अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रशिक्षक अबदुल्लाह अलमुताइरीसँग दोस्रोपटक तीन वर्षका लागि सम्झौता गरेको छ । सम्झौताअनुसार अलमुताइरी सन् २०२४ सम्मका लागि नेपाली फुटबलको प्रशिक्षक कायम भएका छन् ।
दक्षिण एसियाको ठूलो फुटबल प्रतियोगिता मानिने साफ फुटबल प्रतियोगितामा पहिलोपटक फाइनल पुर्याएका उनलाई दोस्रोपटकका लागि प्रशिक्षकमा अनुबन्ध गरिएको हो ।
अबदुल्लाहले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक मधुसुदन उपाध्याय र अलमुताइरीबीच नेपालको जर्सीसहित २०२४ सम्मका लागि औपचारिक सम्झौता भएको हो ।
साफ च्याम्पियनसिप अघि नेपाल नफर्किने भन्दै छाडेका प्रशिक्षक अलमुताइरी सम्झौता भएसँगै नेपाल फर्किएका हुन् । आज भएको पत्रकार सम्मेलनमार्फत उनी आगामी तीन वर्षको योजना सहित सार्वजनिक भए ।
साफअघि नेपालमै रहँदा पनि एन्फाका उपाध्यक्षसँगको विवादपछि राजीनामा दिने घोषणा गरेका अलमुताइरी नेपाली खेलाडी र कर्मचारीको अनुरोधमा पुनः नेपाल फर्किएका हुन् ।
नेपाली राष्ट्रिय टोलीसँगको नयाँ सम्झैतापछि आफू खुसी भएको बताउँदै अबदुल्लाहले नेपाली समर्थक र खेलाडीको मायाले नेपाल फर्किएको बताए ।
अलमुताइरीले प्राप्त गर्ने तलब कतार फुटबल संघले उपलब्ध गराउनेछ । एन्फाले नेपाल बस्ने क्रममा यातायात र सञ्चारका केही रकम दिँदै आएको छ ।
तीन चरणमा काम गर्ने योजना सार्वजनिक गरेका अलमुताइरीले सुरुवाती पहिलो चरणको एसिया कप छनोटका कार्यक्रम मात्र सार्वजनिक गरेका छन् । जसअन्तर्गत राष्ट्रिय टिमको प्रशिक्षक र मैत्रीपूर्ण फुटबल खेलको तालिका योजनामा रहेका हुन् ।
यस्तै, विश्वकप छनोट २०२६ र एसिया कप छनोट २०२७ लाई लक्षित गरेर तीन वर्षको सम्झौता गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।