निजी वायुसेवा कम्पनी बुद्ध एयरको असोज ११ गते ‘ल्यान्डिङ गियर प्राइमरी इन्डिकेटर’ मा समस्या देखिएपछि विराटनगर उडेको जहाज त्रिभुवन विमानस्थलमा पुनः अवतरण भएको थियो ।
पाइलट आङ गेलु शेर्पाले करिव दुई घण्टा आकाशमा जहाज होल्ड गरेर अन्तत सुरक्षित रूपमा ७७ जनालाई अवतरण गराए । तर, उक्त जहाजले भोलिपल्टै उडान भरे पनि क्याप्टेन शेर्पालाई भने अनुसन्धानका लागि विदा दिएको थियो ।
बुद्ध एयरले क्याप्टेनलाई बिदा दिएको एक महिना भएको छ । बुद्ध एयर कम्पनीले आन्तरिक रूपमा उक्त घटनाको विषयमा छानविन गर्दा विमानमा कुनै खराबी नभएको प्रतिवेदन सार्वजनिक गरेको थियो । तर, सो प्रतिवेदनमा क्याप्टेन शेर्पामाथि भने शंका गरिएको छ ।
निजी वायुसेवा कम्पनी बुद्ध एयरले आफ्नो प्रतिवेदन सार्वजनिक गरे पनि नियामक निकाय नागरिक उड्यन प्राधिकरणले भने छानविन प्रतिवेदन सार्वजनिक गरेको छैन ।
क्याप्टेन शेर्पाले आफूमाथि अनुसन्धान गरिरहेकाले बिदामा रहेको बताए । बुद्ध एयरमा भएको घटनालाई ठूलो इस्यु बनाएका कारणले पनि सरकार पक्षबाट भएको छानविनमा ढिला भएको शेर्पाको बुझाइ छ ।
‘यो घटना नर्मल थियो । संसारमा यस्तो घटना धेरै हुन्छन् । मैले फोर्स ल्यान्ड गरेको पनि होइन । नर्मल प्रक्रिया हो ,’ उनले भने, ‘यो विषयालाई बुझाउनेले बुझाउन सकेन र लेख्नेले लेख्न जानेन ।’
यो घटनालाई ‘रेस्पोन्स’ गरिएन ‘रियाक्ट’ गरिएको क्याप्टेन शर्पाको दाबी छ ।
सरकारले एक महिनामा हुने काम तीन महिना लगाएपछि बिदामा बस्नुको विकल्प नभएको शेर्पाले बताए ।
उनका अनुसार उक्त घटनाको अनुसन्धानको प्रक्रिया गलत बाटोमा गएको छ । नागरिक उड्यन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले यस विषयमा छिट्टै प्रतिवेदन सार्वजनिक हुने संक्षिप्त जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।