कर्णालीमा खाद्य संकट : कुहिएको चामलमा राजनीति

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुर्खेतस्थित सम्बन्धित कार्यालयबाट कर्णालीमा वितरण गर्नेगरी साउन १५ देखि भदौ १५ गतेको बिचमा बास्मती चामल सुर्खेत पठायो । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य कम्पनीको थापाथलीस्थित चामल गोदामका कर्मचारीको चरम लापर्बाहीले गोदाम नम्बर २४ र ३० मा रहेको चामलमा किरा परेर धुलोधुलो भइसकेको हुँदा खानयोग्य नभएको पुष्टि गरी नष्ट गर्ने निर्देशन दिएको थियो ।

त्यही चामल खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रधान कार्यालय काठमाडौंका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्द र बिक्री वितरण शाखाका विभागीय प्रमुख भीमबहादुर थापा तथा अन्य विभागीय प्रमुखको निर्देशनमा ‘रि पोलिसिङ’ गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रादेशिक कार्यालय सुर्खेतमा पठाइयो । 

कम्पनीको प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख माधव मिश्रले काठमाडौंबाट पठाएको बास्मती चामल ‘रिसिभ’ गरे । केही बास्मती चामल कार्यालयले बिक्री गरिसकेको थियो । 

कर्णालीमा आउने चामल कुनै चेकजाँच नगरी गाउँमा पठाउँदा धेरै पटक कुहिएको चामल पर्ने गरेको थियो । 

केन्द्रीय कार्यालयबाट आएको चामल भएका कारण चेकजाँच नै नगरेको कम्पनीका प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख माधव मिश्रले बताए । 



कर्णालीमा पाँच दशकदेखि चामलको राजनीतिक हुँदै आएको छ । विशेष गरेर विस.२०३०/३५ सालदेखि कर्णालीमा चामलको राजनीति हुँदै आएको हो । 

पञ्चहरुले कर्णालीमा भोकमरी हुनेभन्दै त्यसबेला हेलिकप्टरमार्फत चामल ओर्सान थालेका हुन् । त्यो पनि चुनावी भोटका लागि चामल ओर्सान थाले । पछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले डिपो र शाखा कार्यालय स्थापना गरेर चामलको व्यापार गर्न थालियो । 



विगतदेखि नै खाद्य व्यवस्था तथा व्यापार कम्पनीका कर्मचारी, ठेकेदार र बिचौलियाले कर्णालीमा लैजाने चामलमा कैफियत गर्दै आएका छन् । कर्णालीमा आउने अनुदानको चामलमा राम्रो चामल अयन्त्र राखेर कुहिएको चामल बिक्री गर्ने गरिन्छ । 

विषेश गरेर दशैं तिहारमा कर्णालीमा चामलको अभाव रहेको प्रचार गर्दै कुहिएको चामल बिक्री गर्दै आएका हुन् । 

घटना– १ 

गत आर्थिक वर्ष दसैंका बेला खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट मुगु जिल्लाका लागि चामल ढुवानीको जिम्मा पाएको दुर्गा भगवती इन्टरप्राइजेज र शर्मा निर्माण सेवाले कम्पनीबाट उठाएर भक्तपुर जिल्ला लैजान लागेका बेला प्रहरीले सुर्खेतको सुब्बाकुनाबाट ना ६ ख ५७२१ नम्बरको ट्रकमा रहेको २ सय ५० क्विन्टल चामल जफत गर्‍यो ।  

दुर्गा भगवती इन्टरपाइजेज र शर्मा ढुवानी सेवाका सञ्चालक वासुदेव शर्मासँग त्यो चामल मुगुको कालैमा ३ हजार क्विन्टल, सोरुकोट, पुलु र कालीकोटको थिर्पुमा एक/एक हजार क्विन्टल तथा दैलेखको चामुण्डा र ठाँटीकाँधमा ५/५ सय क्विन्टल चामल ढुवानी गर्ने सम्झौता गरेको थियो । 

कम्पनीसँग वि.सं. २०७७ असोज १६ गते भएको सम्झौताअनुसार शर्माले कालैका लागि जापानी चामल १ हजार क्विन्टल र अरुवा मोटा चामल १ सय क्विन्टल उठाएका थिए । उनले मुगु पठाउनुपर्ने चामल भक्तपुर पठाए । सो प्रकरणमा शर्मा समातिए र धरौटीमा छुटे । त्यो पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनीका कर्मचारीको मिलेमतोमा नै । 

कुहिएको चामल काठमाडौं किन पठायो ?

विगतमा कर्णालीका नौ जिल्लामा चामल पठाउन खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यसअघि कर्णालीका नौ जिल्लामा खाद्यान्न ढुवानी गर्नका धनगढी, लहानलगायतका ठाउँबाट मोटा, अरुवा चामल पठाउँदै आएको थियो । 

तर, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौंबाट सुर्खेतमा १५ साउनदेखि १५ भदौको बीचमा २ हजार २ सय क्विन्टल बास्मती चामल पठायो । काठमाडौंबाट कर्णालीमा खाद्य कम्पनीले सुर्खेतमा बास्मती चामल पठाएको यो नै पहिलो थियो ।

खाद्य कम्पनीको प्रादेशिक कार्यालय सुर्खेतका लेखा शाखा प्रमुख विनोद पौडेलले भने, ‘खाद्य कम्पनीको इतिहासमा पहिलोपटक कर्णालीका नौ जिल्लाका लागि करिब २ हजार २ सय क्विन्टल बास्मती चामल आएको छ । सो चामल २० किलोको बोरामा आएको छ ।’ 

उनले भने, ‘खाद्य कम्पनीको सुर्खेत कार्यालयबाट हालसम्म प्रतिकिलो १ सय १० रुपैयाँका दरले झन्डै १५ क्विन्टल बिक्री पनि गरिसकेको थियो ।’

काठमाडौंका कर्मचारीकै मिलेमतोमा कर्णालीमा कुहिएको चामल पठाइएको उपभोक्ता हित संरक्षण समितिका कर्णाली प्रदेश कोषध्यक्ष विन्दुलाल रेग्मी बताउँछन् । 

‘नागरिकको जनस्वास्थ्यमा यो पुरै खेलवाड हो’, उनले भने, ‘राज्यको जिम्मेवार निकायबाट नागरिकमाथि यस्तो खेलवाड गर्न पाइदैन ।’

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले खाद्य व्यवस्था तथा व्यापार कम्पनीअन्तर्गतको प्रादेशिक कार्यालय सुर्खेतको चामल गोदाम सिल गरेको छ ।

डिभिजन कार्यालयका प्रमुख भेषबहादुर थापाले खाद्य कम्पनीको गोदाममा अनुगमन गर्दा काठमाडौंबाट आएको १९ सय ९० क्विन्टल बास्मती चामलमध्ये १५ क्विन्टल बिक्री गरिसकेको पाइयो, बाँकी १९ सय ७५ क्विन्टल चामल खाद्य कम्पनीको गोदाममा रहेको बताए । 

उनले हाल गोदाममा रहेको सो बास्मती चामल बिक्री वितरण नगर्न भन्दै गोदाम सिल गरिएको जानकारी दिए । 

ढुवानीमासमेत झेल

खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट ढुवानीको जिम्मा पाएका ठेकेदारहरुले डिपो तथा खाद्य कम्पनीको कार्यालयमा नपु¥याएर बाटोमा नै बिक्री गर्ने समेत गरेका छन् । खाद्य कम्पनीको कार्यालयका कर्मचारीसँगको मिलेमतो उनीहरुले बाटोमा नै बिक्री गर्ने गरेका छन् । 

सडक पुगेका क्षेत्रमा सम्बन्धित ठाउँमा नै चामल नपुर्‍याएर बाटोमा बिक्री गर्नु सामान्य जस्तै हो ।

कर्णालीका सडक नपुगेका जिल्ला हुम्ला र डोल्पामा नेपालगन्ज र सुर्खेतबाट चामल ढुवानी गरिरहेका वायुसेवा कम्पनीलाई ढुवानीको जिम्मा दिने गरेको छ । तर, चालु आर्थिक वर्षमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले वायु सेवा कम्पनीलाई ढुवानीको जिम्मा नदिएर बिचौलिया प्रयोग गरेको छ । 

हुम्ला र डोल्पामा हवाईमार्ग मार्फत वार्षिक १५ करोड रुपैयाँको चामल ढुवानी हुने गर्दछ । चालु आर्थिक वर्षमा चामल ढुवानीमा बिचौलिया ल्याएको वायुसेवा सञ्चालक संघका महासचिव मनोज कार्कीले आरोप लगाए । 

‘विगतमा यो काम खाद्य कम्पनीले सिधै एयरलाइन्सलाई दिने गरेको थियो’, उनले भने, ‘चालु आर्थिक वर्षमा विमान नै नभएको कम्पनीलाई चामल ढुवानीको जिम्मा दिइयो । यो जिम्मा बिचौलियाले लिए पनि बोक्न भने एयरलाइन्स नै प्रयोग गर्नुपर्छ ।’ 
 

  • प्रकाशित मिति : असोज १२, २०७८ मंगलबार १२:४९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया