अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापामारी गरेको विरोधमा जनता समाजवादी पार्टीले बृहत् विरोध प्रदर्शन गरेको छ ।
जसपाको प्रदेश समितिले आइतबार जनकपुरधाममा मोटरसाइकल र्याली निकाल्दै बृहत् विरोध प्रदर्शन गरेको हो । प्रदेश सरकारलाई बदनाम गरेर संघीयता समाप्त पार्ने षड्यन्त्रमा अख्तियार लागेको भन्दै आन्दोलनको घोषणा अनुसार जनकपुरधामको नगर परिक्रमा गर्दै विरोधसभा गरिएको छ ।
स्थानीय रेल्वे स्टेसनबाट निकालिएको सो मोटरसाइकल जुलुस भानु चोक, कदम चोक, विद्यापति चोक, विश्वकर्मा चोक, जिरोमाइल, बजरंग चोक, रामानन्द चोक हुँदै पिडारी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा जसपाका नेताहरुले अख्तियारले मुख्यमन्त्री लालबाबु राउतविरुद्ध षड्यन्त्र गरेको आरोप लगाउँदै अख्तियार केपी ओलीको मतियार भएको आरोप समेत लगाए ।
जसपाले अख्तियारले मुख्यमन्त्री कार्यालयमा गरेको छापामारी अमर्यादित र विद्वेषपूर्ण तथा सामुदायिक एवं राजनीतिक प्रतिशोध र पूर्वाग्रहपूर्ण भावनाले गलत भएको बताएको छ ।
जसपाले अख्तियार विरुद्ध प्रदेश २ को राजविराज, लहान, जनकपुरधाम, जलेश्वर, मलंगवा, कलैया, गौर र वीरगंजमा पनि जुलुस प्रदर्शन गरेको छ ।
यसअघि शनिबार पनि जसपाले अख्तियारविरुद्ध प्रदेशका जिल्ला सदरमुकाममा मसाल जुलुस प्रदर्शन गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।