कर्णालीका स्थानीय तहमा देउवा पक्ष बलियो

कर्णालीका १० जिल्लामध्ये ८ जिल्लाका ६२ स्थानीय तहमा नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गतको पालिका स्तरीय नेतृत्वमा चयन भएका छन् । 

केही स्थानीय तहमा सर्वसम्मत र केही स्थानीय तहका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल प्यानलबीच कडा प्रतिस्पर्धामा निर्वाचन भएको छ । कर्णालीका डोल्पा र सुर्खेतमा सदस्यता विवादका कारणले वडा अधिवेशन हुन सकेको छैन । 

दैलेखमा देउवा पक्ष हाबी

दैलेख जिल्लाका ११ स्थानीय तहमध्ये ९ वटा स्थानीय तहमा निर्वाचन सम्पन्न भएको छ । भगवतिमाई गाउँपालिकामा र भैरवी गाउँपालिकामा विवादका कारणले निर्वाचन हुन सकेको छैन ।

दैलेखका ९ वटा स्थानीय तहमध्ये ६ वटा स्थानीय तहमा देउवा पक्षका सभापति विजयी भएका छन् । पौडेल पक्षका ३ स्थानीय तहमा विजयी भएका छन् । 

दुल्लु नगरपालिकामा देउवा पक्षका लालबहादुर रावत, नारायण नगरपालिकामा देउवा पक्षका मनोज थापा, नौमुले गाउँपालिकामा गंगबहादुर शाही, चामुण्डाविन्द्रासैनी नगरपालिकामा जगतबहादुर शाही, डुंगेश्वर गाउँपालिकामा पनि देउवा पक्षका भीमबहादुर भट्ट विजयी भएका छन् । 



आठबिस नगरपालिकामा देउवा पक्षका अर्जुन शाही सभापति भएका छन् । ठाँटीकाँध गाउँपालिकामा पौडेल पक्षका विष्णुप्रसाद रिजाल, गुराँस गाउँपालिकामा चन्द्र भट्टराई र महाबु गाउँपालिकामा कर्णबहादुर शाही सभापति विजयी भएका छन् । 

हुम्लाका सबै पालिकामा देउवा पक्ष विजयी



नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश संसदीय दलका नेता जीवन शाहीको गृह जिल्ला हुम्लामा ७ वटा गाउँपालिकामध्ये ६ वटामा सर्वसम्मत देउवा पक्षका सभापति चयन भएका छन् । नाम्खा गाउँपालिकामा सोनामबहादुर लामा, सिमकोट गाउँपालिकामा धर्मराज रोकाय, खार्पुनाथमा टक्कबहादुर शाही, चंखेलीमा नरबहादुर भण्डारी, अदानचुलीमा विष्णु भण्डारी र ताँजाकोटमा कृष्णबहादुर मल्ल सभापति भएका छन् ।

सर्केगाड गाउँपालिकामा विवादका कारणले सभापति चयन हुन बाँकी रहेको छ । 

रुकुमपश्चिम कुनै पक्ष खुलेनन् 

रुकुमपश्चिका ६ स्थानीय तहमा मुसीकोट नगरपालिकामा प्रेमबहादुर ओली, आठबिसकोट नगरपालिकामा अमृत बोहरा, चौरजहारी नगरपालिकामा प्रेमबहादुर ओली, बाँफिकोट गाउँपालिकामा जनककुमार बाँठा (जेके), सानीभेरी नगरपालिकामा सन्तोष रोका र त्रिवेणी गाउँपालिकमा दीपेन्द्रकुमार ओली सभापति चयन भएका छन् । उनीहरू कुनै पक्षमा खुलेका छैनन् । 

कालीकोटमा देउवा पक्ष
 
नेपाली कांग्रेसको कालीकोट जिल्लाका नौ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको हो । यहाँ सबै स्थानीय तहमा देउवा प्यानलका विजयी भएका छन् ।
 
जिल्लाको रास्कोट नगरपालिकामा वीर फर्साल, खाडाँचक्र नगरपालिका भानुभक्त आचार्य, तिलागुफा नगरपालिकामा धिरेन्द्र थापा, पलाता गाउँपालिकामा धीरबहादुर बम, नरहरिनाथ गाउँपालिकामा रामबहादुर बटाला, सान्नी त्रिवेणी गाउँपालिकामा वीरेन्द्र केसी, पचालझरना गाउँपालिकामा प्रजापति सन्ज्याल, शुभकालिका गाउँपालिकामा दिर्घबहादुर शाही र महावै गाउँपालिकामा पुराधी अधिकारी  सभापतिमा चयन भएका छन् । 

सल्यानमा देउवा र पौडेल बराबर

सल्यानका १० स्थानीय तहमध्ये दुई स्थानीय तहमा सर्वसम्मत सभापति चयन भएका छन् भने आठ वटा स्थानीय तहमा चुनावबाट सभापति चयन भएका छन् । 

त्रिवेणी गाउँपालिकामा गंगाराम पुन देउवा प्यानलका हुन् भने सिद्धकुमाखमा वीरबहादुर बुढाथोकी पौडेल प्यानलका सभापतिमा चयन भएका छन् । सल्यानका १० स्थानीय तहमा पौडेल पक्षका ५ जना र देउवा पक्षका ५ जना सभापतिमा चयन भएका छन् । 

त्यस्तै चुनाव भएका कालीमाटी गाउँपालिकामा गणेश केसी, शारदा  नगरपालिकामा दिपक हमाल, वनगाढ कुपिण्डे नगरपालिकामा पुरुषोत्तम आचार्य र कपुरकोट गाउँपालिकामा एकराज ओली पौडेल पक्षका सभापति चयन भएका छन् ।
त्यस्तै, देउवा पक्षका कुमाख गाउँपालिका इन्द्र शाही, दार्मा गाउँपालिकामा कृष्णबहादुर ओली, छत्रेश्वरी गाउँपालिकामा सीता केसी सभापति चयन भएका छन् । 

जुम्लामा पौडेल प्यानलको वर्चश्व

जुम्लाका ८ स्थानीय तहमध्ये दुई वटा स्थानीय तहमा मात्र देउवा प्यानलका सभापति विजयी भएका छन् । ६ वटा स्थानीय तहमा पौडेल प्यानलका चयन भएका छन् ।

पौडल पक्षका कनकासुन्दरी गाउँपालिकामा लालु बुढा, हिमा गाउँपालिकामा नरबहादुर शाही, तातोपानीमा धनकृष्ण चौलागाई, तिलामा भक्तबहादुर रोकाया र पातारासीमा रतनसिंह बुढा सभापति चयन भएका हुन् ।

देउवा पक्षका सिँजा गाउँपालिकामा गोविन्द शर्मा र र गुठीचौरमा टेकबहादुर भण्डारी सभापति चयन भएका छन् । 

चन्दननाथ नगरपालिकामा भएको निर्वाचनमा पौडेल पक्षका रवि थापा सभापति चयन भएका छन् । देउवा प्यानलबाट अंग चौलागाई निर्वाचनमा पराजित भएका हुन् ।
 
जाजरकोटमा सभापति विजयी भन्छन्, ‘हामी कुनै गुटमा छैनौं’

जाजरकोट जिल्लाको भेरी नगरपालिकामा शशी बुढा, छेडागाड नगरपालिकामा टोपेन्द्र अधिकारी, शिवालय गाउँपालिकामा जस्बिर वली, नलगाड नगरपालिकामा जयबहादुर सिंह र बारेकोट गाउँपालिकामा रामचन्द्र ज्योति निर्विरोध सभापतिमा चयन भएका छन् ।

कुशे गाउँपालिका र जुनिचाँदे गाउँपालिकामा निर्वाचन भए पनि नतिजा सार्वजनिक हुन बाँकी छ ।
 
जिल्लाको नेतृत्व नै सर्वसम्मत गर्नेगरी तयारी थालेकोले टिमको कुरा भन्न नमिल्ने नेपाली कांग्रेसबाट भेरी नगरपालिका विजयी भएका शशी बुढाले बताए । ‘हामी कुनै गुट बनाउने पक्षमा छैनौं’, उनले भने, ‘त्यसैले हामी कुनै गुटमा खुलेका छैनौं ।’

मुगुका तीन गाउँपालिका सर्वसम्मत, एक नगरपालिकामा घमासान

मुगुका जिल्लाका ४ स्थानीय तहमध्ये तीन स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको छ । 

सोरु गाउँपालिकामा सूर्यजंग शाही, कार्मारोङ गाउँपालिकामा गारा तामाङ र खत्याड गाउँपालिकामा लोकराज दाहाल सभापतिमा सर्वसम्मत चयन भएका छन् । 
छायाँनाथ रारा नगरपालिकामा भने देउवा टिमबाट चक्रबहादुर साउद र पौडेल टिमबाट राजबहादुर सेजुवालबीच सभापतिका लागि आज निर्वाचन भइरहेको छ । 
 

  • प्रकाशित मिति : असोज ११, २०७८ साेमबार १३:३८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया