चुरे अभियानीले घेरे प्रदेश २ को मुख्यमन्त्री कार्यालय

चुरे तथा वनजंगल संरक्षण अभियानीहरुले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय घेराउ गरेका छन् । 

प्रदेश सरकारले चुरे अभियानीसँग गरेको सम्झौताअनुसार २१ दिनभित्र छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्नुपर्नेमा सो सार्वजनिक नगरिएको र गैरसुकुम्वासीलाई बाँडिएको जग्गा बदरको मागसहित उनीहरूले मुख्यमन्त्री कार्यालय घेराउ गरेका हुन् । 

स्टेसन एरियाबाट निकालिएको विरोध जुलुस नगरको विभिन्न भागको परिक्रमा गर्दै मुख्यमन्त्री कार्यालयको गेटअगाडि पुगेर कोणसभामा परिणत भएको थियो । 

प्रदर्शनमा सहभागीले सुकुम्वासीलाई न्याय दे, भ्रष्ट वनमन्त्री राजीनामा दे लगायत विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।

कोणसभामा बोल्दै चुरे तथा वनजंगल संरक्षण अभियानका संयोजक सुनीलकुमार यादवले प्रदेश सरकारले २१ दिनभित्र छानबिन प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाए पनि त्यसको पालना नगरेको आरोप लगाए । 

उनले महोत्तरी जिल्लाको भंगहा नगरपालिकास्थित सुकुम्वासीको नाउँमा बाँडिएको जग्गा गैरसुकुम्वासीलाई प्रदान गरिएकोले त्यसको पनि छानबिन गरी गैरसुकुम्वासीले प्रयोग गर्दै आएको जग्गा असली सुकुम्वासीलाई प्रदान गर्नका लागि पहल गर्नुपर्ने बताए ।



अभियानीहरुले मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र समेत बुझाएका छन् । ज्ञापनपत्रमा उल्लेख भएअनुसार भूमी समस्या समाधान गर्ने नाउँमा जिल्लाको ऐलानी पर्तीहरुको साथै वन तथा चुरे वनको हजारौँ हेक्टर जग्गा सुकुम्वासीलाई वितरण गरिए पनि सुकुम्वासीको समस्या जस्ताको त्यस्तै रहेको उल्लेख छ । सो जग्गा ०५४ सालमा सुकुम्वासी आयोग महोत्तरीले  वितरण गरेको देखिएको छ । 

जग्गाको लालपुर्जा गैरसुकुम्वासीलाई बढी वितरण गरिएकोले ०५४ देखि हालसम्म सुकुम्वासी आयोग महोत्तरीले वितरण गरेको जग्गाको लालपुर्जा छानबिन गरी दोषीलाई कानुनी कारबाहीको माग गरिएको छ ।



कार्यक्रममा महोत्तरीका सयौँ पीडित सुकुम्वासीको सहभागिता थियो ।

डिभिजन वन कार्यालय सिरहामा अनियमितता र मारुती सिमेन्टले चुरे वनबुट्यानको जग्गा अतिक्रमण गरी प्रयोग गरेको सम्बन्धमा छानबिन गरी जग्गा फिर्तीका लागि चुरे अभियानी ९ दिनसम्म जनकपुरधामको जनकचोकमा आमरण अनशनमा बसेका थिए । 

अनशनको नवौँ दिनमा प्रदेश सरकारको तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले भदौ ४ गते अनसनकारीसँग ७ बुँदे सम्झौता गर्दै २१ दिनभित्र छानबिन समितिले प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका थिए ।

  • प्रकाशित मिति : असोज १९, २०७८ मंगलबार १७:४६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया