साफ च्याम्पियनसिप : रोमान्चक बन्दै फाइनल दौड

नेपालले साफ च्याम्पियनसिप २०२१ अन्तर्गत आइतबार भएको समूह चरणको तेस्रो खेलमा भारतसँग हार बेहोर्यो । नेपालको यो हारले प्रतियोगिताको फाइनल पुग्ने होडलाई खुल्ला राखेको छ । सहभागी ५ टोली मध्ये श्रीलङ्का ४ खेलमा ३ हार र १ बराबरीको नतिजासहित १ अङ्क जोडेर प्रतियोगिताबाट बाहिरिँदा अन्य ४ टोलीबीच भने फाइल प्रवेशका लागि कडा टक्कर चिरिरहेको छ । 

यस्तो छ ४ टोलीको फाइनल पुग्ने समीकरण: 
नेपाल
भारतसँगको हारका बाबजुद पनि नेपाल ३ खेलमा ६ अंकसहित शीर्ष स्थानमा  कायमै छ । नेपालले हालसम्म ४ गोल गर्दा ३ गोल खाएको छ । पहिलो खेलमा माल्दिभ्सलाई १–० र दोस्रो खेलमा श्रीलङ्कालाई ३–२ ले पराजित गरेको नेपालले तेस्रो खेलमा भने भारतसँग १–० को पराजय बेहोरेको थियो ।

नेपालले समूह चरणको अन्तिम खेलमा बङ्गलादेशको समाना गर्दैछ । यो खेलमा जित वा बराबरी नेपाललाई फाइनल पुग्न पर्याप्त हुनेछ । बङ्गलादेशसँग हार बेहोरेको खण्डमा भने नेपालको यात्रा समाप्त हुनेछ । 

माल्दिभ्स
३ खेलमा समान ६ अंक भए पनि माल्दिभ्स नेपालसँग ‘हेड टु हेड’ नतिजाका आधारमा दोस्रो स्थानमा छ । प्रतियोगिताको आयोजक तथा साविक विजेता माल्दिभ्सले हालसम्म ३ गोल गर्दा १ गोल बेहोरेको छ ।

पहिलो खेलमा नेपालसँग १–० को हार बेहोरेको माल्दिभ्सले दोस्रो खेलमा बङ्गलादेशलाई २–० र तेस्रो खेलमा श्रीलङ्कालाई १–० ले पराजित गरेको थियो ।
माल्दिभ्सले समूह चरणको अन्तिम खेलमा भारतको समान गर्नेछ । यो खेलमा जित वा हारको नजिता निकाले उसले फाइनलमा स्थान सुरक्षित गर्नेछ ।
भारतसँगको हार बेहोरेको खण्डमा भने माल्दिभ्स समूह चरणबाटै बाहिरिने छ । 

भारत
३ खेलमा ५ अंक जोड्दै भारत तेस्रो स्थानमा छ । उसले हालसम्म २ गोल गर्दा १ गोल खाएको छ । साफ इतिहासको सबैभन्दा सफल टोली भारतले यसपटक भने सोचे अनुरुपको प्रदर्शन गर्न सकिरहेको छैन । 



पहिलो खेलमा बङ्गलादेशसँग १–१ र दोस्रो खेलमा श्रीलङ्कासँग गोलरहित बराबरीमा रोकिएको भारतले तेस्रो खेलमा भने नेपालमाथि १–० को जित हात पारको थियो ।

भारतले समूह चरणको अन्तिम खेलमा माल्दिभ्सको समाना गर्दैछ । फाइनल पुग्न उसलाई यो खेल जित्नुको विकल्प छैन । माल्दिभ्सविरुद्ध हार वा बराबरीको नजिता निकाले भारतको यात्रा समूह चरणमै सिमित बन्नेछ । 



बङ्गलादेश
३ खेलमा ४ अंक जोडेको बङ्गलादेश चौथो स्थानमा छ । उसले हालसम्म २ गोल गर्दा ३ गोल खाएको छ । पहिलो खेलमा श्रीलङ्कालाई १–० ले पराजित गरेको बङ्गलादेशले दोस्रो खेलमा भारतसँग १–१ को बराबरी खेलेको थियो ।

तेस्रो खेलमा माल्दिभ्ससँग २–० को हार बेहोरेको बङ्गलादेशले समूह चरणको अन्तिम खेलमा नेपालको सामना गर्दैछ । बङ्गलादेशलाई फाइनलमा स्थान बनाउन नेपालविरुद्ध जित्नै पर्ने दबाब छ । अन्यथा उसको यात्रा समूह चरणमै सिमित बन्नेछ । 

फाइनल समीकरणलाई हेर्दा नेपाल र माल्दिभ्स केही सहज अवस्थामा देखिन्छन् । उनीहरुका लागि फाइनल पुग्न बराबरी नै पर्याप्त हुनेछ । भारत र बङ्गलादेशलाई भने फाइनल पुग्न जितको विकल्प छैन तर यी चार टोलीको टक्कर भने हेर्न लायक छ ।

माले स्थित नेशनल स्टेडियममा जारी साफको समूह चरणका अन्तिम खेल बुधबार हुँदैछन् । नेपाल र बङ्गलादेश बीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ५ र माल्दिभ्स र भारतबीचको खेल राति पौने १० बजे हुनेछ । यी दुई खेलले नै १३ औँ सँस्करणको साफ च्याम्पियनसिपमा फाइनल पुग्ने टोलीको टुङ्गो लगाउनेछ ।   

  • प्रकाशित मिति : असोज २५, २०७८ साेमबार १३:२३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया