सिके राउतको पार्टीले गर्‍यो आन्दोलनका कार्यक्रम सार्वजनिक

सिके राउत नेतृत्वको जनमत पार्टीले आफ्ना नेता कार्यकर्तालाई रिहाइ गर्नुपर्ने माग गर्दै सोमबारदेखि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

गत बिहीबार संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरधामका निमित्त प्रमुख राजेश कुशवाहामाथि जनमत पार्टीका कार्यकर्ताहरुले दुर्व्यवहार गरेपछि प्रहरीले जनमतका १७ जना नेता कार्यकर्तालाई पक्राउ गरि मुद्दा दर्ता गरेको छ । 

जनमतका कार्यकर्ताले प्रमुख कुशवाहालाई कालोमोसो र हिलो दलेर जनकपुरधाम नगर परिक्रमा गराएका थिए । 

जनमतले पहिलो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत कात्तिक ८ गते सोमबार जिल्लास्तरीय बैठक राख्ने, जिल्लामा आन्दोलन समिति बनाउने, जिल्ला कार्यकारिणी समितिबाट हरेक पालिकालाई आन्दोलनका लागि तयार गर्न अनुगमन अधिकारी तोक्ने र हरेक जिल्लाको सदरमुकाममा सिटी जुलुस निकाल्ने कार्यक्रम तय गरेको छ । 

त्यस्तै, मंगलबार गाउँपालिका स्तरीय बैठक राख्ने, पालिका स्तरीय आन्दोलन समिति बनाउने, पालिकामा बाइक र्याली गर्दै नारा माइकिङ गराउने, बुधबार हरेक वडामा आन्दोलन समिति बनाउने, वडामा कोणसभा गर्ने र मसाल जुलुस निकाल्ने, बिहीबार वडामा युवा दस्ता प्रशिक्षण दिने, शुक्रबार जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्ने लगायतका कार्यक्रम तय गरेको हो । 

जनमतले कात्तिक १३ गते शनिबार अधिवेशनका कार्यक्रम  सम्पन्न गर्ने, कार्तिक १४ गते आइतबार केन्द्रीय कार्यकारिणी समिति र जिल्ला कार्यकारिणी समितिको बैठकले आन्दोलन समीक्षा गरी आन्दोलनको थप कार्यक्रम ल्याउने, कात्तिक १५ गते सोमबार गाउँपालिकाको ठूलो बजार र हटियाहरूमा कोणसभा गरेर आन्दोलनका मागहरू जनता समक्ष अवगत गराउने र कात्तिक १६ गते मंगलबार वडा तथा टोलहरूमा कोणसभा गर्ने पार्टी अध्यक्ष राउतले जनाएका छन् ।



घटनापछि पक्राउ परेका जनमतका १७ जना नेता कार्यकर्तामाथि सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत धनुषामा अपराधी प्रवेश तथा अपराधिक उपद्रव शीर्षकमा मुद्दा चलाइएको धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । 

मुद्दा चलाइएका पार्टी कार्यकर्ताहरू सिरहा, सर्लाही र महोत्तरी जिल्लाबासी हुन् । 



  • प्रकाशित मिति : कात्तिक ७, २०७८ आइतबार १९:४१:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया