कवितामा फर्किन खोजिरहेका उपेन्द्र

जीवनमा कसरी बाँच्ने ? के भएर बाँच्ने ? यसको निर्धारण समय र परिस्थितिले गर्ने बताउँछन् उनी । समयको वेगमा जताजता बगिन्छ, त्यस्तै माहोलमा आफू घुलमिल हुनुपर्ने जरुरी ठान्छन् । सपनाको पछि लाग्दैमा जीवनको रङ नहुने उनको विचार छ । कहिलेकाहीँ आफूले चाहेको भन्दा बढी अन्य कुराले जीवनलाई ओगटिरहने बताउँछन् । 

लामो कपाल, निलो रङको क्याप, हल्का सेता–काला र राता भएका दाह्रीजुँगा लिएर उनी चिया पिइरहेका छन् । सहरमा उनको परिचय धेरै छ ।

उपेन्द्र सुब्बा– नेपाली साहित्य र कला क्षेत्रमा एउटा स्थापित नाममध्ये पर्छ । सुरुवातमा सहरले उनलाई कवि भनेर चिन्यो । पछि चलचित्रमा कथा लेखक भए, कलाकार भए, कथाकार भए ।

उपेन्द्र त्यही केटो हुन्, जसले पाँचथरको आङसाराङमा स्कुलको जीवन बिताउँदा कहिल्यै कविताका बारेमा थाहा पाएनन् । इलाम क्याम्पसमा पढ्दा पनि उनका साथीहरू कविता लेखेर सुनाउँथे । तर, उनले त्यसको खिल्ली मात्र उडाउने गरेका थिए । उनी भन्छन्, ‘पाठ्यक्रममा कविका पढ्दा उनीहरूको दुःख पढाइन्थ्यो । त्यसैले, सधैं कविप्रति वितृष्णा थियो ।’

तर, समयको आँधीमा बहेपछि आफ्नो बहसमा कहाँ हुने रहेछ र जिन्दगी ? उनी भन्छन्, ‘अनि विचारलाई अभिव्यक्त गर्न कविता लेख्न थालें ।’

लिम्बू समुदायमा जन्मिएकै कारण उनीसँग अभिव्यक्त गर्नलाई पालम थियो, ख्याली थियो । लिम्बू समुदायमा आफूलाई प्रस्तुत गर्न चाहँदा यी माध्यमबाट उनी सजिलै प्रस्तुत हुन सक्थे । तर, कलेज पढ्दा उनी लिम्बू समुदायमा मात्र सीमित रहेनन् । 



उनको संगत हरेक समुदायका मान्छेसँग थियो । जसकारण, पालम र ख्याली मात्र भएर हुँदैनथ्यो । उनी भन्छन्, ‘गाउँमा मात्रै बसेको भए म कविता लेख्ने थिइनँ । पढाइसँगै संसार फराकिलो भएको थियो । फराकिलो संसारलाई आफ्ना अभिव्यक्ति प्रस्तुत गर्न कविता सिर्जना गरें ।’

कविता लेख्नुभन्दा अगाडि गीत लेखेर साहित्यमा छिरेका हुन् उपेन्द्र । २०५७ सालको रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा उनको गीत प्रथम भएको थियो । काठमाडौं आएपछि आफ्ना गीत धेरैलाई बाँडेका थिए । तीमध्ये शान्तिरामले रेडियो नेपालमा गीत दर्ता गरेका रहेछन् ।



भर्खर वामे सर्दै गर्दा पुरस्कृत भएको सम्झन्छन् उपेन्द्र । तर, गाउँबाट गीतको एल्बम निकाल्न काठमाडौं आएको केटो फर्किंदा हातमा भने कवितासंग्रह लिएर फर्कियो ।

आधुनिक गीत प्रतियोगितामा प्रथम भएपछि उनी विभिन्न साहित्यकार, गीतकारको संगतमा आउन सुरु गरे । उनको भेट अर्का एक कविसँग भयो । ती थिए, राजन मुकारुङ । त्यो बेला उनको परिचय गीतकार थियो । एक दिन पहिलो कविता उपेन्द्रले उनैलाई सुनाए । 

कविता सुनेपछि राजनले उनको डायरी मागे । पछि कवितासंग्रह निकाल्न कर गरे । उपेन्द्रले उनकै लहैलहैमा लागेर ‘डाँडामाथिको घामजून र गडतिरका राँकेभूतहरू’ कवितासंग्रह प्रकाशन गरे । 

घर फर्किंदा उनीसँगै उनको पहिलो नासो थियो, उनको कवितासंग्रह । धरान बस्न थालेपछि राजन मुकारुङकै सहायताले विभिन्न कविसँग उनको भेट भयो । भेटिएका सबैलाई उनले आफ्नो कवितासंग्रह दिन थाले । एक दिन कवितासंग्रह दिने क्रममा उनको भेट कवि देवान किरातीसँग भयो । 

हरेक समय चोकमा बसेर क्यारमबोर्ड खेलेको देखेका थिए देवानले उनलाई । उनले कवितासंग्रह दिँदा देवान छक्क पर्दै सोधे, ‘तपाईं पनि कवि हो र ?’

बिस्तारै–बिस्तारै कविता लोकप्रिय हुँदै गए । कवि ईश्वरवल्लभले उनको कृतिमाथि लेखिदिएको समीक्षाले झन् टेवा दियो । उनी भन्छन्, ‘म आफैं कवि हुने रहर कहिल्यै गरिनँ । साथीभाइ र समयले बनायो ।’

जीवनको यात्रामा धेरै कुइनेटा छिचोल्ने क्रममा उनले पहिलो कृति प्रकाशन भएको दुई वर्षपछि दोस्रो कवितासंग्रह ‘होङ्ग्रायो भोग र पाङ्ग्रा’ प्रकाशन गरे ।

कवि बन्न उनले कुनै संघर्ष गरेनन् । साथीभाइले उनलाई कविको परिचय दिए । उनलाई त्यही परिचय प्रिय भयो । तर, गीत लेखेर लेखनयात्रा सुरु गरेका उनले गीतिएल्बम पनि निकाले । २०६३ सालमा जीवन आखिर के नै हो र ? गीति एल्बम निकालेपछि उनको गीत निकाल्ने सपना पनि पूरा भयो । 

त्यसपछिका दिनमा उपेन्द्रको जीवन बदलियो । उनी निष्क्रिय भए । जीवनको मोह र साहित्यको मोहबाट पर हुँदै गए । 

मानिसले जीवनबाट जति नै भाग्न चाहे पनि कहिल्यै भाग्न सक्दैन । चाहेर पनि ऊ आफंैबाट टाढा जान नसक्नु मान्छेको प्रवृत्ति हो, कमजोरी हो । 

लामो समयसम्म निष्क्रिय भएपछि उनी फेरि साहित्यमा नै फर्किए । उनीसँग थियो नै त्यही, जसलाई उनले आफ्नो भन्न सक्थे । साहित्यले नै उनको परिचय बनाएको थियो । उनी साहित्यको माेहबाट जति टाढा भाग्न खोजेको भए पनि कहिल्यै सकेनन् । झन्, कविताबाट सम्भव थिएन । 

कविताप्रतिको मोहले उनलाई कतै पर भाग्न दिएन । त्यसैले, लामो अन्तरालपछि आफ्ना नयाँ र पुराना कविता संकलन गरी अर्को कवितासंग्रह ‘खोलाको गीत’ प्रकाशन गरे । 

एक वर्षपछि साथीभाइकै अनुरोधमा पहिलो कथासंग्रह ‘लाटो पहाड’ ल्याए । लिम्बू समुदायका विषयमा लेखिएका कथा नभएका कारण उनलाई लेख्दा हुन्छ भन्ने लाग्यो । तर, उनले कहिल्यै कथा प्रकाशन गर्ने मोह थिएन ।

त्यसअघि नै चलचित्र लेखनमा प्रवेश गरिसकेका थिए । लेखनसँगसँगै उनले केही अभिनय पनि गरे । उनी भन्छन्, ‘जीवन सूक्ष्म सूक्ष्म कुराले चलिरहेको हुँदोरहेछ । तीनै सूक्ष्म कुरालाई मिलाउन खोज्दा यहाँ आइपुगें ।’

उपेन्द्र आफूलाई कविको रूपमा हेर्न चाहन्छन् । अन्य विधामा  उनको परिचय भए पनि उनी आफूलाई भने कवि भनिदिए हुन्थ्यो भन्ने ठान्छन् । कविताप्रतिको मोहकै कारण पनि उनी भन्छन्, ‘मान्छेले कथाकार, कलाकार, झाँक्री वा जे पनि भन्छन्, तर कसैले कवि भन्दा नाक उँचो भएको जस्तो लाग्छ ।’

उपेन्द्र कविताबाट कथामा आइपुगे । चलचित्रमा आइपुगे । जीवनमा देखेभोगेका पात्रलाई उनले कथामा लेखे । शृंखलाबद्ध रूपमा जीवनमा घटना भइरहन्छन् । समयसँगै यी घटनाले जीवन जिउने प्रक्रियालाई फरकपन दिन्छन् । आफ्नो जीवनबाट कविता नजानिँदो पाराले छुट्दै गएको बताउँछन् उनी । पात्रसँग खेल्दाखेल्दै बिम्बसँग विछोड भइदियो । संवादसँग घुलमिल हुँदा कविता नजानिँदो पाराले पर भयो । 

‘परिवार चलाउन पैसा चाहिन्छ । कविता लेखेर पैसा आएन । चलचित्र लेखेर सजिलै आयो ।’ चलचित्रमा आउनुको कारण बताउँछन उपेन्द्र, ‘अर्कातिर कविताजस्तो गाह्रो छैन चलचित्र ।’

आफ्ना रहरको सूचीमा कतै पनि चलचित्र लेखक वा कलाकार नरहेको बताउँछन् उपेन्द्र । चलचित्र लेखनमा लागे पनि चलचित्रको माहोलमा धेरै छैनन्् । पर्दापछाडि रहेजस्तै गरेर उनी चलचित्रमा लागिरहेको बताउँछन् ।

अधिकांश विधामा कलम चलाए पनि उनको मन भने कवितामा नै अल्झिरहेको छ– छाडेर गएकी प्रेमिका जस्तो । थाहै नपाई कविको परिचय पाए उनले । उनी भन्छन्, ‘जीवनमा यस्तो कविता लेख्छु भन्ने थियो । तर, थाहै नपाई छुट्यो मबाट कविता ।’ 

जीवनमा सबैभन्दा विश्वास र मोह कविताप्रति रहेको छ उनको । आफूलाई पूर्णरूपमा अभिव्यक्त गर्न कवितामा मात्र सक्छु भन्छन् उनी । तर, जिन्दगीका अनेक कारणले गर्दा कविताबाट उनी भाग्नुपर्यो । आफ्नो कविताप्रतिको मोहमायालाई व्याख्या गर्न खोज्दै भन्छन् उनी, ‘जीवन आफ्ना लागि मात्र नभएर अरूका लागि पनि रहेछ । समयसँगै थपिएका जिम्मेवारीले कवितालाई थाहै नपाई छुटाइदिए ।’

‘कवितामा कलम चलाउने मन कत्ति छ कत्ति,’ उनी भन्छन्, ‘तर, अझै दुई–चार वर्ष चलचित्र लेखनमा नै हुन्छु । त्यसपछि त कविता लेख्न सक्ने क्षमता नै बाँकी नरहला ।’

कविता लेख्न बैंसमा मात्र सकिने तर्क राख्दै उनी भन्छन्, ‘सिर्जना गर्नलाई धेरै शक्ति चाहिन्छ । मसँग भएको धेरैजसो शक्ति चलचित्र लेखेरै समाप्त हुनेछ ।’ उत्कृष्ट कविता लेख्नलाई उमेर ढल्किएपछि नसकिने बताउँछन् उनी । तर, कवितामा नै फर्किने मन छ उनको । एकातिर उमेर छ भने अर्कातिर गम्भीर पनि भइने उनको धारणा छ । उनी भन्छन्, ‘नबुझ्दासम्म मजाले लेख्न सकिने रहेछ । बुझेपछि लेख्न नसकिने ।’

कविताबाटै आफ्नो साहित्यिक यात्रा सुरु गरेका उपेन्द्रलाई साहित्यको अन्त्य पनि कविताबाटै गर्न मन छ । चलचित्रमा अझै केही वर्ष समय बिताएपछि फेरि उनी कवितामा आउने सोचमा छन् । उनी भन्छन्, ‘कविको परिचयबाट म चिनिएको थिएँ । पछि अनेक परिचय जोडिए । तर, मलाई कविकै परिचय प्रिय छ ।’
 

  • प्रकाशित मिति : कात्तिक १६, २०७५ शुक्रबार १९:१३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया