प्रदेश २ लोसपा प्रमुख प्रतिपक्षी दलको भूमिकामा बस्ने, दलको नेता पनि छिट्टै चयन गरिने

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ सरकारमा  प्रमुख प्रतिपक्षी दलको भूमिकामा बस्ने करिब निश्चित भएको छ ।
 
प्रदेश २ मा जनता समाजवादीको नेतृत्वमा नेपाली कांग्रेस र माओवादी केन्द्र सरकारमा सहभागी भइसकेकाले लोसपा प्रमुख प्रतिपक्षी दल बन्ने निश्चित देखिएको हो । 

केन्द्र सरकारमा मन्त्रिपरिषद् विस्तार भएपछि केही दिनमा नेकपा एकीकृत समाजवादी पार्टी पनि प्रदेश २ सरकारमा सहभागी हुने पक्कापकीजस्तै देखिन्छ । 

यता, १६ जना प्रदेशसभा सदस्यले सनाखत गरेसँगै प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलमध्ये लोसपाको तेस्रो ठूलो दल बनेको हो । प्रदेशसभा सदस्यहरुलाई निर्वाचन आयोगले मान्यता समेत दिइसकेको छ । 

प्रदेश २ को प्रदेशसभामा जसपासँग ३९, कांग्रेससँग १९, एमालेबाट अलग भएर बनेको नेकपा (एस) सँग १३, एमालेसँग ८ र माओवादी केन्द्रसँग ८ जना प्रदेशसभा सदस्य छन् ।  

नेपाली कांग्रेस दुई र माओवादी केन्द्र एक मन्त्रालयसहित सरकारमा सहभागी भइसकेकाले लोसपा प्रमुख प्रतिपक्षी दलको हैसियतमा प्रदेशसभामा उपस्थित हुने तयारीमा छ । 

प्रदेशसभा सदस्य परमेश्वर साहले पार्टीको विधान निर्माण भइसकेको र छिट्टै छलफल गरेर निष्कर्षमा पुग्ने तयारी पनि भइरहेको बताए । उनले आफूहरुले २–३ दिनभित्रै नयाँ दलको पत्र प्रदेशसभासमक्ष बुझाउने तयारी गरेको बताए ।



‘प्रमुख प्रतिपक्षीको हैसियतमा सरकारको गुण र दोषको आधारमा विरोध वा समर्थन गर्छौं । एक साताभित्रै दलको नेता तथा सचेतक चयन गर्ने प्रक्रियासमेत पूरा हुन्छ,‘उनले भने ।’

यता, प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले दल गठनले मात्रै प्रक्रिया पूरा हुने नभएकाले निर्वाचन आयोगले औपचारिक जानकारी गराइसकेपछि गठित दलले मान्यताको प्रमाण पाउने बताए । 



उनले प्रदेशसभामा दाबीसहितको माग गरेमा सोही दिनदेखि दलका नेता तथा प्रमुख सचेतकले सेवा सुविधा पाउने जानकारी दिए । दुईवटा संसदीय दल र कर्मचारीसमेत थपिने सचिव यादवले बताए ।

  • प्रकाशित मिति : भदौ २७, २०७८ आइतबार १९:३३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया