टि–२० विश्वकप : न्युजिल्यान्डको लगातार दोस्रो जित

आइसिसी विश्वकपमा न्युजिल्यान्डले लगातार दोस्रो जित निकालेको छ । उसले सुपर १२ को समूह ‘२’अन्तर्गत बुधबार भएको खेलमा स्कटल्यान्डलाई १६ रनले पराजित गरेको हो । 

१७३ रनको विजयी लक्ष्य पछ्याएको स्कटल्यान्डले २० ओभर नै ब्याटिङ गरे पनि ५ विकेट गुमाएर १५६ रन मात्र बनाउन सक्यो । 

स्कटल्यान्डका लागि माइकल लेक्सले अविजित रहँदै सर्वाधिक ४२ रन बनाए । उनले २० बलमा समान ३ चौका र छक्का प्रहार गरे । म्याथ्यु क्रसले २७ र जर्ज मुन्सेले २२ रनको योगदान दिए । 

न्युजिल्यान्डका ट्रेन्ट बोल्ट र इश सोधीले २–२ तथा टिम साउदीले १ विकेट लिए । 

यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७२ रन बनाएको थियो । 

न्युजिल्यान्डका लागि मार्टिन गुप्टिलले उत्कृष्ट पारी खेले । १८.३ ओभरमा ब्राडली व्हिलले कालुम म्याक्लिओडबाट क्याच गराउनुअघि उनले ५६ बलमा ६ चौका र ७ छक्का सहित ९३ रन प्रहार गरे ।



ग्लेन फिलिप्सले ३३ र डेरिल मिचेलले १३ रनको योगदान दिँदा जेम्स निशम १० रनमा अविजत रहे । 

स्कटल्यान्डका ब्राडली ह्विल र साफ्यान शरिफले २–२ तथा मार्क वाटले १ विकेट हात पारे ।



यो जितसँगै न्युजिल्यान्डले सेमिफाइनल सम्भावना कायमै राख्दा स्कटल्यान्ड भने सुपर १२बाटै बाहिरिएको छ । 

न्युजिल्यान्ड ३ खेलमा २ जित र १ हारको नतिजासहित ४ अंक जोडेर तेस्रो स्थानमा रहँदा लगातार तेस्रो पराजय बेहोरेको स्कटल्यान्ड विनाअंक अन्तिममा छ । 

पहिलो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित न्युजिल्यान्डले दोस्रो खेलमा भारतलाई ८ विकेटले हराएको थियो । 

स्कटल्यान्डले पहिलो खेलमा अफगानिस्तानसँग १३० तथा दोस्रो खेलमा नामिबियासँग ४ विकेटको पराजय बेहोरेको थियो । 

  • प्रकाशित मिति : कात्तिक १७, २०७८ बुधबार १९:३४:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया