प्रदेश ५ पर्यटन गुरुयोजनाकाे तयारीमा

परासी- प्रदेश ५ को सरकारले पर्यटन प्रवर्धनका लागि गुरुयोजना निर्माण थालेको छ । त्यसका लागि विज्ञ, लगानी बोर्ड तथा केन्द्रीय सरकारसँग निरन्तर छलफल भइरहेको प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।

नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी नेपाल पर्यटन पत्रकार महासंघ केन्द्रीय समितिले थालेको ‘अतिथि देवो भवः’ राष्ट्रिय अभियानको पश्चिम नवलपरासीको सुनवलमा आयोजित जिल्लास्तरीय साक्षात्कार कार्यक्रममा मन्त्री चौधरीले समृद्धिको आधार नै पर्यटन र कृषि भएकाले यिनै क्षेत्रमा केन्द्रित भएर प्रदेश सरकारले गुरुयोजना बनाउने बताए । 

मन्त्री चौधरीले प्रदेश ५ को समृद्धिको स्रोत पनि पर्यटन र कृषि नै भएको बताए । कृषिलाई आधुनिकीकरण गर्दै स्वरोजगार सिर्जना गर्ने र अधिक मात्रामा पर्यटक कसरी भित्र्याउन सकिन्छ भन्ने विषयमा प्रदेश सरकार छलफलमा रहेको उनले बताए । भ्रमण वर्ष २०२० लाई लक्षित गरी प्रदेश सरकारले विद्युतीय र पर्यटकीय बस सञ्चालनको योजना बनाएको मन्त्री चौधरीले जानकारी दिए । 

उनका अनुसार लुम्बिनी बुद्ध सर्किटमा यसै वर्षदेखि विद्युतीय तथा पर्यटकीय बस सञ्चालनमा आउनेछ भने भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएलगत्तै पश्चिममा स्वर्गद्वारी हुँदै बर्दियाको ठाकुरद्वारी र पूर्वमा रामग्राम हुँदै त्रिवेणीसम्म विद्युतीय र पर्यटकीय बस सञ्चालन गर्ने प्रदेश सरकारको तयारी छ ।

सरकारले वार्षिक २० लाख पर्यटक भित्र्याउने उद्घोषका साथ सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेकाले सरकारको यो योजना सफल पार्नु सबैको दायित्व हुने भन्दै पर्यटन पत्रकार महासंघका केन्द्रीय अध्यक्ष धनीराम शर्माले सरकारको यो अभियानमा हातेमालो गर्न महासंघले अहिले देशका ७७ वटै जिल्लामा अतिथि देवो भवः राष्ट्रिय अभियान थालेको बताए । 

सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापाले नवलपरासी जिल्ला पर्यटनको हिसाबले प्रचुर सम्भावना रहे पनि ती क्षेत्रको विकासमा राज्यले ध्यान नदिएको बताउँछन् । उनले सुनवललाई पर्यटनको नगरी बनाउने गरी स्थानीय सरकारले काम गरिरहेको पनि जानकारी दिए । 





  • प्रकाशित मिति : कात्तिक १३, २०७५ मंगलबार ९:३५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया