बजारमा कच्चा सुनको अभाव, आपूर्ति बढाउन माग गर्दै व्यवसायी पुगे राष्ट्र बैंक

बजारमा कच्चा सुनको कमी हुन थालेपछि सुनचाँदी व्यवसायीले आपूर्ति बढाउन माग गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघको प्रतिनिधिमण्डलले बुधबार नेपाल राष्ट्र बैंक पुगेर आपूर्ति बढाउन आग्रह गरेको हो ।
 
महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले राष्ट्र बैंकको विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेलसँग भेट गरी सुन अभावको बारेमा जानकारी गराउनुका साथै सुनचाँदी व्यवसायमा देखिएका अन्य विषयवस्तुसमेत जानकारी गराएको हो ।
 
त्यसक्रममा महासंघका तर्फबाट बजारमा माग र आपूर्तिबीच चरम असन्तुलन रहेको उल्लेख गर्दै तत्काल कच्चा सुन आपूर्तिको व्यवस्था बढाउन आग्रह गरिएको महासंघका अध्यक्ष शाक्यले बताए । 

उनका अनुसार चाडबाडको समयमा दैनिक ३५ देखि ४० किलोसम्म र अन्य सामान्य समयमा दैनिक २५ देखि ३० किलो सुनको माग रहेको छ । हाल व्यवसायीले दैनिक २० किलोका दरले मात्र कच्चा सुन पाउँदै आएका छन् ।
 
कार्यकारी निर्देशक पौडेलसँगको भेटका क्रममा अध्यक्ष शाक्यले सुनको सहज आपूर्ति व्यवस्था मिलाइनुपर्ने, नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशिकामा उल्लेख भएअनुरुप क्षेत्रगत रुपमा विभिन्न नौवटा नाकाबाट कच्चा सुन वितरणको व्यवस्था मिलाइनुपर्ने, सुनचाँदी व्यवसायीले सबै बैंकमा खाता खोल्नुपर्ने बाध्यात्मक व्यवस्था हटाई एकल खाता प्रणालीमा जानुपर्ने माग राखेका थिए । 

यस्तै, सुन आयातमा बैंकको एकाधिकार तोडी निजी क्षेत्रलाई पनि सहभागी गराइनुपर्ने, गोल्ड एक्स्चेञ्ज स्थापनाका लागि पहल गर्नुपर्ने, कोरोना प्रभावित सुनचाँदी व्यवसायीलाई पुनर्कर्जाको व्यवस्था मिलाइनुपर्ने, चाँदीको आयातलाई व्यवस्थित बनाइनुपर्नेलगायत माग प्रस्तुत गरेका थिए ।
 
भेटका क्रममा महासंघका तर्फबाट निवर्तमान अध्यक्ष मोहनकुमार सुनार, वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइली, उपाध्यक्ष मोहनकाजी शाक्य, महासचिव धर्मसुन्दर बज्राचार्यलगायतको सहभागिता रहेको महासंघका प्रवक्ता मनोजकुमार शाहले जानकारी दिए ।
 
पछिल्लो समयमा दैनिक २० किलोका दरले कच्चा सुन उपलब्ध गराउने व्यवस्था छ । यसले बजारको माग धान्न नसक्दा व्यवसायी मर्कामा परेका छन् ।





  • प्रकाशित मिति : भदौ ३०, २०७८ बुधबार १७:२२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया