ढिलो–चाँडो सबै दल राप्रपाको एजेन्डामा समाहित हुन्छन् : कमल थापा

पाँचथर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दूराष्ट्र र राजसंस्था स्थापनाबारे पुनर्विचार गर्न राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।

पाँचथर सदरमुकाम फिदिममा आयोजित पार्टीका अगुवा कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले ढिलो–चाँडो सबै राजनीतिक दलले राप्रपाले अंगीकार गरेको एजेन्डामा समाहित हुनुको विकल्प नरहेको ठोकुवा गरे ।

विदेशबाट ऋण लिएर जबर्जस्ती चलाउन खोजिएको संघीयता दिगो नहुने भन्दै अध्यक्ष थापाले राप्रपाले अघि सारेका एजेन्डा हिन्दू राष्ट्र, राजासहितको प्रजातन्त्र तथा जनताको प्रत्यक्ष स्वशासनको आवश्यकता अझ बलियो भएर गएको तर्क गरे । 

विखण्डनकारी तत्वहरूको क्रियाशीलता र जबर्जस्ती धर्मपरिवर्तनको लहर यही अनुपातमा बढेर जाने हो भने मुलुकमा अर्को युद्ध निम्तिने खतरा रहेकाले त्यसलाई रोक्न समयमै कदम चाल्न आवश्यक भइसकेको बताउँदै उनले  विचार मिल्ने पार्टीहरूसँग एकताको पहल भइरहेको जानकारी दिए ।

थप उत्साहका साथ संगठन विस्तारमा जुट्न र पार्टीका एजेन्डाहरूलाई तल्लो तहसम्म पुर्याउन अगुवा कार्यकर्ताहरूलाई निर्देशन दिँदै थापाले परिवर्तनकारी हौँ भन्ने दलहरूको व्यवहारबाट जनता रुष्ट भएकाले अबको विकल्प राप्रपा नै भएको जिकिर गरे ।

सम्बोधनका क्रममा राप्रपाका नेता तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङदेनले संघीयता कार्यान्वयनको सुरुमै देशमा विखण्डनको आवाज उठ्नु दुःखद् भएको बताउँदै सचेतना अपनाएर पुनर्विचार गर्नुपर्ने समय आइसकेको उल्लेख गरे ।



हिन्दूराष्ट्रको कुरा गर्दा कुनै जाति–जनजाति डराउनुपर्ने अवस्था नभएको भन्दै उनले किराँत र हिन्दूहरूले मान्ने देवता एउटै भएको स्पष्ट पारे । 

राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति पाँचथरका अध्यक्ष जगत थापाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य भक्ति सिटौला, मानबहादुर जवेगु, छविरमण सुवेदी, राजाराम बर्तौला, सुनिता कुरुम्वाङ, प्रदेश–१ का उपाध्यक्ष तेजकुमार कुरुम्वाङ, सचिव वासुदेव भट्टराई, पाँचथरका पूर्वअध्यक्ष कृष्णप्रसाद योङया, विष्णुकुमारी राईलगायत नेताहरूले सम्बोधन गरेका थिए । 



कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गरेका नवप्रवेशीहरूलाई अध्यक्ष कमल थापाले सदस्यता प्रदान गरी पार्टीमा स्वागत गरेका थिए । 
 

  • प्रकाशित मिति : कात्तिक १८, २०७५ आइतबार १९:५५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया