Mon, 19 Nov, 2018


नेपाली नाटकलार्इ मितव्ययी रंगमञ्चकाे आवश्यकता
अशेष मल्ल  |  कात्तिक १७, २०७५

मैले आठ–नौ वर्षअघि क्यानडामा आयोजित थिएटर फेस्टिवलमा युरोपेली रंगकर्मीलाई सम्बोधन गर्दै भनेको थिएँ, ‘तिमीहरू आफ्नो रंगमञ्चमा विनाकुनै साधन नाटक देखाएर ‘एक्सपेरिमेन्ट’ गर्छौ । हामी रंगमञ्चमा केही नभएकाले विनासाधन नाटक देखाउँछौं ।’ 

वास्तवमै पनि हामी चाहेर पनि स्रोतसाधनको प्रयोग गर्न असमर्थ छौं । पश्चिमी रंगमञ्च जति अगाडि पुगेको छ त्योभन्दा धेरै पछि हाम्रो रंगमञ्च चलिरहेको छ । हामीले पैसा, अवस्था र वातावरणलगायतका रंगमञ्चका यथावत् कुरासँग सम्झौता गरेर नाटक गर्नुपर्छ । हामीसँग चाहेको जस्तो प्रविधि छैन । नाटक गर्दा आर्थिक रूपमा कतैबाट पनि आम्दानी हुँदैन । त्यसैले, सम्झौता नै सम्झौतामा बाँचेको नेपाली रंगमञ्चलाई मितव्ययी तरिकाले अगाडि लैजान सक्नुपर्छ ।

जीवनसँग प्रत्यक्ष रूपमा सम्बन्धित हुन्छन् रहरहरू । जब रहरलाई पूरा गर्दै जीवनलाई पनि चलाउन सकिन्छ, तब मात्र सबै कुरा व्यवस्थित हुन जान्छ । रंगमञ्च, कला, साहित्यलगायतका कुराबाट जीवनलाई धान्नु भन्दा पनि यी रहरलाई आफ्नो जीवनमा असर नगर्ने गरी पूरा गर्न सक्नु ठूलो कुरा हुन जान्छ । 

रंगमञ्चमा लागेर जीवन चलाउनु त धेरै परको कुरा हो, सामान्य आम्दानी पनि हुँदैन । हरेक नाटकमा चाहेको सबै प्रयोग गर्ने हो भने निर्देशनले एउटा नाटकमा नै धेरै गुमाउनुपर्छ । भोलि अर्को नाटक गर्छु भन्नलाई सम्भव हँुदैन ।

एमए सकेपछि दोधारमा परेको दिनहरू सम्झन्छु । त्यो बेला मेरो रहर रंगमञ्चभन्दा बाहेक केही पनि थिएन । धनकुटा फर्किएर रंगमञ्च तथा नाटकमा केही गर्छु भन्नु सम्भव थिएन । काठमाडौं आएर रंगकर्मी बन्ने सपना थियो । जुन कारण काठमाडौं छोडेर धनकुटा फर्किंदा मसँग बाँकी केही पनि हुँदैनथ्यो । 

काठमाडौंमा नाचघर र प्रज्ञा प्रतिष्ठानबाहेक कुनै नाटक देखाउने ठाउँ थिएन । सामान्य रूपमा काठमाडौंमा पढिरहेको मान्छेले यी दुवै ठाउँमा पैसा तिरेर नाटक देखाउन सम्भव थिएन । मलाई चाहिएको नाटक देखाउनलाई ठाउँ जरुरी थियो । जसरी भए पनि नाटक देखाउने लक्ष्य थियो । आफैंभित्रको द्वन्द्वमा म जुधिरहेको थिएँ । 

२०३८ सालमा ‘हामी वसन्त खोजिरहेछौं’ नाटकलाई मितव्ययी रंगमञ्चको अवधारणाअनुसार कीर्तिपुरको चौरमा प्रस्तुत गरें, जुन सफल भयो । जसकारण नाटक गर्नलाई कुनै हल वा थिएटर नै चाहिन्छ भन्ने आवश्यकता रहेन । जहाँ पनि नाटक प्रस्तुत गर्न सकिन्छ भन्ने प्रमाणित भयो । जहाँ पनि रंगमञ्च सिर्जना गर्न सकिन्छ भन्ने महसुस भयो । नाटक गर्नलाई रंगमञ्च होइन, शिल्प आवश्यक हुन्छ । नाटकका शिल्पले चौर, घरको छत, सडकलगायतका जुनसुकै पनि ठाउँमा रंगमञ्चको सिर्जना गरिदिन्छन् ।

नाटकलाई कसरी प्रस्तुत गर्ने भन्ने कुरा निर्देशकको जिम्माको कुरा हो । नाटकलाई प्रस्तुत गर्ने छुटसँगै कल्पना गर्ने जिम्मा पनि निर्देशककै हुन जान्छ । नाटकलाई ठीक यही तरिकाले प्रस्तुत गर्नुपर्छ भनेर कुनै बन्देज हुँदैन । नाटकका सिद्धान्त प्रस्तुत गर्ने कुरा होइन, कला र कल्पनाशीलता प्रस्तुत गर्ने कुरा हुन् ।

रंगमञ्चमा कतिसम्म प्रयोग गर्ने भन्ने कुरामा निर्देशकलाई एउटा अलिखित कानुनले डो¥याइरहेको हुन्छ । आफूले चाहेअनुसार उसले प्रयोग गर्न छुट छ । तर, चाहेअनुुसार प्रयोग गर्नलाई नेपाली रंगमञ्चमा पर्याप्त स्रोतसाधन छैनन् । जसकारण हरेक कुरामा सम्झौता गर्नुपर्छ । यस्तै सम्झौता गर्दै अगाडि बढेको नाटकलाई फरकपन दिँदै मितव्ययी तरिकाले रंगमञ्च चलाइनुपर्छ । 

नेपाली रंगमञ्चको कमजोरी भनेको वर्तमानको बारेमा मात्र सोचिनु हो । आज एउटा नाटक गर्ने निर्देशकले भोलिको दिनमा नाटक गर्ने÷नगर्ने भन्ने कुरा सोचेको छैनजस्तो लाग्छ । आफूसँग भएको सबै ऊर्जा, स्रोतसाधनलगायतका कुरालाई भोलिका लागि सञ्चय नगरी नाटक गर्दा भोलि केही बाँकी रहँदैन । तसर्थ, नाटकमा आपूmसँग भएका स्रोत र साधनको प्रयोग गर्दै समय, खर्च र ठाउँ तथा परिस्थितिलाई ध्यानमा राखेर नाटक गर्नुपर्छ भन्ने मान्यता मितव्ययी रंगमञ्चको हो ।

रंगमञ्चमा सेटिङ निर्माण गर्नलाई लाखौं खर्च पर्ने पनि हुन्छ । त्यही सेटलाई सामान्य लागतमा पनि बनाउन सकिन्छ । एउटा नाटक गर्दा कतैबाट स्पोन्सर पाएर लाखौं खर्च गर्न सकिन्छ । तर, केही समयपछि अर्को नाटक गर्नु पर्दा फेरि सहयोगका लागि हात फैलाउने कुरा हुँदैन । 

नेपाली रंगमञ्चलाई छोडेर हेर्दा अन्य सबैजसो देशमा रंगमञ्चका लागि सरकारी सहयोग प्राप्त हुन्छ । हाम्रो रंगमञ्चमा यस्तो व्यवस्था छैन । तसर्थ, रंगमञ्चलाई दिगो हुने गरी नाटक गर्न सक्ने मार्ग खोज्नुपर्छ । त्यस्ता मार्गहरू खोजिएनन् भने भोलिको दिनमा नेपाली नाटकको कुनै पनि भविष्य छैन । धेरै कम मात्रामा मात्र त्यस्ता मार्ग खोजिएको छ ।

मान्छेलाई ईश्वरले शरीर दिएको छ । त्यही शरीरको माध्यमबाट हरेक कुरालाई प्रस्तुत गर्न सकिन्छ । हामीसँग प्रकाश नहुँदा पनि शारीरिक हाउभाउले प्रकाशले गर्ने काम गर्न सकिन्छ । रात परेको, झरी परेको जस्ता कुरालाई जस्ताको तस्तै उतार्न सक्ने विकास नेपाली रंगमञ्चमा भएको छैन । नाटकमा देखाइनुपर्ने भाउ देखाउन हामीसँग आँखा छन्, हातपाउ छन् । 

रंगमञ्चको अभिव्यक्ति भनेको नै भावलाई प्रस्तुत गर्नु हो । कुनै चौर अथवा सामान्य कोठामा पनि प्रस्तुति दिन सम्भव छ । तसर्थ, कम लागतमा सबै कुरा सम्भव हुने एउटै बाटो भनेको मितव्ययी रंगमञ्च हो ।

शारीरिक हाउभाउबाट नै नाटक प्रस्तुत गर्ने क्रममा सडक नाटकको अवधारणा सुरु गरें । जुन मितव्ययी रंगमञ्चको अवधारणाअनुरूप छ । सडकमा नाटक प्रस्तुत गर्दा कुनै स्टेज चाहिँदैन । जहाँ नाटक प्रस्तुत हुन्छ, त्यसैलाई स्टेज मानेर भ्रम पैदा गरिन्छ ।

क्यानडामा एकपटक हेरेको नाटकमा स्टेजभित्र नै जहाजको निर्माण गरिएको थियो । पछि नाटकको विषयवस्तुअनुसार जहाज डुबाइयो । त्यहाँ गरिएको जस्तो प्रयोग नेपाली रंगमञ्चमा गर्न सम्भव छैन । तर, हामीले जहाजमा भएको हाउभाउ, डुब्दाको अनुभुति प्रस्तुत गरेर दर्शकलाई जहाजको प्रतिबिम्ब देखाउन सकिन्छ । हाम्रो कल्पनाशीलताले जहाज डुबाएको दृश्य पैदा गर्न सक्दा निर्देशकको खुबीको पनि परीक्षण हुन जान्छ । तर, यस्ता प्रयोग गर्नका लागि धेरै साधना जरुरी छ । 

काठमाडौंका थिएटरमा प्रस्तुत गरिने नाटकलाई काठमाडौंबाहिर गएर प्रस्तुत गर्न सम्भव हँुदैन । यहाँका थिएटरमा भएका प्रविधि तथा साधन अन्य ठाउँमा हुँदैनन् । देशभर १०–१२ भन्दा बढी थिएटर छैनन् । भएका थिएटर आफ्नै बलबुतोमा चलिरहेका छन् । 

मितव्ययी रंगमञ्च अर्थात् कम लागतमा रंगमञ्चको अवधारणाअनुसार अबको नेपाली रंगमञ्च अगाडि बढ्नु आवश्यक देखिन्छ । अहिले हामीसँग स्रोतसाधन नभएको समयमा मितव्ययी रंगमञ्चअनुसार अगाडि बढ्न सकिन्छ ।

पश्चिमी नाटकका महान् निर्देशक ग्रुटो वस्कीले शारीरिक हाउभाउ प्रयोग गरेर नाटक प्रस्तुत गरे । उनको नाटकमा सामान्य उज्यालोबाहेक कुनै प्रकाशको प्रयोग थिएन । त्यस्तै, युरोपियन रंगमञ्चमा फिजिकल थिएटरले निकै चर्चा कमाएको छ । शारीरिक हाउभाउमा अमूर्त नाटक प्रस्तुत गरिने यो शैली युरोपमा जताततै लोकप्रिय छ । उनीहरूसँग स्रोतसाधन हुँदा पनि यस्ता प्रयोग गरिरहेका छन् । झन् हामीकहाँ त स्रोतसाधनकै कमी छ । स्रोतसाधन नभएपछि विभिन्न प्रयोग गर्नु बाध्यता पनि हो । तर, स्रोतसाधन छैनन् भन्दैमा नाटक नै नगरी बस्ने कुरो पनि भएन । त्यसैले, स्रोतसाधनविना नाटक गर्न नेपाली रंगमञ्चलाई मितव्ययी ढंगले अगाडि लैजानुपर्छ । 

नाटकको अर्थ विषयवस्तु मात्र होइन, कला र सौन्दर्य पनि हो । कला र सौन्दर्य भएपछि मात्र नाटक सुन्दर बन्न सक्छ । नाटकमा कला र सौन्दर्यलाई झन् बढाउने काम मितव्ययी रंगमञ्चले गर्छ । विभिन्न प्रयोग भएपछि आफैंमा नाटक पूर्ण हुँदै जान्छ । तसर्थ, कम स्रोतसाधन तथा लागतमा समयको उचित प्रयोग र व्यवस्थापन गर्दै राम्रो नाटकको निर्माण कसरी गर्ने भन्ने कुरा मितव्ययी रंगमञ्चको सिद्धान्तभित्र पर्छ ।
 



यो पनि नछुटाउनुहोस्