बहुराष्ट्रिय कम्पनी युनिलिभरको हेटौंडास्थित प्रशोधन केन्द्रमा म्याद नाघेको चियापत्ती भेटिएपछि स्थानीय प्रशासनले सिल गरे पनि २२ दिनसम्म सो कम्पनीमाथि कारबाही भएको छैन ।
हेटौंडा उपमहानगरपालिका ३, बसामाडीमा रहेको बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडको चिया प्रशोधन केन्द्रमा भदौ १५ गते लेबल नभएको र म्याद गुज्रिएको चियापत्ती भेटिएपछि स्थानीय प्रशासनले सिल गरेको थियो ।
गत भदौ १५ गते स्थानीय प्रशासन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उपभोक्ता हित संरक्षण मञ्चसहितको टोलीले उद्योग परिसरमा रहेको चियापत्ती प्रशोधन केन्द्रमा अनुगमन गरेको थियो ।
पुनः प्याकेजिङ गरी बिक्री वितरण गर्ने उद्देश्यले भण्डारण गरी राखिएको ९२० बोरा सिटिसी चिया फेला परेकाले कम्पनीमा सिल गरिएको थियो । सन् २०१९ मा उत्पादित चियापति सन् २०२० को जुन महिनाभित्र प्रयोग गरिसक्नु पर्ने जनाइएको छ ।
२२ दिनसम्म सकिएन अनुसन्धान
सिल गरिएको २१ दिनसम्म त्यसबारे अनुसन्धान प्रक्रियाले भने तीव्रता पाउन सकेको छैन । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अझैसम्म अनुसन्धान भइरहेको जनाएको छ ।
कार्यालयका अनुसार अहिले खाद्य निरीक्षकलाई अनुसन्धान अधिकारी तोकेर अनुसन्धान भइरहेको छ । अनुसन्धान सकेर प्रतिवेदन तयार भइसकेपछि जिल्ला प्रशासन तथा अदालतमा मुद्दा दायर गर्ने तयारी रहेको कार्यालयका एक कर्मचारीले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।