किताबको चाङमा म हराएँ कि ?

‘किताबसँगको सान्निध्यले जीवनका अरू पाटालाई ओझेल पार्यो कि ?’ कहिलेकाहीँ यस्तो सोच पनि आउँछ । ‘किताबको चाङमा म हराएँ कि’ भन्ने पनि लाग्छ । तर, यी सबै फिलिङ सेन्सेन्स मुड हुन् । दिमागमा बेला–कुबेला देखिने तरंग मात्रै हुन् ।

समयसमयमा देखिने यस्ता तरंगलाई छाड्ने हो भने मलाई आजसम्म जीवन्त किताबले नै राखेका छन् । ‘मास्टर्स सकेर के गर्नुहुन्छ ?’ भनेर सोध्दा ‘किताब पढ्छु, आफूले प्राप्त गरेको डिग्री बाकसमा थन्क्याउँछु किनकि त्यो केवल कागजको टुक्रो हो मेरा लागि’ भन्ने जवाफ दिएकी थिएँ । यो दुई शब्दको जवाफ आज जीवनको परिचय बनेको छ । फर्केर हेर्दा आजसम्म पनि त्यो किताब पढ्ने तृष्णा झन्–झन् बढ्दै गएको पाउँछु । 

त्यसलगत्तै रोमान्स ल्यांग्वेज फ्रेन्चसितको मोह बढ्यो र त्यसमा पनि एड्भान्स डिग्री लिएँ । अनायासै कर्मयात्राको बाटो पनि यही भाषासितै सुरु भयो ।

‘किताब किन पढ्छु ?’ बारम्बार सोधिने प्रश्न हो यो । कहिलेकाहीँ म आफंै पनि यो प्रश्नको जवाफ खोज्न घोरिन्छु । जवाफ भेट्दिनँ अनि फेरि किताब पढ्न सुरु गर्छु । किताबका शब्दमा आफ्नो अनुहार देखिन्छ । मैले बाँचिरहेको विश्वको रूप देखिन्छ । मैले भोगिरहेको समाजको चित्र पनि कसो–कसो बन्छ, तर पनि म ‘किताब किन पढ्छु ?’ भन्ने प्रश्नको यकिन जवाफ भेटदिनँ ।

जब म साथीहरूसँग बसेर समाज, दर्शन, साहित्यका विषयमा धाराप्रवाह बोल्न थाल्छु । विद्यालय या कलेजमा विद्यार्थीलाई जब म पाठ्यपुस्तकभन्दा पनि बाहिर गएर पढाउन थाल्छु, जब विद्यार्थी, साथीहरू जीवनका ससाना गुनासा अनि समस्या लिएर मसम्म आइपुग्छन्, अनि जवाफ पाएर नतमस्तक भएझैं गर्दछन्, तब लाग्छ के यो मेरो भोगाइ, पढाइ र बुझाइकै उपज हो त ?

कहिलेकाहीँ अरूले सामान्य ठानेका कुरा मेरा लागि ठूला भइदिन्छन् । अरूलाई ठूलो लागेका विषय मेरा लागि सामान्य भइदिन्छन् । यस्तो समयमा पनि मलाई लाग्छ, सायद यस्ता डाइभर्सिटीलाई आत्मसात् गर्नका लागि किताबले मद्दत गरेकै हुन् त ?



जवाफ भेट्दिनँ किन पो किताब पढेकी हुँ ? सायद सुरुमा रुचिका कारण बानी बस्यो र पछि यो बानी नै आवश्यकता बन्न पुग्यो । भनिन्छ– किताब पढ्नेहरूको संसार बेग्लै हुन्छ, र यो किताबको संसारबाट अब म छुट्टिन चाहन्न किनभने म हरेक प्रश्नको जवाफ, हरेक जवाफको प्रश्न र हरेक अनुभूतिको गहिराइ शब्दमै खोज्छु ।

‘सगुना ! तिमी केही महिना किताब पढ्न बन्द गर ।’ साथीहरू बेलाबेला भन्ने गर्छन् । जवाफमा म भन्ने गर्छु, ‘मैले किताब पढ्न छाड्ने हो भने मेरो जीवनमा के बाँकी रहन्छ ? अहिलेसम्म जे छ, जति छ सबै किताब नै त छ ।’ 



म जान्दिनँ कुनै दिन म किताब पढ्न नसक्ने पनि हुन्छु होला । कुनै दिन म एउटा पनि किताब पढ्न पाउँदिनँ होला । तर, किताबको अनुभूति भने हरसमय मेरो दिमागमा र हृदयमा रहन्छ । किताबका पन्ना पल्टाउँदा आउने त्यो फरफर... को आवाज हरसमय मेरो कानमा गुन्जिरहनेछ । बान्की मिलाएर खोपिएका ती अक्षरको चित्र मेरो आँखैअगाडि रहनेछ ।

किताबले मलाई संसारको यात्रा गराएका छन् । होलोकस्टका बारेमा नपढेको भए म कसरी परिचित हुन्थें होला युद्धको बीभत्स चित्रसँग ? थिमिना दुर्रानीको ‘माई फ्युडल लर्ड’ भन्ने किताब नपढेको भए म कसरी थाहा पाउँथें एलिट मुस्लिम महिलाको जीवन भोगाइ ?

गुल्जारका कविता नपढेको भए म कसरी थाह पाउँथे होला जीवनप्रेम ? ‘उपल्लो थलो’ नपढेको भए म कसरी परिचित हुन्थें हिमाली जीवन र समाजसँग ? ‘नथिया’ नपढेको भए म कसरी अनुभव गर्न सक्थें वादी महिलाको जीवन भोगाइ ? थु्र बुक्स आई वान्ट टु नो अबाउट लाइफ । थ्रु बुक्स आई वान्ट टु ट्राभल वल्र्ड ।

हिजोआज म किताबलाई अनुभूत गरेर पढ्छु, शब्दहरूमा दौडिन्नँ । शब्दको सागरमा पौडिन्छु । बिस्तारै बिस्तारै शब्दको गहिराइमा डुबुल्की लगाउँछु । किताब पढ्न हतारो पटक्कै छैन । 

हतारोमा किताब पढ्दा किताब अनुभूत गर्न सकिँदैन कि लाग्छ । त्यसमाथि म पढ्ने मामिलामा लोभी पनि छु । लोभी किनभने म आख्यान, गैरआख्यान, कविता, आत्मकथा सबै एकैपटक पढ्न सुरु गर्छु ।

किताब छान्ने समयमा पनि म केही चुजी हुन थालेकी छु । हिजोआज म धेरैजसो महिलाका विषयमा लेखिएका किताब धेरै छान्न थालेकी छु । हामीले भन्दै आएको मुस्लिम विश्वका महिलाका विषयमा लेखिएका किताब हिजोआज मेरो पहिलो छनोटमा पर्न थालेका छन् ।

किताबको सबैभन्दा लोभलाग्दो कुरा भनेको किताबको प्रस्तुति नै हो । कतिपय किताबको प्रस्तुतिले मनै लोभ्याउँछ । कतिपय लेखकको प्रस्तुति पढ्दा लोभ लाग्छ, डाह लाग्छ । मैले पनि यसरी नै लेख्न सके हुन्थ्यो जस्तो लाग्छ । किताब पढिरहँदाका अनुभूति पनि किताबकै कर्नरमा लेखिदिन्छु । र, लेखकको जस्तै प्रस्तुति दिने रहर बिट मार्छु ।

दैनिक जीवनको कति समय किताबको ह्याङओभरमै बितेको पनि छ । पशुपतिमा रहेको विद्युतीय शवदाहगृहको चिम्नीबाट आउने धुवाँ देख्दा मलाई विश्वयुद्धको ग्यासच्याम्बरको कल्पना आउँछ, अनि आँखा चिम्म गर्छु । 

केही वर्षपहिले रोमका गल्लीमा घुमिरहँदा मेरो दिमागमा ‘इट प्रे लभ’का शब्दहरू नाँच्दै थिए । यही किताब पढिसकेपछि म इटाली जान्छु र इटालियन भाषा सिक्छु भन्ने रहर पैदा भएको थियो ।

किताबसँगको सामीप्यले गर्दा नै होला मेरो वरिपरि कोही नभए पनि हुन्छजस्तो लाग्छ । मात्र किताब हुन् र किताब पढिरहेकी म हुँ । किताब पढ्नेहरू ‘रेस्पाइट’ हुन्छन् भन्ने धारणा पनि छ । धारणा बनाउन सबैलाई छुट हुन्छ तर बुझ्नैपर्छ किताब पढ्नेहरू नै समाजलाई नजिकबाट चिन्न सक्छन् । 

११ वर्षको उमेरमा बुबा गुमाएका कारण स्मृतिमा बुबाको धूमिल चित्र छ । तर, हिजोआज जब कसैले बुबामाथि लेखेका स्मृति पढ्दा शब्दमा म आफ्नै बुबाको चित्र बनाउँदी रहेछु । भारतीय अभिनेता नवाजुद्दिनको आत्मकथामा बुबाको प्रसंग छ, त्यो प्रसंग पढिरहँदा मलाई बुबाको स्मृतिले घोचेको थियो । 

बुबाको धूमिल स्मृतिमा जोडिने शब्दले आँखाबाट आँसु पनि खसाउँछन् । र ती आँसुका थोपामा म आफ्नै अनुहार खोज्छु किनभने किताबले अन्ततोगत्वा आफैंलाई आफैसँग परिचित गराउँछन् । 

निरन्तर किताब पढिरहँदा ‘रोलिङ स्टोन ग्यादरर्स नो मस’ भन्ने उक्ति चरितार्थ हुने हो कि भन्ने शंका पनि लाग्छ । ‘जीवन गतिशील छ’ भन्ने अर्को उक्तिले आफंैलाई सम्झाउँछु पनि ।

किताब पढ्नेहरूका आ–आफ्नै रहर हुन्छन् । आ–आफ्नै छनोट हुन्छन् । यहाँ प्रेमी–प्रेमिकालाई प्रभाव पार्न पढ्ने पनि छन् । बाबुआमालाई देखाउन पढ्ने पनि छन् । बहस तथा छलफलमा सहभागी हुन पढ्ने पनि छन् । पढेर मौन बस्ने पनि छन् । यी सबैलाई मेरो सलाम किनभने यी सबै किताब पढ्छन् । आई लभ दोज हु रिड्स बुक ।

तर, सबैले किताब पढ्न पाउँछन् भन्ने नै पनि छैन । बहुसंख्यक मानिस बिहान–बेलुका छाक जुटाउनमा तल्लीन रहनुपर्ने बाध्यता मेरो समाजमा छ । 

किताबको छनोट र रुचिकै आधारमा जज गर्नेहरू देख्दा दुःख लाग्छ । दया लाग्छ यस्तो जजमेन्टल मानसिकता बोकी हिँड्ने मान्छेप्रति । भन्छन् नि ‘डन्ट जज अ बुक बाई इट्स कभर’ तर, अब ‘डन्ट जज अ म्यान बाई च्वाइस अफ रिडिङ’ भन्नुपर्ला जस्तो छ ।

कहिलेकाहीँ एउटै लेखकका कृति एक–अर्कासँग तुलना गर्न पुग्छु । नयनराज पाण्डेको ‘यार’लाई ‘उलार’सँग तुलना गर्न पुग्छु । कार्ल माक्र्स, डेथ स्टडिज अनि अल्र्बट कामु पढ्नेहरूलाई म कहिलेकाहीँ भन्छु, ‘जीवनमा सधैँ गम्भीर हुनुपर्छ भन्ने छैन ।’ सँगै लाग्छ पनि ‘जीवन रमाइलो मात्रै होइन ।’ त्यही भएर पनि किताब कस्तो पढियो भन्ने भन्दा पनि पढ्नेको रुचि कस्तो छ भन्ने कुरा महŒवपूर्ण हो ।

कुनै समय म आख्यानका गल्लीमा भौँतारिन्थें । त्यसपछि बिस्तारै म गैरआख्यानका सडकमा भौंतारिन थालें । कलेज र स्कुल पढाउन थालेपछि फेरि म आख्यानका गल्लीमा देखा परें । बुकाहोलिक्सको बहसले मलाई आख्यान, गैरआख्यान, कविता, मेमोयर, बायोग्राफी, अटोबायोग्राफी सबैतिर छरपस्ट बनायो ।

‘फिक्सन मेक्स यु मोर अलाइभ टु टुवार्डस् लाइफ । ननफिक्सन इज मोर हेल्पफुल इन मेकिङ यु टेकन एज अ पर्सन विथ अ सिरियस भ्वाइस ।’ दुवै प्रकारका किताबले समाजसँगै परिचित गराउने हुन् । ननफिक्सनले प्रत्यक्ष रूपमा वैचारिकको तहमा समाजसँग परिचित गराउँछन् भने फिक्सनले कथा, पात्र र परिवेशको माध्यमबाट समाजसँग मलाई परिचित गराउँछन् । 

ननफिक्सन र फिक्सन दुवैले मलाई ‘म’ आफैंसँग पनि परिचित गराउँछन् । परिचित हुनु नै किताबको सुन्दर पक्ष हो । स्थापित परिचयको आवरण भत्किनु र नयाँ परिचयको पत्र तयार गराउन सक्नु पनि किताबको दर्शन हो ।

कतिपय किताब मेरो दराजमा थन्किएका छन् । कतिपय किताबका अक्षरलाई मैले अझै सुम्सुम्याउन पाएकी छैनँ । थकथक लाग्छ यस्तो हुँदा । र्याकमा किताब मलाई पर्खिरहेको छ जस्तो लाग्छ । समय र जीवनका व्यावहारिक पक्षमा पेलिँदा कयौँ किताब दराजमा पर्खिबस्छन् । 

पुस्तकले सोच्न बाध्य बनाउँदो रहेछ । प्रश्न गर्न सक्ने ल्याकत जन्माउँदो रहेछ । बाँचिरहेको समयलाई थप नजिक बनाउँदो रहेछ । विगतलाई शब्दको कसीमा राखेर आजसँग परिचित गराउँदो रहेछ ।

बोल्न सक्ने पनि बनाउँदो रहेछ । ‘रहेछ’ भन्ने यस्ता कुरा खोज्न थाल्ने हो भने लामै फेहरिस्त बन्छ । फेहरिस्त नबनाऊँ, किताब पढौं, शब्द अनुभूत गरौं । त्यसपछि यस्तो ‘रहेछ’ भन्ने त कति आउँछन् कति ।
 

  • प्रकाशित मिति : कात्तिक २४, २०७५ शनिबार ७:२४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया