मन्त्रीलाई माधवकुमार नेपालको निर्देशनः रक्सी खाने बानी त्याग्नुस्, महिलासँग जोडिएका कुनै कुराहरु सुन्नु नपरोस्

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई इमान्दारीता र कर्तव्य निष्‍ठाका साथ देश र जनताको हितमा काम गर्न निर्देशन दिएका छन् । 

मन्त्रीहरुलाई आइतबार पार्टी केन्द्रीय कार्यालयमा बोलाएर नेता नेपालले निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारजन्य प्रवृत्तिहरूबाट मुक्त हुन सचेत गराएका थिए । 

‘तपाईँहरुले इमान्दारीताका साथ, कर्तव्यनिष्ठताका साथ आफ्नो काम सम्पादन गर्नुहुनेछ भन्ने हामीले अपेक्षा गरेका छौँ । इमान्दारीता र कर्तव्यनिष्ठाको भावनालाई सर्वोपरि राखेर आफ्नो कार्यसम्पादन गर्ने कुरामा तपाईंहरुको ध्यान म आकर्षित गर्न चाहान्छु । काम गर्दाखेरी राष्ट्रको हितलाई र जुन संस्थाको जिम्मेवारी तपाईहरुले सम्हालिरहनु भएको छ,’ अध्यक्ष नेपालले भने । 

कुनै पनि संस्थामा व्यक्तिको छनौट गर्दा व्यक्तिको योग्यता, क्षमता र कार्यसम्पादनमा गरेको उत्कृष्टताको आधारमा गर्न पनि उनले सुझाव दिएका थिए । 

उनले अगाडि भने, ‘काम गर्दाखेरी नीजि स्वार्थ, अनियमितता र भ्रष्टाचारजन्य प्रवृत्तिहरूबाट तपाईहरु मुक्त हुनुपर्छ । त्यो बाट टाढा रहनुपर्छ । आफ्नो योग्यता र क्षमता, कार्यसम्पादनमा उत्कृष्टताको आधारमा नै कुनैपनि व्यक्तिको छनौट गर्ने र जिम्मेवारी दिने कुरामा तपाईहरु लाग्नुहुनेछ । र यसरी व्यक्तिको छनौट आफु खुशी होइन, ती व्यक्तिको योग्यताको पक्ष सुनिश्चित हुनेगरी व्यक्तिको छनौट गर्नुहुनेछ र जिम्मेवारी दिनु हुनेछ ।’ 

अध्यक्ष नेपालले मन्त्रीहरूबाट विवादमा आउने र बदनामी कमाउने कुनैपनि काम हुनु नहुनेमा जोड दिएका थिए । पदीय मर्यादा र गरिमा विपरितका काम नगर्न उनले निर्देशन दिए । 



‘स्वच्छ र सादा जीवन, असल आचरण र संस्कारको अवलम्बन गर्नुहुनेछ । यो मन्त्रीहरु रक्सी खाएर मात्तिए, बेलुका बेलुका फाइभ स्टार होटलमा गएर रक्सी खाइरहेका छन् र आफ्नो क्लाइन्टहरु सँग बसेर यिनै कुरा गरिरहेका छन् भन्नेकुरा सुन्नु नपरोस् । सिधा कुरा, रक्सी खाने बानी छ भनेपनि बानी त्याग्नुस् । अरु आचरण, महिलासँग जोडिएका त्यस्ता कुनै कुराहरु सुन्नु नपरोस् । त्यस्ता व्यवहारहरु तपाईंहरुबाट नहोस्,’ अध्यक्ष नेपालले भने । 

कुनै पनि प्रकारका दूव्र्यसन र आचरणसँग जोडिने काम नगर्न समेत उनले निर्देशन दिए । गठबन्धनको भावना अनुसार अन्य राजनीतिक दलसँग पनि समन्वयमा काम गर्न उनले अनुरोध गरे । 



मन्त्रीहरुको सल्लाहकार, पिए लगायतका राजनीतिक नियुक्ती गर्दा पार्टीसँग सल्लाह गरेर मात्रै गर्नुपर्ने धारणा उनले राखेका थिए । 

‘विज्ञ र अनुभवीहरुसँग नियमित रुपमा राय, परामर्श लिने चलन बसाल्नुपर्छ । तपाईहरुले पाँच दलीय गठबन्धनको भावना अनुरुप अरु दलसित समेत सहकार्य गर्नेगरी आफ्नो कार्यसम्पादन गर्नुपर्ने हुन्छ । सांसदहरु र पार्टीका विभिन्न क्षेत्रका कार्यकर्ताहरूसँग जिवन्त सम्पर्क राख्नुपर्छ । पिएहरु नियुक्त गर्दा पार्टीले नै सबैको परामर्शको आधारमा, सल्लाहकारहरु नियुक्त गर्दाखेरी पार्टीका परामर्शका आधारमा, अन्य जोडिएका अनेक पक्षहरू हुन्छन् ति सबै आफु खुशी, आफ्नो ढंगले गर्ने होइन, त्यस सम्बन्धमा पार्टीको परामर्शको आधारमा चल्ने,’ उनले भने । 

अध्यक्ष नेपालले मन्त्रिपरिषद् बैठकमा आउने विभिन्न विषयवस्तुमाथि अगाडी नै सामुहिक रुपमा बसेर, छलफल गरेर साझा राय बनाएर मात्रै प्रस्तुत हुनुपर्ने बताए ।
सिंगो मन्त्रीपरिषद्ले गर्ने निर्णयको जस अपजसको भागिदार सबै मन्त्री हुने उल्लेख गर्दै उनले  मन्त्रिपरिषद्का विषयवस्तुहरु पार्टीलाई समेत जानकारी गराई, पार्टीको मार्गदर्शन लिएर प्रस्तुत हुन आग्रह गरे । 

  • प्रकाशित मिति : असोज २४, २०७८ आइतबार १५:२९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया