने ठूलो भवन भने गैरसरकारी संस्थाहरुले मात्रै निर्माण गरेका हुन् । 

विपद्का बेला विस्थापितहरुलाई राख्नका सुरक्षित आवास बनाइएको रेडक्रेसका रबिन घिमिरे बताँउछन् । 

उनले कोसीको पूर्वी तटका गाँउपालिकाहरुले भोक्राह, कोसी, हरिनगरसँग मिलेर थपआवास गृहहरु बनाउने योजना रहेको बताए । 

यसैगरी विपद् आइहाले पीडितको राहत र उद्धारका लागि भनेर २० लाख रुपैयाँको लागतमा नागरिक संस्थाहरुले २ वटा रबर बोटको सेटसमेत प्रदान गरेका छन् । 

कोसीको कहरका कारण धनजनको क्षति नहोस् भनेर रबरबोटको सेट किनेर सशस्त्र प्रहरीलाई हस्तान्तरण गरिएको छ । 

  • प्रकाशित मिति : भदौ २७, २०७८ आइतबार १३:५५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया