वातावरण संरक्षण नभए मुलुकमा खाद्यसंकट उत्पन्न हुने मन्त्री रायको दाबी

प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायले वातावरण संरक्षण नभए मुलुकमा खाद्य संकट उत्पन्न हुने दाबी गरेका छन् ।
 
आइतबार जनकपुरधाममा आयोजित राष्ट्रिय अनुकुलन योजना तर्जुमा प्रक्रिया कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री रायले वातावरणीय दृष्टिकोणले यो प्रदेश उच्च जोखिममा रहेको बताए । उनले प्रदेश २ मा वन तथा चुरे विनाशको अवस्था भयावह रहेको जिकिर समेत गरे ।

संघीय सरकारको विभेदपूर्ण नीतिका कारण राष्ट्रिय अनुकुलन योजना तर्जुमा प्रक्रिया निष्प्रभावी हुने उनको आरोप थियो ।  
‘प्रदेश सरकारले वनजंगल जोगाउन लाखौँ रुख विरुवा रोपिरहेको छ, तर संघीय सरकार विमानस्थल निर्माणको नाममा बाराको निजगढस्थित चुरे जंगललाई समाप्त पार्ने खेलमा लागेको छ,’उनले भने । 

मन्त्री रायले संघीय सरकारले निजगढको चुरे वनजंगल क्षेत्र मात्र नभई प्रदेशकै गौरव रहेको सागरनाथ वन परियोजना समेत बलजफ्ती कब्जा गर्न खोजेको आरोप लगाउँदै भोलिका दिनमा त्यहाँ पनि कुनै विकास निर्माणको नाममा समाप्त पार्ने खेल हुनसक्ने आशंका व्यक्त गरेका छन् । 

संघीय सरकारले प्राकृतिक स्रोतहरु नष्ट पार्ने यस्तै रवैया कायम राखे वातावरणीय प्रभावले राष्ट्रिय अनुकुलन योजना निष्प्रभावी भई कागजमा मात्रै सीमित हुने उनको दाबी छ । 

कार्यक्रममा वनविज्ञ सन्तोषमणि नेपालले राष्ट्रिय अनुकुलन योजना प्रभावकारी भए मात्र देश जलवायु परिवर्तनले निम्त्याउन सक्ने संकटबाट मुक्ति पाउने धारणा राखे । वन तथा वातावरण मन्त्रालयका अमरबहादुर ओलीले राष्ट्रिय अनुकुलन योजनालाई प्रभावकारी नबनाइए जलवायु परिवर्तनको प्रभाव आगामी दशकमा अझै व्यापक हुने निश्चित रहेको धारणा राखे । 

जलवायु परिवर्तनका असर मानिस, पूर्वाधार, आर्थिक क्षेत्र तथा प्राकृतिक स्रोतमा बढ्दै गएपछि नेपालले ०६७ सालदेखि नापा र ०७६ सालदेखि लापा तयार गरी कार्यान्वयनमा ल्याएको हो ।



कार्यक्रममा वन, वातावरण तथा कृषिक्षेत्रमा लामो समय अनुभव हासिल गरेका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।



  • प्रकाशित मिति : असोज १७, २०७८ आइतबार २०:४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया