काठमाडौंमा दसैंलक्षित कोभिडविरुद्धको खोप कार्यक्रम सुरु

काठमाडौं महानगरपालिकाले दसैंलगायतका चाडपर्वलक्षित कोभिडविरुद्धको खोप कार्यक्रम सुरु गरेको छ। 

काठमाडौं महानगरपालिका स्वास्थ्य विभागका विभागीय प्रमुख हरि कुँवरले दसैंलगायतका चाडपर्वलाई लक्षित गरेर १८ वर्षमाथिका सबै उमेर समूहका नागरिकहरूलाई कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाउने कार्यक्रम शुक्रबारबाट सुरु गरिएको जानकारी गराएका हुन् ।

३ दिनसम्म चल्ने यो खोप महानगरपालिका अन्तर्गतको ३२ वटा वडाको ३४ स्थानबाट लगाउन पाउने व्यवस्था गरिएको छ । चाडपर्वका कारण भीडभाड हुने र कोभिड-१९ को पनि जोखिम बढ्ने भएकाले त्यसैलाई मध्यनजर राखेर सो खोप कार्यक्रम संचालनमा ल्याइएको काठमाडौं महानगरपालिकाले जनाएको छ । 

महानगरपालिकाका स्वास्थ्य विभागका विभागीय प्रमुख कुँवरले तत्कालका लागि ७० हजार खोप जिल्ला जनश्वास्थ्य कार्यालयबाट व्यवस्था गरिएको र त्यसले नपुगे थप खोपको व्यवस्था पनि हुने बताए । 

उनले भने, ‘काठमाडौं महानगरपालिकाभित्र आज असोज २२ गतेदेखि ३ दिनसम्म चाडपर्वलाई लक्षित गरेर मानिसहरूको भीडभाड हुने अनि सार्वजनिक यातायात आवतजावत गर्दा पनि भीडभाड हुने भएकाले त्यस्ता गतिविधिलाई समेत न्यूनीकरण गर्ने उद्देश्यले पनि यो खोपलाई प्रायोरिटी दिइएको हो । चाडपर्वलाई लक्षित यो खोप कार्यक्रम काठमाडौं महानगरपालिका भित्रका ३२ वटै वडाको ३४ वटा खोपकेन्द्रबाट आज, भोलि र पर्सि ३ दिन पहिलो चरणको भेरोसेल खोप लगाउने कार्यक्रम रहेको छ ।’

काठमाडौं महानगरपालिकाले बिरामी नागरिकहरूलाई भने लाइन नबसी सो खोप लगाउने व्यवस्था मिलाइएको जानकारी गराएको छ । स्वास्थ्य विभागका विभागीय प्रमुख कुँवरले बिरामीहरूका लागि लाइन नबसी सो खोप लगाउने व्यवस्था मिलाइएको बताए । उहाँले पहिलो चरणको यो भेरोसेल खोप लगाउनेहरूलाई दसैंतिहारको बीचमा दोस्रो चरणको खोप लगाउने पाउने व्यवस्था मिलाउने जानकारी समेत दिए ।




काठमाडौं महानगरपालिकाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने कार्यमा सहभागी हुन पनि सबैलाई आह्वान गरेको छ । परिचय पत्र नखुलेका नागरिकले वडा कार्यालयको सिफारिसमा सो खोप लगाउने पाउने व्यवस्था पनि गरिएको स्वास्थ्य विभागका विभागीय प्रमुख कुँवरले बताए ।



  • प्रकाशित मिति : असोज २२, २०७८ शुक्रबार १४:०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया