‘मिटू’बारे दिया मास्केको विचार : यो गाउँ–गाउँसम्म पुग्न जरुरी छ

मिटू एउटा यस्तो अभियान हो, जसले वर्षौंदेखि दबिएका, दबाइएका कुण्ठित आवाजहरू बाहिर ल्याउन सहयोग गररिहेको छ । मिटू अभियानको औचित्य र आवश्यकता पुरुष र महिला दुवैका लागि उत्तिकै छ, तर तुलनात्मक रूपमा केटी मान्छे बढी ह्यारेस्ड हुने भएको अहिले आवाज महिलाहरूले उठाइरहेका छन् ।

यस अर्थमा मिटू अभियानको आवश्यकता र औचित्य तुलनात्मक रूपमा केटा मान्छेभन्दा केटी मान्छेलाई ज्यादा छ ।

नेपालजस्तो पुरुषप्रधान देशमा त समाजको कुनै न कुनै ठाउँ, चाहे त्यो घरभित्र होस् या घरबाहिर, एउटी नारी जीवनमा एक न एकचोटि दुर्व्यवहारमा परेकै हुन्छे । कुनै धेरै संवेदनशील होला, कुनै अलि कम, तर कतै न कतै ऊ दुर्व्यवहारमा परेकै हुन्छे । यसो भन्दै गर्दा फेरि केटा मान्छेहरू दुर्व्यवहारमा पर्दै पर्दैनन् भन्न खोजेको होइन । हामी बस्ने समाजको कुरा गर्दा पुरुषभन्दा महिलाहरू बढी शोषित छन् । यो सत्य हो ।

मिटू अभियानको औचित्यको कुरा गर्दा मुलतः मिटू अभियान दुई कारणले महत्वपूर्ण छ । एउटा, केटी मान्छेलाई हाम्रो समाजले हेर्ने तरिका र अर्को, आफू सानो हुँदा आफूमाथि भएका गलत कुरा चेतना नभएका कारण कसैलाई भन्न नसक्ने अवस्था ।

यहाँ केटी मान्छको आवाज सधैँ दबाइन्छ । हाम्रो समाज महिलाको अनुकूलतामा छैन । महिलामाथि लाज मात्रै थुपार्ने काम गरेको छ, यो समाजले । महिलाहरू आफूमाथि भएको दुर्व्यवहारविरुद्ध बोल्न पनि सक्दैनन् । बोलिहाले पनि कसैले पत्याइदिँदैन । चाहेर पनि बोल्न नसक्नुको एउटा अर्को पनि कारण छ, त्यो हो इज्जत । गल्ती पुरुषकै भए पनि त्यसको दोष महिलामाथि थुपारिन्छ ।

पहिलो कुरा त समाजको संरचनाका कारण केटीहरू बोल्नै सक्दैनन्, साहस जुटाएर बोलिहाले पनि कसैले मतलब गरिदिँदैन । उल्टै महिलालाई दोषी ठहर्याइन्छ । हाम्रो समाजको यस्तो अवस्था छ, तपाईं आफै भन्नुस्, दुर्व्यवहारमा परेकी एउटी केटीले यस्तो अवस्थामा कसरी भन्ने आँट गर्ली ?



अर्काे, धेरै मान्छेले आफू सानो हुँदा थुप्रै दुर्व्यवहार खेपेका हुन्छन् । मानसिक रूपमा आफू परिपक्क भइनसकेकाले आफूमाथि गलत भइरहेको छ भन्ने थाहै हँुदैन । जब बुझ्ने भइन्छ, तब थाहा हुन्छ, त्यो वेला आफूमाथि गलत पो भएको रहेछ भनेर । यस्तो अवस्थामा त्यतिवेला आफूमाथि भएको ह्यारेसमेन्टविरुद्ध अहिले आवाज उठाउन मिटू अभियान वरदान सावित भएको छ ।

सानो छँदा म पनि धेरैपटक ह्यारेसमेन्टमा परेकी थिएँ । सानो छँदा आफूमाथि भएका धेरै घटनामध्ये म एउटा कुरा सेयर गर्न चाहन्छु, ता कि सबैलाई बुझ्न सजिलो होस् । 



त्यो घटना हुँदा म ठ्याक्कै कति वर्षकी थिएँ, अहिले यकिनसाथ भन्न सक्दिनँ । मेरो अनुमान गलत छैन भने म बाह्र–तेह्रकी हँुदी हुँ । म बाबासँग कतै गाइरहेकी थिएँ । बाबा र म गाडीमा थियौँ । रातको समय थियो । पर्याप्त सिट नभएकाले बाबा र म चालकनजिकैको सिटमा बसिरहेका थियौँ । मलाई क्याबिनमा बस्न निकै उकुसमुकुस भइरहेको थियो ।

यही कुरा बुझेर बाबाले सहचालकसँग भन्नुभयो, ‘नानीलाई यहाँ बस्न गाह्रो भएजस्तो छ, बसमा कुनै खाली सिट छैन ?’ सहचालकले एउटा मात्र सिट खाली भएको कुरा बाबालाई भन्नुभयो । मलाई निकै गाह्रो भइरहेकाले बाबाले मलाई खाली सिटमा बसाएर आफू क्याबिनमै बस्नुभयो । खाली सिट बसको अन्तिम सिट थियो । म त्यहाँ गएर बसेँ । केहीबेरमै सहचालक आएर मसँग जिस्किन थाल्यो । उसले विस्तारै मलाई छुन थाल्यो । मेरो छुन नहुने अंगमा पनि छुन थाल्यो ।

मसँग गलत भइरहेको छ भन्ने मलाई थाहा नभए पनि मलाई उसको छुवाइले असहज भइरहेको थियो । त्यसपछि मैले उसको हात समातेँ, ता कि उसले मलाई त्यसरी नछोओस् भनेर । बस केही अघि पुगेर रोकियो । म त्यहाँ बस्न नसकेर बस रोकिएकै वेला बाबासँग गएर बसेँ । म जब बुझ्ने भएँ, तब मैले बुझेँ कि मसँग त्यतिवेला भएको कुरा त ह्यारेसमेन्ट रहेछ । जब यो कुरा मेरो दिमागमा आउँछ, मलाई अहिले पनि गाह्रो महसुस हुन्छ ।

म त्यो कुरा कसैलाई भन्न पनि सक्दैनथेँ । खासमा मसँग भएको कुरा गलत हो भनेर मलाई थाहा थिएन । म त्यस समयमा मानसिक रूपले परिपक्क भएकी थिइनँ । त्यसैले, मैले आफ्नो बचाउका लागि केही गर्न सकिनँ । मैले बाबालाई त्यसबारे भन्न पनि सकिनँ । सायद, त्यस्तो केही हुँदा आफ्नो घरपरिवारमा भन्नुपर्छ भन्ने ज्ञान नभएर पनि होला । त्यो समयमा आजको जस्तो सानै उमेरदेखि ह्यारेसमेन्टको शिक्षा दिने परिपाटी थिएन । आजभोलिको पुस्ता यो मानेमा भने भाग्यमानी नै हो ।

आजभोलि सानैदेखि स्कुल तथा घरमा ह्यारेसमेन्ट के हो, त्यसो भएको खण्डमा आफूभन्दा ठूलालाई भन्नुपर्छ भनेर सिकाइन्छ । तर, पनि यो शिक्षा सबैले पाउन भने सकेका छैनन् । सानै उमेरदेखि ह्यारेसमेन्ट तथा यौनसम्बन्धी शिक्षा दिनु अब हाम्रो जिम्मेवारी हो । 

यौन दुर्व्यवहारमा परेको मान्छे साह्रै कमजोर हुँदो रहेछ । ह्यारेसमेन्ट यति संवेदनशील कुरा रहेछ कि, त्यो जति नै पुरानो भए पनि त्यसले दिने पीडा कहिल्यै भुल्न सकिँदैन रहेछ । मलाई त्यो घटना अहिले पनि सोच्दा साह्रै गाह्रो अनुभव हुन्छ । ममाथि भएको त्यो घटना नियोजित रूपमै भएको रहेछ भन्ने म बुझ्ने भएपछि थाहा पाएँ । खासमा त्यहाँ एउटा मात्र सिट खाली थिएन । बसको पछाडिका अरू केही सिट पनि खाली नै थिए । तर, अँध्यारो भएकाले अगाडिबाट देख्न सकिँदैनथ्यो । 

मैले त्यतिवेला आवाज उठाउन सकिनँ, किनकि मलाई थाहा थिएन कि ममाथि गलत भइरहेको छ । जब म बुझ्ने भएँ, तब आवाज उठाएँ । सानो छँदा आफूमाथि भएका दुर्व्यवहार बुझ्ने भएपछि आमालाई भनेँ । 

यस्तो अवस्थामा पर्नेहरूका लागि मिटूले धेरै सहयोग गरिरहेको छ । यो अभियानले हिम्मत जुटाउन नसकेर चुप बसिरहेकाका लागि बोल्ने हिम्मत जुटाउन सहयोग गरिरहेको छ ।

कलाकारिता क्षेत्रमा आउँदा भने म शारीरिक र मानसिक दुवै रूपमा बलियो भइसकेकी थिएँ । यो क्षेत्रमा भने मैले त्यस्तो दुर्व्यवहार भोग्नुपरेन । त्यसमाथि, म यस क्षेत्रमा लाग्दा क्लियर भएर नै आएकी थिएँ कि, म पपुलर हुने बहानामा कसैका व्यक्तिगत इच्छा भने पूरा गर्नेछैन । अथवा, नराम्रो र सजिलो बाटो रोज्नेछैन । म काम र पैसामा लोभी मान्छे होइन ।

केही मान्छे पपुलर हुन र काम पाउनका लागि गलत बाटो रोज्न र केही मान्छेका व्यक्तिगत स्वार्थ पूरा गर्न पनि पछि हट्दैनन् । तर, मैले त्यस्तो कहिले गरिनँ । बरु, मलाई कसैले काम दिएको बदलामा प्रयोग गर्न खोज्नेवाला छ भने म त्यस्ता मान्छेबाट टाढै बसिदिन्छु । म नेगेटिभ सोच भएका मान्छेहरूबाट सधैँ टाढा हुन्छु । 

मैले आफूमाथि सानोमा भएको कुरा भन्न सकिनँ, किनकि त्यतिवेला आफूमाथि भएको कुरा गलत हो भनेर छुट्याउन सक्नेगरी मानसिक रूपमा परिपक्क भइसकेकी थिइनँ । तर, अहिले म सबै कुरा बुझ्न सक्ने भएकी छु । यस्तो घटना अब मसँग भयो भने म निर्धक्क बोल्नेछु ।

मिटू अभियान नेपालका दुर्गम ठाउँका गाउँगाउँसम्म पुग्न सके यो अझ प्रभावकारी हुने थियो । अहिलेसम्म मिटू सबै ठाउँमा पुग्न सकेको छैन । सहरमा बस्ने र सचेत मान्छेहरूसम्म मात्र पुग्न सकेको छ । अशिक्षित र दुर्गम भेगका मान्छेमाथि अझ धेरै दुर्व्यवहार हुन्छ । यो अभियानलाई सफल बनाउन आ–आफ्नो ठाँउबाट सहयोग गरिदिनहुन सबैमा अनुरोध पनि गर्छु ।

  • प्रकाशित मिति : कात्तिक २०, २०७५ मंगलबार १३:४४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया