Mon, 19 Nov, 2018


सिंहदरबारमा ३१ वर्ष बिताएका विष्णुबहादुर
सिंहदरबार अन्डरडग्स  
राेशन सिग्देल  |  कात्तिक ७, २०७५

काठमाडाैं– दसैं अगाडि नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पुग्दा पहिलो पटक भ¥याङमा नै भेटिएका थिए, विष्णुबहादुर महर्जन । हामीले उनीसँग कुराकानी गर्ने प्रस्ताव राख्यौँ । सदावहार शैलीले त्यही भर्याङमा उनले हाँसो मिश्रित जवाफ दिए, ‘हुन त म यहाँको सबैभन्दा पुरानो कर्मचारी हुँ, तर के कुरा गर्नु र ?’

त्यो बिहिबारको दिन थियो । मन्त्रालयमा चर्को भीड थियो । त्यो भीडमा भ्याइनभ्याइ थियो, विष्णुलाई । ‘हाइ हेलो’ गर्दा नै उनको व्यस्तता झल्किन्थ्यो । त्यो हतारोमा उनको मनको पोयो फुकाउन सहज थिएन, सम्भव थिएन । त्यसैले हामी भोलिपल्ट समय तय गरेर भेट्ने भयौँ ।

भोलिपल्ट तोकिएको समयमा मन्त्रालयमा ‘सिंहदरबार अन्डरडग्स’को यो सिरिज गर्न जाँदा पनि विष्णुलाई भ्याइनभ्याइ नै थियो । हामी पुगेपछि उनी मन्त्रालयको ग्राउन्ड फ्लोरमा आए । 

अनि अघि लागे ।

हामी उनलाई पछ्याउँदै केही अगाडि बढ्यौँ ।

हिँड्दाहिँड्दै उनी भन्दै थिए, ‘अलिक बेर कुरा गर्नु पर्ने होला, कतै बस्न पाए हुन्थ्यो ।’

केही अगाडि बढेपछि उनले एउटा कोठाको ढोका खोले । ढोकाको दाहिने छेउमा पर्खालमा टाँसिएको थियो– स्टोर ।

हामी संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयको स्टोरमा छिर्यौँ ।

स्टोरमा असरल्ल सामान थिएनन्, मिलाएर राखिएका उतिविधि सामान पनि थिएनन् । भित्र छिर्नेवित्तिकै दुई टेबलमा कम्प्युटर थिएन । उनी एउटा कम्प्युटरको अगाडि बसे । 

अनि गम्न थाले ।

‘सिंहदरबारमा काम गर्न थालेको ३१ वर्ष भइसकेछ,’ उनी हाँसे । अनि आफैं आफ्नो उमेरको हिसाब लगाउन तिर लागे । भने, ‘त्यतिबेला २५ वर्षको थिएँ, अब त ५६ पो लागेछु ।’

यसो भनिरहँदा विष्णुको अनुहारको चमक प्रष्ट बुझ्न सकिन्थ्यो । उनले लगाएको सेतो सर्टको गोजीमा टेस्टर पनि त्यसरी नै चम्किरहेको थियो । अनुहारमा मीठो मुस्कानसहित उनी फर्किए आफ्नो विगततिर । 

भने, ‘सुरुमा त मैले शिक्षा मन्त्रालयमा काम थालेको हुँ ।’

तर, अरुलाई जस्तो विष्णुलाई सिंहदरबारको इन्ट्री त्यति असहज भएन । उनका बाबु पहिले नै सिंहदरबारमा काम गर्थे । एकदिन उनले छोरालाई भने, ‘ल हिँड काम गर्न ।’

बाबुसँग लुरुलुरु सिंहदरबारमा आए विष्णु ।

उनलाई बाबुले नै एकजना ‘हाकिम’कहाँ लगे । त्यहाँ कुराकानी भयो । अनि विष्णुको जागिर पक्का भयो । 

‘कोसँग कुरा गर्नुभएको थियो भन्ने पनि थाहा छैन,’ विष्णुले भने ।

त्यसपछि उनी थानकोटबाट सधैं सिंहदरबार आउन थाले, काम गर्न थाले । 

बाबुले जागिर पक्का गरिदिएको भोलिपल्टको सम्झना अहिले पनि विष्णुको मनमा छ । त्यो दिन उनलाई सिंहदरबारमा आफ्नो काम फिटिक्कै चित्त बुझेको थिएन । उनले बीचमै काम छाडेर घर जाने निर्णय गरे । 

दिउँसो छोरो कामबाट फर्किएको साँझ बाबुलाई थाहा भयो । विष्णुको मनमा बाबुले गाली गर्ने कुराले हुने डरले डेरा जमाएको थियो ।

तर, बाबुले उनलाई गाली गरेनन् । उल्टै भने, ‘नखाने भए नखा ।’

बाबुले यसो भने पनि सिंहदरबारमा उनका हाकिमले उनलाई सम्झाउन छाडेनन् । ‘हाकिमले सम्झाएपछि मेरो मनले पनि मान्यो,’ विष्णु हाँस्छन्, ‘अनि मैले सिंहदरबारमा काम सुरु गरेँ, काम अगाडि बढ्न थाल्यो । अहिले त्यो दिन हाकिमले सम्झाएको कुराले मलाई खुसी बनाउँछ ।’

काम गर्न थालेको सात महिनामात्र भएको थियो, विष्णु स्थायी कर्मचारी भए ।

स्थायी कर्मचारी भए पनि विष्णुको अध्ययन त्यति थिएन । सामन्य लेखपढ गर्न जान्ने विष्णुले सुरुमा शिक्षा मन्त्रालयको गार्डेनरको जिम्मेवारी पाएका थिए ।

६ महिनाभन्दा बढी मालीको काम गरेपछि विष्णुको प्रमोसन भयो, उनी कोठाभित्रको जागिरेका रुपमा छिरे । 

‘त्यति बेला मन्त्री .... अँ,’ विष्णुले ३१ वर्षअगाडिका शिक्षामन्त्रीको नाम सम्झिन खोजे । तर, सकेनन् । 

उनले निधार खुम्चाए, कपाल कन्याए, हत्केलाले निधारमा हाने । तर, उनले शिक्षामन्त्रीको नाम सम्झिएनन् । 

अनि मुसुक्क हाँसेर भने, ‘को मन्त्री हुनुहुन्थ्यो भन्ने नै बिर्सिएँ, मन्त्री फेरेको फेरै हुने भएकाले पनि सम्झिन नसकेको हुँ कि ?’

देशमा बहुदल आयो । सरकार नयाँ बन्यो । विष्णुबहादुरको पनि सरुवा भयो । उनले अब विज्ञान प्रविधि विभागमा जागिर खान थाले । 

‘हामीजस्तो साना कर्मचारीको सरुवा किन हुन्छ भन्ने नै हुँदैनथ्यो,’ उनले भने, ‘मलाई मीनभवनमा जानू भनियो, म गएँ ।’ तर, विज्ञानप्रविधि विभाग लामो समय मीनभवनमा रहेन, सानोठिमी सर्यो ।

थानकोटका विष्णुलाई सधैं थानकोट सानोठिमी समस्या भयो । उनले घरबाट टाढा हुने भएकाले सरुवा मागे । चार वर्ष विज्ञान प्रविधि विभागमा काम गरेपछि विष्णु फेरि सिंहदरबार फर्किए ।

यसपटक सिंहदरबार छिरेपछि विष्णुलाई मन्त्रीसँग काम गर्न राखियो । उनले सुरुमा त मन्त्रीसँग काम गर्ने भनेपछि आफ्नो काम निकै सहज हुने अनुमान गरे । 

‘तर, त्यस्तो रहेनछ,’ उनले भने, ‘मन्त्रीसँग काम गर्नु त झन् गाह्रो हुँदो रहेछ, समयको हेक्का नै नहुने, विहानैदेखि अबेरसम्म काम गर्नैपर्ने ।’

अचाक्ली भएपछि एक दिन उनले मन्त्रीसँग निवेदन गरे, अनुरोध गरे– मलाई अर्को मन्त्रालय पठाइदिनु भए हुन्थ्यो ।

‘कहाँ जाने त ?’ मन्त्रीले उनलाई प्रश्न गरे । 

‘गृहमन्त्रालय,’ विष्णुले फ्याट्टै जवाफ दिए । 

त्यति बेला शिक्षामन्त्री थिए, मोदनाथ प्रश्रित । प्रश्रित विष्णुको कामबाट खुसी भएका थिए, त्यसैले उनले विष्णुको यो इच्छा पूरा गरिदिने भए । तर, विष्णु जान खोजेको गृहमन्त्रालयमा मान्छे चाहिएको रहेनछ । 

प्रश्रितले नै उनलाई भने, ‘पर्यटनमा खाली छ रे, त्यहाँ जाने त ?’

विष्णु त्यहाँबाट पर्यटन मन्त्रालय सरुवा भए । तर, उनलाई अब शिक्षा मन्त्रालय र मोदनाथ प्रश्रितको याद बढी आउन थाल्यो । 

‘प्रश्रितजस्ता मन्त्री त अरु कोही छैनन्,’ अहिले पनि विष्णुलाई लाग्छ, ‘उनी विहान घरबाट नै खाना लिएर आउँथे, हामी सबैसँग बसेर सँगै खान्थे ।’

त्यति बेला पर्यटन मन्त्रालयमा सरुवा भएर आएका विष्णु अहिले पनि पर्यटन मन्त्रालयमा नै छन् । योबीच पर्यटन मन्त्रालयमा १६ भन्दा धेरै मन्त्री फेरिए । 

तर, फेरिएको छैन विष्णुको दैनिकी ।

‘काम उस्तै भए पनि अहिले निकै सहज भएको छ,’ विष्णुले भने, ‘पहिले त गधाले जस्तो काम गरिन्थ्यो, अहिले राजालाई भन्दा आनन्द छ !’

विष्णु सिंहदरबार छिर्दा उनको तलब ३ सय ५० रुपैयाँ थियो । अहिले बढेर २४ हजारभन्दा धेरै भएको छ । ‘तलब त बढ्यो,’ उनी हाँसे, ‘तर, अहिले सोच्दा लाग्छ, त्यही ३ सय ५० रुपैयाँ नै ठिक थियो ।



राेशन सिग्देल

राेशन सिग्देल इकाेनाेमिक्सका विद्यार्थी हुन् । उनी फरकधारमा पनि अर्थतन्त्रसँग सम्बन्धित विषयमा रिपाेर्टिङ गर्छन् ।

यो पनि नछुटाउनुहोस्