Mon, 19 Nov, 2018


उपेन्द्र सुब्बालाई दसैंले दिन्छ तनाव- तरकारी खोज्नु पर्ने!
उपेन्द्र सुब्बा  |  असोज ३०, २०७५

मेरो स्मृतिमा दसैँलाई लिएर धेरै कुराले कबड्डी खेल्छन् । कत्ति कुराले त हाँसो उठ्ने पनि सम्झना आउँछन् । 

मुख्य रूपमा म दसैँ भन्नासाथ परिवारको जमघटलाई सम्झन्छु । सबैजना भेला भएर खुसियाली मनाइने समय हो जस्तो लाग्छ, दसैँ । वर्षभरि टाढा गएका परिवार एकै ठाउँमा भेला भएर जमघट गर्ने ।

बाल्यकालको दसैँ र अहिलेको दसैँमा आकाश–जमिनको अन्तर छ । सानोमा आफ्नो घरमा कान्छा बाजेको हातबाट टीका लगाएको धमिलो याद छ । तर, त्यो वेला पनि छोरीचेलीलाई दक्षिणामा प्रशस्त पैसा दिने र छोरालाई खाली हात राख्ने चलनका कारण कहिल्यै पनि टीका लगाउनमा मोह जागेन, मलाई । बरु, रिस धरै नै उठ्थ्यो आफूलाई दक्षिणा नदिएकोमा । 

आफ्नो घरपरिवारमा टीका लगाएको याद नै छैन । कान्छा बाजे बितेपछि २०४६ सालबाट टीका लगाउन छाडेको हो । पहिले टीका लगाउँदा सेतो टीका लगाइन्थ्यो । तर, आर्यन समुदायका साथीभाइले बोलाउँथे । र उनीहरूको घरमा जाँदा भने रातो टीका नै लगाएको छु । 

बालखैबाट प्रायः दसैँमा घरमा टीका लगाएर नमानेरै पनि होला, त्यस्तो टीका लगाउँ–लगाउँ लाग्दैन । दसैँमा घुम्न जान खुबै मन पर्छ । धेरै ठाउँ दसैँको समय पारेर घुम्न गएको पनि छु । गाउँगाउँ डुल्नलाई एक महिनाको फुर्सद भएको हुन्छ । पर्याप्त हुन्छ, समय पनि । झन् कतै केही बितिजाला भन्ने सोच्नु पनि पर्दैन । दसैँका वेला काम पनि के नै हुन्छ र ? घुम्न निस्किएका वेला कुनै–कुनै वेला त गाउँमा बुढा आमा–बाहरूले मेरै छोराजस्तो लाग्यो भनेर टीका लगाइदिएका छन् । रमाइलो लाग्छ । नयाँ ठाउँ घुम्दा यस्ता कुरा थाहा पाउने मौका पाउँछु ।

पोहोर साल दसैँअघि रारा ताल घुम्न जाँदा रमाइलो घटना घटेको थियो । राराबाट फर्किन खोज्दा प्लेन नपाएपछि साथीहरू सबैजना टीका छुट्ने भयो भन्दै आत्तिएका थिए । अर्कातिर बोकेको खर्च पनि सकिनै लागेको थियो । कुर्दाकुर्दा चार दिनपछि बल्ल नेपालगन्ज आइपुगियो । त्यहाँबाट काठमाडौं । साय, पोहोरको त्यही घटनाका कारण होला यसपटक कसैले पनि घुम्न जाने कुरामा सहमति जनाएनन् । नत्र डोल्पाका गाउँहरूमा रमाउने मन थियो । 

अर्को रमाइलो कुरा भनेको दसैँका वेला साथीभाई भेला भएर रमाइलोका लागि तास खेल्ने हो । साथीसँग बसेर रातैभर म्यारिज खेलिन्छ । पैसा नै राखेर खेले पनि खेल नितान्त रमाइलोका लागि मात्र हुन्छ । अन्त्यमा सबैभन्दा बढी जित्नेलाई पैसा खर्च गर्न लगायो । बराबर भइजान्छ ।

तर, दसैँका वेला मेरा लागि राम्रा जत्तिकै नराम्रा दुःखका दिनहरू पनि आइदिन्छन् । मैले माछामासु खान छोडेबाट दसैँमा सब्जी खोजेरै बिताउँछु । एक त सबैतिरका पसल बन्द भएका हुन्छन् । अर्कातिर सब्जी पाए पनि सबै ओइलाएका । परिवारका अरूको लागि माछामासु हुन्छ । म एकजनालाई आफैँले जोहो गर्न निकै गाह्रो पर्छ । साथीभाइकोमा जाऊँ भने पनि माछामासु नै हुन्छ । दसैँको वेला कसले सागसब्जी ल्याएर पकाएको होस् ? हैरानी हुन्छ सब्जी खोज्दाखोज्दै ।

भन्नेले त हाम्रो लिम्बू जातिमा जबर्जस्ती घुसाइएको हो दसैँ भनेर भन्छन् । तर, त्यस्तो लाग्दैन । दसैँ हिन्दूको भन्दा पनि नेपालीको चाड भन्न मन लाग्छ, मलाई । रातो टीका लगाएर मनाउनेले उसैगरी मनाऊन् । सेतो टीका लगाउनेले पनि उसैगरी मनाऊन् । रातो टीका जमरा नलगाई दसैँ मनाउनेहरू पनि त छन् । 

परिवार साथीभाइ भेटेर, मीठो–मसिनो खाएर मनाउनेले के दसैँ मनाएका होइनन् र ? वेला–वेलामा विभिन्न जातिले विरोध गरे भन्ने सुन्छु । त्यो मूर्खता मात्र हो जस्तो लाग्छ । विरोध गर्नुपर्ने के नै छ र ? मनाउन मन हुनेले आफ्नो तरिकाले मनाउने हो । म घुमेर मनाउँछु, अरू कसैलेले टीका लगाएर वा कसैले रक्सी नै खाएर मनाउलान् ।

यसपालि घुम्न जाने मन हुँदाहुँदै सम्भव नहुने देखियो । माछामासु र रक्सी खान छाडेको १४ वर्ष भइसक्यो । तास खेलेर बस्न पनि डरमर्दो छ, यसपटक । खै कताकता जुवा खेल्नेलाई मारे भनेको सुनेको थिएँ । त्यसैले पनि कोही साथीभाइ तातेका छैनन्, अहिलेसम्म । हरेक दसैँमा जस्तो परिवारसँग भेटघाट त हुन्छ नै । भेटघाटमा नै यसपालि मनाउँदै छु, दसैँ । टीकाको भोलिपल्ट पूर्व जाने तयारी गरेको छु । दुई–चार दिन डुलेर आउने सोचेको छु । 

यी कुराभन्दा पनि मुख्य कुरा त सब्जी के खाने भन्ने हो ? अहिलेबाट नै विचार गरेको छु । नत्र त दसैँ सब्जी खोज्दाखोज्दै बितिजान्छ ।
 



यो पनि नछुटाउनुहोस्