शाहरुख खानको भारत
काभेरी बमजाई
फरकधार / ९ कात्तिक, २०७८

भारतको संस्कृतिलाई संसारभर चिनाउने र फैलाउने सबैभन्दा महत्वपूर्ण पात्रमध्ये एक हुन्, शाहरुख खान । यो नामको लिजेन्डमा तीन चिज अन्तर्निहित छ । 



यसमा सामेल छ त्यो घर, जसलाई यी अभिनेताले समुद्री किनारामा आफ्ना लागि बनाए । यो घरबारे उनले कुनै बखत कसम खाएका थिए– त्यो घरमा कुनै दिन राज गर्नेछु ।

उनको परिवार खुसीखुसी, आनन्दमय र उज्यालिएको थियो । उनले १५ वर्षमा माता र २६ वर्षमा पिता गुमाएका थिए । त्यसपछि उनले कडा मेहनत गर्न थाले । इमानदारी र प्रतिष्ठायुक्त तीन दशक लामो करिअरमा उनी मानिसको नजरमा बलियो छाप पार्न सफल रहे । प्रतिष्ठा र इमानदारी हुँदाहुँदै पनि उनले कयौं अधिकारसम्पन्न मानिससँग संघर्ष गर्नुपर्यो । त्यसको आरम्भ जामिया मिलिया इस्लामिया प्रबन्धनसँगको भिडन्तबाट हुन गयो । 

उक्त प्रबन्धनले कम उपस्थितिको कारण देखाउँदै उनलाई परीक्षा दिनबाट रोक लगायो । पछिल्ला दुई साता शाहरुखले निर्माण गरेका सारा कुरालाई एकैसाथ नष्ट–भ्रष्ट गर्ने कोशिस गरिएको छ ।



हालै नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)का अधिकारीहरुले आफ्नो कागजी कारबाही पूरा गर्नका लागि ‘मन्नत’ प्रवेश गरे । र, त्यो कारबाहीलाई मिडियाले ‘उनको घरमा छापा मारेको’ रुपमा प्रस्तुत गर्यो । यो एउटा त्यस्तो घर हो, जसमाथि शाहरुख गर्व गर्छन् । 

विरासतमा प्राप्त पुरानो सम्पत्तिमा निर्माण गरिएको उक्त घरका प्रत्येक कुनामा उनको फिल्म, विज्ञापन, विवाह र संगीत समारोहमा उनले गरेको नृत्यका तस्बिर टाँसिएका छन् । यी वस्तुहरु एक व्यक्तिले जीवनमा गरेको कडा मेहनतका परिणाम हुन् । यिनले आफ्नो बाल्यकाल र युवावस्था भाडाको घरमा बिताएका थिए ।

शाहरुखको परिवारमा उनका तीन बालबच्चा (जसलाई उनी आँखाको रोशनी मान्छन्) र उनकी पत्नी छन् । उनकी पत्नीलाई कुनै समय पारिवारिक मूल्यको प्रतिमान स्वरुप ‘द फ्याबुलस लाइभ्स अफ बलिउड वाइभ्स (नेटफ्लिक्स) जस्ता सोको हिस्सा बनाइएको थियो । यो दम्पत्तिलाई अहिले आफ्नो सन्तानको हेरचाहको सवालमा राष्ट्रिय स्तरमा बदनाम गरिँदै छ ।

उनीहरुको टिप्पणी र बयानभन्दा बाहिरको कुरा जोडेर पेस गरिँदै छ । चाहे उनीहरुका पुत्र बढीमा दुई वर्षको हुँदा सिमी गरेवालसँग भनिएको कुरा (जसमा ड्रग्स प्रयोग गर्ने कुरा सामेल छ) वा उनकी पत्नी गौरी खानले डेभिड लेटरम्यानसँग ‘आफू बालबच्चाका बारेमा चिन्ता त गर्ने तर कठोर नियन्त्रणमा राख्ने अभिभावक नभएको’ बताएको सन्दर्भ नै किन नहोस् ! 

एउटा होसियार र जिम्मेवार पारिवारिक व्यक्तिका रुपमा चिनिएका शाहरुखको प्रतिष्ठा यतिखेर टुक्राटुक्रा हुन पुगेको छ । परिवार सञ्चालनका सन्बन्धमा उनका बारेमा भनिन्थ्यो– ‘म शाहरुख खानको मिथकको दास हुँ’, अहिले त्यही मिथकमाथि गम्भीर चोट पुर्याइएको छ ।

संसार जहाँ टोल पपी सिन्ड्रोम (सार्वजनिक जीवनमा उल्लेखनीय ख्याति हासिल गरेका व्यक्तिलाई बदनाम या अपमानिस गर्ने एक कथित प्रवृत्ति) को डिफल्ट सेटिङ हुन गएको छ । चर्चा होस् कि ख्याति, सबैजना समान हुनुपर्छ भन्नेका अघिल्तिर शाहरुखले स्वयम्लाई टोल पपीका रुपमा स्थापित गरेका छन् । 

उनले आफू स्वयम्लाई सम्मानित गर्ने सिनेमामा अभिनय मात्रै गरेका छैनन्, लेटरम्यानजस्ता एंकरदेखि अमेजनका जेफ बेजोससम्म उनले साक्षात्कार गरेका छन् । उनले आफ्नो स्टारडमलाई सधैं नै अगाडि बढाउँदै आएका छन् ।

यतिमात्र होइन, उनको स्टारडम सर्व समावेशी छ । अभिनय गर्दा छुट्टै ढंगमा हात फैलाउने उनको चर्चित शैली छ । सिनेमामा उनले मुस्लिम, महिला तथा एलजिबिटिक्यु (लेस्बियन, गे, बाइसेक्सुअल, ट्रान्सजेन्डर र क्वियर) समुदायको प्रतिनिधित्व पनि गरेका छन् । 

बलिउडलाई १९९८ मा उद्योगको दर्जा दिइयो, त्यसपछि भारतीय जनता पार्टीको निशानामा परे । यदि बलिउडका माध्यमबाट सारा संसारलााई एक नयाँ भारतको विचार फैलाउने वा बेच्ने हो भने, पुराना प्रतीकलाई धराशायी गर्नै पर्छ । र, त्यसका निम्ति नयाँ स्टारहरु र नयाँ कथा निर्माण त हुनै पर्छ ।

यी स्टारका लागि यो समय निकै कष्टकर छ, यिनी सबै घटनाबारे चुपचाप छन् । कानुनी लडाइँको विकल्प चुन्ने निर्णयमा पुगेका छन् । उनी कसैसँग सहानुभूति मागिरहेका छैनन् । आफ्ना निम्ति समर्थन जुटाउने या माफी माग्न आवाज निकालिरहेका पनि छैनन् । तर पनि उनी जनताको नजरमा परिरहेका छन् । उनी र उनकी पत्नीको पीडा सबैसामु चर्चा, बहस र होहल्लाका रुपमा प्रदर्शिन भई नै रहेको छ । 

तर पनि मानिसको गुण निर्विवाद रुपमा कायमै रहन्छ । हामी तीव्र ढंगमा कसैका बारेमा कुनै पनि निर्णयमा पुगिहाल्छौं । विशेषगरी ती हस्तीका बारेमा, जसलाई हामी निकै मन पराउँछौं । हामी सिनेमाघरमा देखाइने शाहरुखको सिनेमाको प्रशंसा गरिहाल्छौं या गौरी खानको नवीन घरेलु डिजाइन कुनै लाइफस्टाइल पत्रिकामा देखेर खुसी भइहाल्छौं ।

हामी निकै धनाढ्य व्यक्तिसँग कसरी व्यवहार गर्ने भन्नेबारे सोच्छौं र पूरा कोसिस गर्छौं । हामी जीवन जिउने उत्तम तरिका अपनाउन चाहन्छौं, साथै उत्तम ढंगको जीवन व्यतित गरिरहेका मानिसको इर्स्या पनि गर्छौं । जब तपाईं बलिउड स्टारकी पत्नीको शानदार जीवनमा आधारित फ्याबुलस लाइभ्स अफ बलिउड वाइभ्स हेर्नुहुन्छ, तब गौरी खानले केटीहरुले कुरा गर्ने शैलीका बारेमा आफ्नो भनाइ राख्दा नाक पनि खुम्चाउनु हुन्छ ! उनको लामो समयदेखिकी साथी महिप कपूर भन्छिन्, ‘उनी (गौरी) ती महिला हुन् जसले एउटा यस्तो पुरुषसँग विवाह गरिन्– जो एकजना मेगा–मेगा सुपरस्टार हुन्, तर पनि उनी कहिल्यै पतिको छायाँमा तल परिनन् ।’

सम्मानमा प्रायः आक्रोशको विषको अंश पनि रहन्छ र यही नै हाम्रो सबैभन्दा प्रिय स्टारका साथ सम्बन्धको आधार पनि बनिदिन्छ । जस्तैः अमिताभ बच्चन, उनी चुपचाप कसैलाई भेटे (दर्शन दिएपछि) पछि या अप्रासंगिक ढंगमा ट्विट गरेपछि बाहिर निस्कन्छन् । तर शाहरुखले बिल्लू (२००९) मा आममानिसको यही फ्यान्टेसीलाई अमर बनाइदिए । 

उनले ‘दशर्न दिने’ मामिलालाई फ्यान (२०१६) सिनेमाको पर्दामा पेश गरिदिए । र, यो वर्ष डिज्नी प्लस हटस्टार विज्ञापनमा यसको खिल्ली पनि उडाइयो, जसले यी अभिनेताको चन्चलताबारे पुनः मानिसहरु आश्चर्यचकित भए । 

शाहरुख खान नै भारत थिए

शाहरुख कुनै एक्सिडेन्टल स्टार (संयोगवश ख्याति कमाएका कलाकार) होइनन् । उनको स्टारडम यस्तो छ, जसलाई उनले सोचेर, बुझेर अनि शानदार ढंगमा विकसित गरेका छन् । उनले सधैं आधुनिक बलिउडका सबैभन्दा चम्किला तारा अमिताभ बच्चनविरुद्ध आफ्नै क्षमता नापिरहे र त्यसलाई गहिरो पारिरहे । उनले सिनेमाको विरासत सम्झेर प्रतिष्ठित फिल्मको रिमेकमा काम पनि गरिसकेका छन् । चाहे त्यो अमिताभको डन होस् या दिलिप कुमारको देवदास ।

उनका समकालीन थुप्रै स्टारहरुमध्ये उनकै बारेमा पुस्तक पनि धेरै लेखिसकिएको छ । त्यस्ता किताबमा उनको सिनेमाको विश्लेषणका साथै उनका अन्य कुरा र संसारका महिला उनीप्रति आकर्षित भएका सन्दर्भसमेत उल्लेख छन् । फिल्म चक दे इन्डिया (२००७) मा उनका सहयोगी शाहरुखको भूमिकाबारे भन्छन्, ‘एक गल्ती त सबैलाई माफीयोग्य हुन्छ ।’ शाहरुख त्यसलाई तिरस्कार गर्दै, तर मुस्कानका साथ भन्छन्, ‘सबैलाई ? यो फिल्ममा, यो संवादको आशय के हो भने– भारतको सार्वजनिक जीवनमा एक मुस्लिमलाई अतिरिक्त सतर्क रहनुपर्छ । उसको या उसको परिवारको चरित्रमा रत्तिभर दाग लाग्नुहुँदैन ।’

शाहरुखले यसअघि पनि परिवर्तनको सामना गरिसकेका छन् । ९० को दशकमा उनले हामीलाई भनेका थिए– मन्दिर, मार्केट र मण्डलका तीन ‘एम’ सँग कसरी जुध्न सकिएला र ! प्रेम नै सबथोक हो । आफ्ना लागि, परिवारका लागि देशका लागि प्रेम ।

अहिले त संसार महामारीको चपेटामा छ, सिनेमा उद्योगमा पुराना निश्चितताहरुको अन्त्य हुँदै गएको छ । र, नयाँ जन्मन बाँकी नै छ । आफ्नो महत्वाकांक्षी फिल्म जिरो (२०१८) फ्लप भएपछि शाहरुखले आत्मनिर्वासनमा बस्न एक वर्ष छुट्टि लिएका थिए । तर कोरोना महामारीको लकडाउनका कारण तीन वर्षको लामो ब्रेक हुने अवस्था आएको छ ।

उनले यश राजको फिल्म पठानबाट ब्रेक तोड्न खोजेको थिए । इटलीको थ्रिलर मुभी र राजकुमार हिरानीको इमिग्रेसन ड्रामामा आधारित फिल्मको शृंखला पूरा गर्ने मुड बनाएका थिए, यसैबाट दर्शकलाई मोहनी लगाउने उनको योजना थियो । तर उनको पारिवारिक संकटका कारण पहिला दुई फिल्मको सुटिङ बीचमै रोकिएको छ । उनका एक मित्र भन्छन्, ‘उनले भनेका छन् कि, उनी एकदम ठीकठाक छन् । उनी कुनै मद्दत चाहँदैनन् । उनी सबैखाले कानुनी विकल्पको सहारा लिन तयार छन् ।’

शाहरुख ती संस्थानहरु र लोकाचारबाट उत्पन्न एक प्रोडक्ट (व्यक्ति) हुन्, जसले भारतलाई एउटा गौरवशाली लोकतन्त्र बनाउँछन् । भारतको मिसनरी स्कुल, जो समानतावादको पाठ सिकाउँछ । यसको अनुदानमा आधारित कलेज शिक्षा, जो समावेशिता सिकाउँछ । यसको अव्यावसायिक रंगमन्च, जहाँ तपाईं कडा मेहनतबाट अभिनय सिक्न सक्नुहुन्छ । 

यो एउटा यस्तो संसार थियो, जसमा शिक्षा तपाईंको विशेषाधिकार थियो र त्यसले तपाईंलाई संसारभर प्रवेश दिलाउन सक्थ्यो र तपाईं आफ्नो पछाडिका संसारभरका ढोका बन्द गरिदिन सक्नुहुन्थ्यो । नयाँ भारतमा तपाईंबाट त्यो ढोका खुल्ला राख्ने अपेक्षा गरिन्छ । यदि तपाईं त्यसो गर्न सक्नुहुन्न भने, यसलाई नष्ट गर्न जोसुकैले पनि सक्छ । यस्तो गर्नका लागि नष्टकर्ताले हरेक कानुनी किताब, हरेक कानुन, हरेक नीतिनियमको प्रयोग गर्न सक्छ ।

(बामजाई वरिष्ठ भारतीय पत्रकार हुन् । ‘दिप्रिन्ट’बाट अनूदित तथा सम्पादित ।)
 

  • प्रकाशित मिति : कात्तिक ९, २०७८ मंगलबार १५:३२:५८,   अन्तिम अपडेट : कात्तिक १०, २०७८ बुधबार २०:२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया