नाटकले समाजमा तरंग ल्याउँछ, परिवर्तन गर्दैन

नाटकमा एउटा अद्भूत शक्ति हुन्छ । यसले एउटा यस्तो भ्रम सिर्जना गर्छ कि दर्शकले आफूले हिँडिरहेको बाटो गलत रहेछ भनेर सजिल्यै महसुस गर्न सक्छन् । 

नाट्य क्षेत्रमा लागेको यति वर्षको अनुभवमा मैले यस्ता थुप्रै अनुभव पाएको छु । पञ्चायतकालमा जब हामी कुनै सार्वजनिक स्थलमा नाटक गथ्र्यौं, तब प्रहरी आएर हामीलाई पक्रिएर लैजान्थ्यो । राज्यसत्तालाई डर थियो हामीसँग । नाटकले जनताको विचारमा बदलाव आउँछ भनेर हामीलाई नाटक गर्न दिँदैन थिए ।

नाटकले समाजमा सकारात्मकसँगै दुष्परिणाम पनि दिन्छ । त्यसैले, रंगकर्मीले नाटकलाई प्रस्तुत गर्दा समाजमा पर्ने असरका बारेमा धेरै ध्यान राख्नुपर्छ । नाटकमा यथार्थ चित्रण गर्ने भन्दैमा अश्लीलता तथा नकारात्मक विषयलाई प्रस्तुत गर्नु हुँदैन । यस्ता प्रस्तुतिले केही हदसम्म नाटकलाई मञ्चनको समयमा राम्रो बनाए पनि दीर्घ असर राम्रो दिँदैन ।

सामाजिक विषयमा नाटक धेरै लेखिन्छन् । यस्ता घटनालाई यथार्थ चित्रण गर्ने नाममा नकारात्मक प्रस्तुति गर्न हुँदैन । उदाहरणका लागि अहिले देशमा व्याप्त बलात्कारकै विषयलाई लिन सकिन्छ । कुनै चलचित्रमा बलात्कारको दृश्य राख्दा दर्शकलाई त्यसले कस्तो असर गर्ने भन्दा बढी व्यावसायिक दृष्टिकोणतिर बढी ध्यान दिइन्छ । बलात्कारको दृश्यमा देखाइएका घटनाले दर्शकलाई उत्तेजित बनाउने र त्यसले राम्रो व्यापार गर्ने सोचिन्छ ।

तर, नाटकमा व्यावसायिक उद्देश्य हुँदैन । नाटकको एउटै उद्देश्य समाजमा यस्ता घटना नहोस् भनेर दर्शकको मस्तिष्कमा चेतना जागरूक गर्नु हुन्छ । यसर्थ, नाटकमा बलात्कारको दृश्य देखाउने भन्दै अनेक अश्लील हर्कतको प्रस्तुति गरिँदैन । मेरा अधिकांश नाटकमा बलात्कारका दृश्य छन् । तर, त्यहाँ कुनै अश्लीलताको प्रदर्शन छैन । पुरुष कलाकारले महिला कलाकारलाई नछोई पनि बलात्कारको दृश्य देखाउन सकिन्छ । महिला कलाकारलाई नछोई पुरुष कलाकारले सल तानेर त्यसलाई चाटेको वा सुँघेको दृश्य देखाउन सकिन्छ । यसले बलात्कारको बिम्बको रूपमा काम गरिदिन्छ । 

तर, दृश्य देखाउने भन्दैमा एउटा कलाकारले शारीरिक रूपमा नै अर्को कलाकारलाई छोएको दृश्य देखाएमा नकारात्मक असर पर्न जान्छ । दर्शकमा त्यसको प्रभाव तुरुन्तै देखिन्छ । यसर्थ, समाजमा पर्ने प्रभावलाई नाटक गर्दा ध्यानमा राखेर गर्नु आवश्यक छ । 



नाटकको मञ्चन रंगमञ्चमा भए पनि त्यसको प्रभाव अन्य दर्शकको मस्तिष्कमा हुन जान्छ । दर्शकले नाटक हेरेपछि केही समय नाटकको बारेमा सोच्छ । यदि नाटकमा विभिन्न नकारात्मक तथा अश्लील हर्कत देखाइएमा दर्शकमा त्यसको असर दीर्घ समय रहन्छ । उसले घर गएर पनि नाटकको बारेमा नै सोचिरहेको हुन्छ । 

एउटा दर्शक सामाजिक रूपमा परिवार, समाज र देशसँग जोडिएको हुन्छ । त्यसकारण उसले नाटकको दृश्यलाई सम्झिएर त्यसको प्रभाव आफूमा उतार्न खोज्छ । यदि नाटकमा नै अश्लीलता र नकरात्मक प्रस्तुति देखाइएको छ भने उसलाई त्यसलाई नै अनुसरण गरिदिन्छ । नाटक समाजलाई चित्रण गर्ने बलियो माध्यम भएकाले धेरै कुरालाई ध्यानमा राख्नु जरुरी छ । 



नेपाली समाज लोकसंस्कृतिका कारण धनी छ । नेपालीको पहिचान नै यिनैले बोकेका छन् । तर, हाम्रो साहित्य, नाटक र कलामा धेरै कुरा लेख्न बाँकी छ । बाहिरी देशको मान्छे नेपालमा आएर यहाँकै कथा लिएर जान्छ । इरिक भ्याल्लीले नेपालकै कथामा चलचित्र बनाएर ओस्करमा मनोनयन हुन सक्छ । तर, हामी आफैंले यहाँका कथालाई उठाउन सकेका छैनौं । आधुनिकताको नाममा हामी आफ्नै लोकसंस्कृतिलाई छोड्दै छोड्दै आएका छौं । हाम्रो नाटकमा हामीले यस्ता कुरालाई उतार्न सकेका छैनौं । हाम्रो समाज, समुदाय र देशलाई हामीले नाटकमा उतार्न नसक्नु कमजोरी हो । 

एमए पढ्दा कपिलवस्तुको विकट गाउँमा थिएँ । त्यहाँ मैले कहिल्यै नसोचेका कथा देखेँ । एउटा परिवार पहाडबाट म बसेको गाउँमा आयो । उनीहरूसँग आर्थिक अभाव थियो । जसकारण उनीहरूले आफूसँग भएका केही गरगहना बेचेर सानो जग्गा किनेर घर बनाए । उनीहरूले घर बनाएको ठाउँमा पानीको अभाव थियो । सरकारी पक्षबाट त्यहाँ सिँचाइको सुविधा ल्याउने भनेपछि त्यो परिवारको खुसीले आकाश छोएको थियो । तर, पछि जब सिँचाइ आयो, उनीहरूकै जग्गा बाँकी रहेन । त्यसपछि फेरि उनीहरू अर्को ठाउँमा जान बाध्य भए ।

यस्ता धेरै कुरा छन् हाम्रा समुदायमा । यही घटनालाई लिएर पछि ‘बाँकी पृष्ठ’ नाटक तयार गरें । तर, अन्य धेरै कथा उत्खनन भएका छैनन् ।

हाम्रो समाजमा भएका यस्ता कथालाई अगाडि ल्याउन नसक्नुको कारण रचनात्मक कमी हो । हाम्रो नाटकमा लागेका थोरै मात्रामा मात्र ‘क्रिएटिभ’ मान्छेहरू छन् ।

हाम्रो समाज विकास हुन सकेको छैन । राजनीतिक, सामाजिक तथा अन्य विभिन्न तवरबाट हाम्रो नेपाली समाज निकै पछि परेको छ । यसको पूर्ण असर नाटकमा पर्छ ।

नाटक समाजको प्रतिबिम्ब हो । समाज जस्तो रूपमा अघि बढिरहेको हुन्छ, नाटक त्यस्तै गतिमा हुन्छ । हाम्रो नाटकमा समाजका विषय प्रस्तुत गरिन्छ । तर, समाजका समस्या देखाएको नाटक हेर्नुपर्ने मान्छेले हेरिदिँदैन । त्यहाँका समस्याका बारेमा सम्बन्धित मान्छेले थाहा नपाएसम्म नाटक आफैंले कुनै आमुल परिवर्तन गर्न सक्दैन । 

मैले ‘भिक्षान्देही’ नाटकमा नेपालमा हुने भ्रष्टाचारलाई उठाएको थिएँ । देशमा माथिल्लो ओहदाका मान्छेलाई देखाउने भनेर एक दिन मञ्चन गरिएको थियो । नाटक हेरेपछि कृष्णहरि बाँस्कोटाले नाटकलाई देशैभर प्रस्तुत गर्नुपर्छ भन्नुभएको थियो । मैले आफ्नो लागतमा त्यो नसक्ने बताउँदा सरकारले पुर्याउने आश्वासन दिनुभयो । उनले भनेको कुरामा मात्र सीमित भयो । 

यसर्थ पनि नेपाली नाटकलाई हरेक ठाउँमा पुर्याउन रंगकर्मीले सक्दैनन् । उनीहरू आफैं अनेक आर्थिक समस्याबाट जुधेर नाटक गरिरहेका हुन्छन् । सम्बन्धित मान्छले सहयोग नगर्दा नाटक समुदायमा पुग्न सक्दैन । जुन समुदायको कथामा नाटक बनाइएको हुन्छ, त्यो समुदायले थाहा पाउँदैन ।

समाजलाई नाटक बुझाउन समाजमा नै नाटक प्रस्तुत गर्नुपर्छ भन्ने मान्यता पनि पूर्णरूपमा लागू हुन सक्दैन । थिएटरमा मात्रै पनि नाटकलाई सीमित राख्नु हुँदैन । थिएटर भनेको सभ्यताका सूचक हो । अहिले युरोपका अधिकांश ठाउँमा सबैभन्दा महँगो ठाउँ थिएटर भएको छ । तर, हाम्रो देशमा थिएटर केही मात्र छन् । जबकि युरोपलगायत अन्य ठाउँमा गल्लीगल्लीमा थिएटर छन् । त्यहाँका हरेक थिएटरमा उनीहरूको समाजको चित्रण गरेर नाटक प्रस्तुत गरिन्छ । 

सरकारी तवरबाट उनीहरूलाई सहयोग प्राप्त हुन्छ । हाम्रोभन्दा धेरै पहिले राजनीतिक स्थिरता भएकाले पनि त्यहाँ रंगमञ्चको विकास तीव्र भएको छ । तर, हाम्रोमा राजनीतिक स्थिरता पनि ढिलो भएको थियो । जसको असर कला क्षेत्रमा प्रत्यक्ष पर्न गएको छ ।

समाजलाई परिवर्तन गर्न नाटक, कविता तथा सहित्यले सक्छ भनेर मात्र हुँदैन । जबसम्म हामी आफैं सचेत हुँदैनौं, तबसम्म त्यो सम्भव छैन । सरकारी पक्षलाई मात्र पनि दोष दिएर हुँदैन । जबसम्म हाम्रा हरेक पक्षहरू सचेत हुँदैनन् तबसम्म कुनै पनि ठाउँको विकास हुँदैन । 

आफ्नो बलबुलोमा चलेको नेपाली नाटकले समाजमा ठूलो परिवर्तन ल्याउँछ भन्नु भ्रम हुनसक्छ । नाटक भनेको समाजको सानो पक्ष मात्र हो । यसले समाजमा सानो तरंग मात्र सिर्जना गर्न सक्छ । सानै तरंग पनि कहिलेकाहीँ खतरनाक हुन सक्छन् । केही अपवादलाई छोडेर हेर्ने हो भने नाटक वा कलाका अन्य पक्षले मात्रै समाजलाई परिवर्तन गरेको बिरलै भेटिन्छन् । हाम्रोजस्तो अवस्थामा बाँचेको रंगमञ्चमा यो सम्भव पनि हुँदैन । पूरा समाज रूपान्तरण गर्ने अन्य धेरै पक्ष छन् । 

जबसम्म देशमा राजनीतिक स्थिरताका साथै जनतामा चेतना हँुदैन तबसम्म कुनै पनि पक्षको विकास हुन सक्दैन । विकास नभएका पक्षले समाजमा आमुल परिवर्तन ल्याउन सक्छन् भन्ने हँुदैन । यसर्थ पनि नाटकले समाजलाई चेतना प्रदान गर्नका लागि पहिला देशका हरेक क्षेत्रको विकास हुन जरुरी हुन्छ । 

नाटकले समाजलाई तरंगित बनाउन सक्छ । तरंगित भएको समाजले आफैं पनि कुनै परिवर्तनको बाटो समाउन सक्छ । तसर्थ, देशका अन्य क्षेत्रको विकास नभई नाटकको विकास हुन सक्दैन र नाटकको विकास नभई नाटकले समाजलाई रूपान्तरण गर्नुपर्छ भन्न पनि मिल्दैन ।
 

  • प्रकाशित मिति : कात्तिक २४, २०७५ शनिबार ७:२१:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया