अन्तिम लडाइँका लागि तयार रहन कार्यकर्तालाई महतोको निर्देशन

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेस शिक्षा, विकास र स्वास्थ्यमा पछाडि परेको बताएका छन् । सर्लाहीस्थित बरहथवामा आयोजित दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ठाकुरले मधेसीलाई संविधानले न्याय नदिएको बताएका हुन् ।

‘यो संविधान हाम्रो पक्षमा छैन, म सधैँ सन्तुलित संविधानको माग गरिरहेको छु,’ उनले भने । उनले आउँदो निर्वाचनमा आफ्नो भोट मधेसको पक्षमा दिन मधेसी जनतालाई आग्रह गरे। 

‘हामी हनुमान हौँ । किनकि हामीलाई हाम्रो शक्तिको महसुस छैन,’ उनले भने, ‘अब हाम्रो भोट हाम्रै लागि प्रयोग हुनुपर्छ ।’ उनले विशेषतः नागरिकताको समस्यामा सरकारले बेवास्ता गरिरहेको आरोप लगाएका छन् । 

सोही कार्यक्रममा लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले मधेसी जनतालाई नयाँ आन्दोलनको लागि तयार भएर बस्न भनेका छन् । ‘अब कांग्रेस र कम्युनिस्टलाई भोट गरेर हाम्रो समस्याको समाधान हुँदैन,’ उनले भने, ‘अब हामी अन्तिम संघर्षको लागि तयार हुनुको विकल्प छैन ।’ 

उनले मधेसीसँगै आदिवासी, दलित, जनजाति, थारूलाई आफ्नो हक अधिकारको लागि आन्दोलनका लागि तयार रहन आग्रह गरे । 

‘अब देशमा अन्तिम लडाइँ अर्थात् आन्दोलन गर्ने समय आइसकेको छ,’ नेता महतोले भने । उनले मधेस आन्दोलनको बेला जेल परेकाहरू अझै केही जेलमै रहेको गुनासो गर्दै सरकारले नियतवश उनीहरुलाई नछाडेको आरोप समेत लगाए । 



‘राजनीतिक मुद्दामा आन्दोलन भयो, तर हाम्रो दाजुभाइ अझै जेलमा हुनुहुन्छ,’ उनले भने । उक्त कार्यक्रममा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोसँगै पूर्व मन्त्रीहरू अनिल झा, चन्दा चौधरीलगायतको उपस्थिति थियो ।



  • प्रकाशित मिति : कात्तिक ९, २०७८ मंगलबार २०:३७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया