मार्क्सले धर्म ‘अफिम’ हो भनेका छन् । धर्मलाई उनले समाज परिवर्तनका लागि मन्द बिषको संज्ञा दिँदै यस्तो बताएका थिए । त्यस्तै, लेनिले रुसमा जारलाई मात्रै होइन त्यहाँ रहेका चर्चहरूलाई पनि दुस्मनका रुपमा हेरेका थिए ।
अफगानिस्तानबाट सोभियत संघलाई हटाउन र त्यहाँ रहेका कम्युनिस्ट विचार बोकेका नेताहरुलाई हराउन सन् १९८० को दशकमा अमेरिकाले धार्मिक संगठन तालिबानलाई प्रयोग गरेको थियो । अमेरिकाले त्यही तालिबानसँग पछिल्ला २० वर्ष युद्ध गर्नुपरेको छ । चीनका माओ त्सेतुङले पनि धर्मलाई महत्व दिएनन् र उनले पनि यसलाई समाज रुपान्तरणको मन्द बिषको संज्ञा दिएका छन् ।
यही देखेर नेपालका माओवादीले जनयुद्ध सुरु गर्दा धर्मलाई मन्द बिषका रुपमा ब्याख्या गरे । उनीहरुले दसैं, तिहारजस्ता चाडबाड मान्नेलाई पनि घृणाको दृष्टिले हेर्थे भने निधारमा टीका लगाउन छाडे । अझै पनि माओवादी नेताहरुले निधारमा चामलको टीका लगाएको देखेमा आलोचना हुन्छ ।
नेपालमा धार्मिक रुपमा माओवादीले चालेका यस्तै कदमका कारण सनातन धर्म मान्नेहरुले भने माओवादीलाई ‘धर्म मास्ने’ वा धर्मविरोधीका रुपमा हेर्छन् ।
त्यसो त नेपालमा ठूला धार्मिक संगठन थिएनन्, छैनन् पनि । नेपालको ठूलो जनसंख्या हिन्दू र बौद्ध (ओमकार परिवार) धर्मावलम्बीको छ । उनीहरुमा पनि धार्मिक कट्टरता धेरै कममा मात्रै पाइन्छ ।
साना मष्टोका देवी देवता मान्ने सानो समूहमा जात वा गोत्रहरु नेपालमा छन् । माओवादीले तिनै जात वा गोत्रले मान्ने पुज्ने गरेका साना साना मष्टोका मन्दिर पनि भत्काउँन छाडेका थिएनन् । मन्दिर भत्काउने तिनै माओवादी अहिले राज्यका विभिन्न निकायमा छन् ।
माओवादी जनयुद्धकालमा डिभिजन कमाण्डर रहेका कर्णालीका मख्यमन्त्री महेन्द्रबहादुर शाही राजनीति मूलधारमा आएपछि धर्मप्रतिको उनको धारणा पुरै ‘युटर्न’ भएको छ ।
माओवादी जनयुद्धमा मन्दिर भत्काउने तिनै मुख्यमन्त्री शाही मुख्यमन्त्री भएपछि कालो बोका काटेर साइत हेराएर मुख्यमन्त्री निवासमा प्रवेश गरेका थिए । मुख्यमन्त्री भएको पहिलो आर्थिक वर्षमा मठमन्दिर निर्माणमा झण्डै एक अर्ब रुपैयाँ खर्च गरेका थिए ।
यसै वर्ष भदौ ३ गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पत्नी चन्द्रा शाही र कालीकोट सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीका साथ हेलिकप्टर चार्टर गरेर बडीमालिका धाम, कालीकोटको पचालो देवताको मन्दिरमा पुजा गरे ।
कोरोना कहरमा ठूलो संख्यामा युवाहरु जीवन धान्नकै लागि विदेशिनु परेका बेला मुख्यमन्त्री शाहीका यस्ता फजुल कामको आलोचना भइरहेको छ ।
त्यसो त यसअघि २०६५ सालमा सरकारमा हुँदा पशुपतिनाथमा पुजारी परिवर्तनदेखि माओवादी अध्यक्ष प्रचण्डले भैंसीपूजा गरेको भन्दै बेलाबेला आलोचना हुँने गरेको छ ।
माओवादीमा लागेर धर्म र धार्मिक कार्यको विरोध गर्दै हिँडेका नेताहरु अहिले भने आफूलाई धार्मिक प्रवृत्तिको देखाउन लागिपरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।