सत्ता साझेदार दलहरुबीच कुन मन्त्रालय कसले लिने भन्नेबारे टुंगो नलागेपछि आज पनि मन्त्रिपरिषद् विस्तार रोकिएको छ ।
यसअघि सरकारलाई सहमति जनाएका दलहरुबीच कुन दलले कति मन्त्रालय लिने भन्नेबारे चाहिँ सहमति भएको थियो । तर, दलहरुबीच कुन मन्त्रालय कसले लिने भन्नेबारे टुंगो लागेको थिएन ।
विशेषतः भौतिक योजना मन्त्रालयको विषयमा दलहरुबीच सहमति जुट्न नसकेको एक नेताले फरकधारलाई बताए ।
उनका अनुसार जनता समाजवादी पार्टी र माधवकुमार नेतृत्वको नेकपा एकीकृत समाजवादी दुवैले यो मन्त्रालय आफूले पाउनु पर्ने अडान कायम राखेका छन् ।
उनीहरुबीच मन्त्रालयको टुंगो नलाग्दासम्म मन्त्रिपरिषद् विस्तार नहुने बताइएको छ ।
यसअघि सरकारले दलहरु विभाजन गर्न सहज हुने गरि ल्याएको अध्यादेश खारेज भएपछि तत्कालै मन्त्रिपरिषद् विस्तार हुने बताइएको थियो । तर, सत्तारुढ दलहरुबीच कुन मन्त्रालय कसले लिने भन्नेबारे सहमति नहुँदा मन्त्रालय विस्तार हुन सकेको छैन ।
स्रोतका अनुसार जसपाका इस्तियाक मोहम्मद राई र नेकपा एकीकृत समाजवादीका विरोध खतिवडा दुवै भौतिक योजना मन्त्रालय सम्हाल्न चाहन्छन् । तर, एकीकृत समाजवादीका माधवकुमार नेपाल र जसपाका उपेन्द्र यादव दुवैले आफूहरुले यी मन्त्रालय पाउनु पर्ने माग गर्दै आएका छन् ।
कुन मन्त्रालय कसले लिने भन्नेबारे सहमति नहुँदा मन्त्रिपरिषद् विस्तारका लागि अझै केही दिन लाग्न सक्ने बताइएको छ । यसअघि बिहीबार साँझसम्म वा शुक्रबार नै मन्त्रीहरुको सूची सार्वजनिक गरिने र सपथ गराइने योजनामा सत्तारुढ गठबन्धनका नेता थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।