सिनामंगलबाट पक्राउ ११ अफगानी एक महिनादेखि थिए काठमाडौंमा

‘सिनामंगलको फेसबुक होटलमा अफगानी नागरिक जस्ता देखिने केही व्यक्ति बसिरहेका छन् ।’

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले यही सूचनालाई आधार बनाएर एउटा टोली सिनामंगल पठायो । नभन्दै त्यहाँको होटलमा ११ जना बसिरहेका रहेछन् ।

प्रहरीले सोधपुछ सुरु गर्यो ।

उनीहरुले आफूहरु बंगलादेशबाट नेपाल आएको बताए । सिआइबी प्रवक्ता एसपी श्यामकुमार महतोले फरकधारलाई दिएको जानकारीअनुसार त्यसपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

अहिलेसम्म प्रहरीले उनीहरु नेपाल कसरी आइपुगेका हुन् भन्नेबारे पूर्ण जानकारी पाइसकेको छैन । तर, उनीहरु अफगानिस्तानबाट भारत हुँदै सुनौली नाकाबाट नेपाल छिरेको चाहिँ एकिन भइसकेको छ ।

३ महिला र ८ पुरुष उनीहरु अहिले प्रहरी नियन्त्रणमा छन् । यीमध्ये एकै परिवारका हुन्, पाँच जना । उनीहरुसँग भारतीय आधार कार्डजस्तो देखिने परिचयपत्र पनि नेपाल प्रहरीले बरामद गरेको छ । तर, यी परिचय पत्र सक्कली हुन् या नक्कली भन्नेबारे प्रहरी सोधपुछकै क्रममा छ ।



प्रहरीले उनीहरु नेपालमा आएको जानकारी आइतबार मात्र पाए पनि यी ११ जनामध्ये केही झन्डै एक महिनाअघि नै नेपाल आइपुगेका थिए ।

‘उनीहरुमध्ये केही २५–३० दिनअघि नै नेपाल आएर होटलमा बसिरहेका रहेछन्, केही पाँच दिनअघि मात्र काठमाडौं आएका रहेछन्,’ एसपी महतोले भने ।



सिआइबीले गोप्य सूचनाका आधारमा गरेको छापामारीमा उनीहरु पक्राउ परेपछि उनीहरुले अफगानिस्तानमा तालिबानले कब्जा जमाएपछि त्यसको डरमा नेपाल आइपुगेका बताएका छन् । सोधपुछपछि सिआइबीले उनीहरुलाई अध्यागमन विभागको जिम्मा लगाउने तयारी गरेको छ ।

उनीहरुलाई नेपालस्थित संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्चायुक्तको कार्यालयले गुपचुप राखेको हुनसक्ने अनुमान गरिएको छ । युएनएचसिआरले उनीहरुको काठमाडौंको बसाइको सम्पूर्ण व्यवस्थापन गर्दै आएको पनि प्रहरीले जनाएको छ ।

प्रहरीले चाहिँ खुला सीमा नाका भएका कारण उनीहरु नेपाल आएको विषयमा जानकारी राख्न नसकिएको बताएको छ । ‘अफगान, बंगलादेशी, पाकिस्तान, भारतलगायतका देशका नागरिक उस्तैउस्तै हुन्छन्,’ एसपी महतोले भने, ‘सीमा खुला भएकाले उनीहरु सहजै नेपाल छिर्छन् ।’

अफगानीहरु नेपाल आएको थाहा पाएपछि सीमानाकामा आफूहरुले कडा निगरानी सुरु गरेको पनि सुरक्षा निकायले बताएका छन् । गृह मन्त्रालयले पनि थप अफगानीहरू नेपाल आउन सक्ने सम्भावना रहेको भन्दै दक्षिणी सीमा क्षेत्रमा कडा निगरानी गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ । गृहप्रवक्ता फणिन्द्रमणी पोखरेलले नेपाल आएकाहरूमाथि अध्यागमन कानून अनुसार कारवाही हुने बताए । 

यसअघि गत असोज पहिलो साता १४ जना रोहिंग्याहरू काठमाडौं आएका थिए । तीन जना दलालहरूले उनीहरू बंगलादेशबाट नेपाल ल्याएका थिए । लामो समयदेखि काठमाडौंको कपनमा रहेको रोहिंग्या शरणार्थी शिविर नजिकै बसोबास गर्दै आएका थिए । रोहिंग्या शरणार्थीहरूकै सूचनाको आधारमा सीबीआईले तीन जना दलाल र १४ जना रोहिंग्यालाई नियन्त्रणमा लिएको थियो । उक्त घटना सेलाउन नपाउँदै फेरी ११ जना अफगानी नागरिक नेपाल आएको पाइएको हो ।

  • प्रकाशित मिति : कात्तिक ८, २०७८ साेमबार १२:५६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया