Wed, 23 Jan, 2019


हरियाली जाेगाउन ‘टेस्ट ट्युब बिरुवा’ !
फरकधार / कात्तिक १९, २०७५

एउटा सानो उतिसको बिरुवा प्रयोगशालामा टेस्ट ट्युबभित्र हुर्कन्छ । विस्तारै यो बाहिरतिर बढ्न थाल्छ । हेर्दा सामान्य बिरुवा भए पनि यसको जीवनको सुरुआत पृथक ढंगले भएको छ । 

विश्वले चर्को दरमा गुमाउँदै गएको जैविक विविधताको संरक्षणका लागि वैज्ञानिकहरू विभिन्न प्रयासमा जुटेका छन् । जंगली वनस्पतिका बिउ संरक्षण गर्ने पछिल्लो प्रयासको नतिजा हो, यो टेस्ट ट्युब बिरुवा । 

पछिल्लो समय विश्वभर घट्दै गएको हरियालीलाई जोगाउन यस्तो उपाय निकालिएको हो । यही अवस्था कायम रहे भविष्यमा अहिलेका हरेक पाँचमध्ये एक बिरुवा लोप हुने वैज्ञानिकहरूको चिन्ता छ । 

‘यो जंगली जीवको लोपविरुद्ध एक इन्स्योरेन्स पोलिसी हो,’ संयुक्त अधिराज्यअन्तर्गतको दक्षिणी राज्य वेस्ट ससेक्सस्थित किउज मिलेनियम सिड ब्यांकका डा. जोन डिकी भन्छन्, ‘इन सिटु कन्जर्भेसन (प्राकृतिक उत्पत्तिस्थलमै गरिने संरक्षण) सर्वोत्तम तरिका हो, किनकि त्यसपछि सधैँ जीवविकासको क्रम चल्न सक्छ । कुनै कारणवश त्यो सिस्टम असफल हुने अवस्थाका लागि भने यो (टेस्ट ट्युब बिरुवा) निकै सस्तो र महत्वपूर्ण ब्याकअप हो ।’ 

मिलेनियम सिड ब्यांकले भीषण युद्ध वा प्रकोपजस्ता खतरनाक अवस्थाका लागि ब्याकअपका रूपमा खद्यबाली तथा जंगली वनस्पतिका बिउहरू बम, बाढी र रेडियसनले समेत असर नगर्ने भल्टहरूमा सुरक्षित गर्दै छ । सन् २०२० सम्ममा लोप हुने खतरामा रहेका कम्तीमा ७५ प्रतिशत प्रजातिका बिउ सुरक्षित गर्ने उसको उद्देश्य छ । 

तर, नयाँ अध्ययनहरूले यो अभियान त्यति सजिलो र भरपर्दो नहुन सक्ने देखाएका छन्, किनकि धेरैजसो बिउ परम्परागत तरिकाबाट स्टोर गर्दा सुरक्षित रहँदैनन् । 

‘हामीले सिड ब्यांकमा प्रयोग गर्ने ‘बिउलाई सुकाएर फ्रिजमा राख्ने’ विधिबाट सबै प्रजातिका वनस्पति संरक्षित हुन सक्दैनन्,’ मिलेनियम सिड ब्यांकमा क्रायोप्रिजरभेसनको क्षेत्रमा काम गर्ने ड्यानियल ब्यालेस्टेरोस भन्छन्, ‘उदाहरणका लागि, हामीसँग उतिस र कटुस छन्, जसका डिसिकेसन–सेन्सिटिभ बिउ हुन्छन्, जुन सुकाउँदा मर्छन् ।’ कफी, चकलेट, एभोकाडो आदिका बिउ पनि सुकाउँदा मर्छन् । 

खोजकर्ताहरू यस्ता बिउको संरक्षणका लागि उपयुक्त विधिको खोजी गरिरहेका छन् । त्यसैको एक विकल्पका रूपमा क्रायोप्रिजरभेसन विधिको अभ्यास थालिएको हो । यो विधिअन्तर्गत बिरुवाका बिउबाट इम्ब्रियो निकाली त्यसलाई अत्यन्त कम तापक्रममा तरल नाइट्रोजनमा राखिन्छ । 

यो विधिलाई अझ सुधार गरी ‘पर्फेक्ट’ बनाउन थप लगानी आवश्यक पर्नेछ । अन्य सिड ब्यांकहरूमा समेत विस्तार गर्न जरुरी देखिन्छ ।

मिलेनियम सिड ब्यांकमा यसअघि नै ४० हजार जंगली वनस्पतिका बिउ छन्, जुन सुख्खा बनाई –२० डिग्री सेल्सियस तापक्रममा राखिएका छन् । विश्वका अन्य सिड ब्यांकहरूले भने खाद्यबालीका बिउमा जोड दिँदै आएका छन् । 



यो पनि नछुटाउनुहोस्