लोकतन्त्र मजबुत पार्न बलियो मिडिया आवश्यक, सन्दर्भः नोबेल शान्ति पुरस्कार

झण्डै ३२ वर्षअघि म जर्मनीमा थिएँ । र, बर्लिनको पर्खाल ढालिएको विषयमा रिपोर्टिङ गरिरहेकी थिएँ । उक्त घटनालाई पश्चिमी लोकतन्त्र उदारवाद तथा ‘इतिहासको अन्त्य’ का रुपमा हेरिएको थियो ।

तर, अहिले परिस्थिति यसरी बदलिएको छ कि– संसारभरमै लोकतन्त्रको अवस्था ठीक छैन । नोबेल समितिले अक्टोबर ८, २०२१ मा एक शक्तिशाली चेतावनी जारी गरिदिएको छ, जसले लोकतन्त्रको उपरोक्त अवस्थाको रेखांकनसमेत गरेको छ । नोबेल समितिले नोबेल शान्ति पुरस्कार दुई पत्रकारलाई दिने निर्णय गरेको छ । 

नर्वेस्थित नोबेल समितिका अध्यक्ष बेरिट रिस एन्डर्सनले मारिया रेसा र रुसी पत्रकार दिमित्री मुरातोभलाई पुरस्कार प्रदान गर्ने निर्णय गर्दै भने, ‘यी दुई पत्रकार संसारका सबै पत्रकारका प्रतिनिधि हुन् । उनीहरुले लोकतन्त्र र प्रेस स्वतन्त्रताको प्रतिकूल परिस्थितिको निरन्तर सामना गर्नु परेको छ ।’

मुरातोभ १९९३ मा स्वतन्त्र रुसी समाचार पत्र ‘नोभाया गजेटा’ को संस्थापकहरुमध्ये एक हुन् । साथै, फिलिपिन्सको समाचार वेबसाइट ‘र्यापलर’ की प्रमुख कार्यकारी (सिइओ) रेसाले यो सम्मान प्राप्त गर्नु निकै महत्वपूर्ण कुरा हो । 

यी दुवै पत्रकारतर्फ अहिले विश्वको ध्यान मोडिएको छ । यिनले आफ्नोआफ्नो देश चलाउने मजबुत मानिसहरुसँग सधैं नजिकबाट निहुँ खोजिरहे, सर्वसाधारणको पक्षमा आवाज उठाइरहे । उनीहरुले सधैं खतरा मोलिरहे । नोबेल शान्ति पुरस्कारले यी दुई पत्रकारको सुरक्षामा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

नोबेल पुरस्कार घोषणपछि एन्डर्सनले एक साक्षात्कार कार्यक्रममा भने, ‘संसारले हेरिरहेको छ ।’ उनको यो छोटा प्रतिक्रिया नै पर्याप्त छ । यसले दिएको सन्देशको अर्थ निकै गहन पनि छ । एन्डर्सनले थपे, ‘मिडियाविना बलियो लोकतन्त्र हुनै सक्दैन ।’



मुरोतोभको समाचार पत्रका बारेमा समितिले भनेको छ, ‘रुसमा आजको मितिमा यो नै सबैभन्दा बलियो र स्वतन्त्र अखबार हो ।’ यो अखबारका ६ जना पत्रकार रुसी नेता भ्लादिमिर पुटिनको आलोचना गरेको भन्दै मारिएका थिए ।

फिलिपिनी राष्ट्रपति रोड्रिगो दुतेर्तेको शासनमा रेसालाई आर्थिक रुपमा कंगाल बनाउने प्रयास गर्दै अनेकथरिका मुद्दा लगाइएको थियो । उनलाई देशबाहिर जान हरेक पटक न्यायाधीशको अनुमति लिन बाध्य पारिएको थियो ।



एन्डर्सनलाई पुरस्कार घोषणापछि प्रेस स्वतन्त्रताका लागि काम गर्ने संगठनहरु जस्तैः रेसाकै प्रतिनिधित्व गर्ने कमिटी टु प्रोटेक्ट जर्नलिस्टजस्ता संस्थालाई सम्मान नदिएर किन दुईजना पत्रकारलाई चुनिएको हो भन्ने प्रश्न गरिएको थियो । उक्त प्रश्नको जवाफमा उनले भनेका थिए, ‘नोबेल समितिले दुई कामकाजी पत्रकारलाई जानीबुझी सम्मानित गर्न छानेको हो ।’

रेसा र मुरातोभ उच्च श्रेणीका पत्रकार भएको पनि एन्डर्सनले बताएका थिए । ‘यी दुई पत्रकारले पत्रकारिताको स्वर्ण मानकको प्रतिनिधित्व गर्छछ्,’ उनले भनेका थिए, ‘अर्को शब्दमा भन्दा उनीहरु तथ्यको जाँचपड्ताल गर्छन् र सत्य कुरा पत्ता लगाउँछन् ।’

उनले मुक्त, स्वतन्त्र एवम् तथ्यमा आधारित पत्रकारिता सत्ताको दुरुपयोगविरुद्ध आवाज उठाउन सक्षम हुने पनि बताए । 

(काथी किएली मिसौरी स्कुल अफ जर्नालिज्मकी प्राध्यापक हुन् । ‘द कन्भर्सेसन’बाट अनूदित तथा सम्पादित ।) 
 

  • प्रकाशित मिति : असोज २४, २०७८ आइतबार १६:३६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया