कानुनको ढोकामा
फ्रान्क काफ्का
फरकधार / ६ कात्तिक, २०७८

-फ्रान्क काफ्का 



कानुनको ढोकामा एक पहरेदार उभिएको थियो । त्यो देशको एक आममानिस उसको नजिक आएर कानुनको समक्ष पेस हुनका लागि इजाजत माग्छ । तर पहरेदारले उसलाई भित्र प्रवेश गर्न दिँदैन । 

मानिस सोचमग्न हुन्छ । फेरि सोध्छ- ‘के  केही समयपछि मेरो कुरा सुनिनेछ ?’

‘हेरौँ अब’, पहरेदारले भन्छ, ‘तर यो समयमा हुँदैन ।’



कानुनको ढोका सधैंझैं आज पनि खुला नै छ । मानिसले भित्र नजर लगाउँछ ।  मानिसको गतिविधिले पहरेदार हाँस्न लाग्छ- 'मैले निषेध गर्दा पनि तिमी भित्र जानका लागि उत्साहित भइरहेका छौ भने कोशिस गरेर हेर न; तर याद राख्नु- म निकै कडा छु; तर म अरू पहरेदारभन्दा निकै सानो छु । यहाँ एक कक्षदेखि अर्को कक्षसम्म हर ढोकामा एक पहरेदार छन् र हर पहरेदार एक अर्कोदेखि शक्तिशाली छन् । केहीको अगाडि जानका लागि मसँग पनि हिम्मत छैन ।’

पहरेदारले उसलाई ढोकाको एक छेउमा रहेको स्टुलमा बस्न दिन्छ । ऊ निकै दिनसम्म बसिरहन्छ । बस्दाबस्दै वर्षाैं बित्छन् । यसै क्रममा भित्र जानका लागि ऊ पहरेदारसँग धेरै पटक अनुरोध गर्दछ । पहरेदारले बीचबीचमा अन्दाजमा उसको घरपरिवार लगायत अन्य विषयमा प्रश्न सोध्न थाल्दछ, तर हरेक पटक उसको कुराकानी भित्र छिर्न नदिने निर्णयको साथसाथै सकिन्छ । 

मानिसले यात्राका लागि जुन-जुन सामग्री जम्मा गरेको थियो र उसको साथमा भएका सबै वस्तु पहरेदारलाई खुसी पार्नका लागि खर्च गर्दछ । पहरेदारले सबैथोक यसरी स्वीकार गर्छ कि मानौँ उसले उसमाथि उपकार गरिरहेको छ । 

वर्षौंसम्म आशाले भरिएका आँखाले पहरेदारमाथि हेर्दै गर्दा ऊ अर्को पहरेदारको बारेमा भुल्छ । कानुनको ढोकासम्म पुग्नका लागि बाटोमा एकमात्र पहरेदार रोकावट बनेको थियो ।

उमेर बढ्दै जाँदा उसले मनमनै पहिलाका दिनहरू सम्झन्छ । बच्चाजस्तो व्यवहार गर्छ अनि कैयौं वर्षसम्म देखेर बुझेको पहरेदारको घाँटीमा भएको फुर कलरमा किरा देख्छ । उसले उक्त किरालाई आफूलाई भित्र जानका लागि मनाइदिन आग्रह पनि गर्दछ । 

अन्तत: उसको आँखाले चारैतिर अँध्यारो देख्न थाल्छ । उसले संसार पहिलेदेखि नै यस्तै थियो कि आफ्नो आँखा कमजोर भएको हो भनी छुट्याउन सक्दैन । 

अझै पनि ऊ चारैतिर अँध्यारोको बीचमा पनि कानुनको ढोकाबाट आएको प्रकाशलाई महसुस गर्दछ । 

ऊ आफ्नो नजिक आउँदै गरेको मृत्युलाई महसुस गर्न थाल्छ । मर्नुभन्दा अगाडि जुन प्रश्नले उसलाई वर्षौं अल्झाएको थियो, त्यो प्रश्न पहरेदारलाई सोध्न चाहन्छ । उसले हातको इसाराले पहरेदारलाई बोलाउँछ । किनकि ऊ उठ्न सक्दैन, बस्दाबस्दा उसको शरीर जकडिएको हुन्छ ।  

पहरेदारलाई उसप्रति झुक्नुपर्दछ किनकि उसको कद होंचिदै गएकाले ऊ निकै पुड्को हुन्छ । 

'अब तिमी के जान्न चाहन्छौ ?', पहरेदारले सोध्छ,'तिम्रो चाहनाको कुनै अन्त्य छ र ?' 

'कानुन त सबैका लागि हुन्छ', मानिसले भन्छ,'तर मैले यो बुझ्न सकिनँ कि यत्रो वर्षसम्म पनि मबाहेक अर्को मानिसले यहाँ प्रवेश गर्नका लागि कुनै निवेदन दिएन ? '

पहरेदारलाई बुझ्न धेरैबेर लागेन कि उसको अन्तिम घडी आइसकेको छ भनेर । अनि उसले मानिसको कानमा गई जोडले चिच्याउँछ,'अर्को मानिसका लागि यहाँ प्रवेश गर्नु कुनै मतलब थिएन । किनभने कानुनसम्म पुग्नका लागि यो ढोका तिम्रै लागि मात्र खुलेको थियो । अब म यो ढोका सदाका लागि बन्द गर्न जाँदैछु ।

  • प्रकाशित मिति : कात्तिक ६, २०७८ शनिबार १३:४४:३३,   अन्तिम अपडेट : कात्तिक ६, २०७८ शनिबार १३:५९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया