झिलिमिली तिहार झिनियाँकाे व्यापार

पाल्पा– तिहारमा विशेष परिकार तथा कोसेलीका रुपमा प्रयोग हुने झिनियाँ (झिलियाँ)को व्यापार महिलाको राम्रो आम्दानीको स्रोत बनेको छ । तिहार पर्वमा बढी प्रयोगमा आउने झिनियाँ बिक्रीबाट राम्रो आम्दानी हुन थालेपछि व्यावसायिक ढंगले महिलाले यो व्यवसाय अपनाएका छन् । 

पाल्पाको सदरमुकाम तानसेन, रामपुरलगायतका विभिन्न ठाउँका महिलाले यसको व्यापारबाट मनग्य कमाइ गर्न सफल भएका छन् । कम लगानीमा घरमै बसीबसी आम्दानी हुने भएपछि व्यावसायिक ढंगले झिनियाँको व्यापार गर्दै आएको रामपुर नगरपालिका–५ राङभाङकी मैयाँ श्रेष्ठ बताउँछिन् । 

श्रेष्ठले यो व्यवसाय आजभन्दा ११ वर्ष अघिदेखि निरन्तर रुपमा गर्दै आएकी छिन् । उनलाई अहिले झिनियाँ बनाउने र बिक्री गर्न भ्यार्इ–नभ्यार्इ छ । श्रेष्ठले विशेष गरी तिहार पर्वका वेला यसको बिक्रीबाट डेढ लाख रुपैयाँसम्म आम्दानी गर्छिन् । ‘जब तिहारको चहलपहल सुरु हुन थाल्यो, तब झिनियाँको व्यापार गर्दै ठिक्क हुन्छ,’ उनले भनिन् । अन्य वला पनि व्यापार निरन्तर भइरहने, तर तिहारमा अत्यधिक बिक्री हुने हुँदा बनाउन भ्यार्इ–नभ्यार्इ रहेको श्रेष्ठले बताइन् । 

‘लगानी खेर जान्छ कि भन्न नपर्ने, घरायसीधन्दा सँगसँगै दिनहुँ यसको बिक्रीबाट राम्रो आम्दानी भइरहन्छ,’ उनले भनिन् ।  अहिलेसम्म करिब ४० क्विन्टल जति तिहारका लागि मात्र बिक्री गरेको र ५० क्विन्टलसम्म बिक्री हुने अनुमान उनको छ । गत वर्ष डेढ लाख रुपैयाँसम्म कमाइ गरेकी श्रेष्ठले यस वर्ष करिब दुई लाख रुपैयाँजति कमाइ हुने आशा गरेकी छिन् । 

अहिले उनले दैनिक ३०० दर्जन बढी झिनियाँ बिक्री गर्छिन् । यहाँ उत्पादन भएको झिनियाँ रामपुर बजारका अलावा पाल्पाका विभिन्न स्थानीय बजार, स्याङ्जा, तनहुँ, बुटवललगायतका स्थानमा बिक्री हुने गरेको छ । 

करिब २५÷३० हजारको लगानीमा मनग्य आम्दानी गर्न सकिने भएपछि महिलाका लागि यो व्यवसाय आम्दानी गर्ने राम्रो स्रोत बनेको छ । यहाँ उत्पादन भएको झिनियाँ आकारअनुसार प्रतिदर्जन रु ६० देखि ७० मा बिक्री हुने गरेको व्यापारी बताउँछन् ।
 
चामलको पिठोलाई पकाएर यन्त्रको सहायताले झिनियाँ बनाई सुकाएर तयार गर्ने गरिन्छ । विशेषगरी पहिले पहिले तिहार पर्वका लागि मात्र बनाइने यो हिजोआज भने अन्य समयमा पनि बिक्री हुने गरेको पाइएको छ । 



जनजाति वर्गको शुभकार्य तथा पूजाका समयमा अनिवार्यजस्तै भएको झिनियाँ पछिल्लो समयमा सबै वर्ग, सबै जातजातिमा प्रयोग हुन लागेपछि यसको मागसमेत बढ्दै गएको हो । 

झिनियाँ बनाउने सीप र प्रविधि स्थानीय नै हो । त्यसलाई आवश्यक पर्ने कच्चापदार्थ चामलको पिठो पकाएर तातो पीठो यन्त्रमा राखेर बनाइने झिनियाँ जिल्लामा छरिएर रहेका व्यवसायीले तिहार पर्वको अवसरमा मात्रै झन्डै दुई करोडभन्दा बढीको निर्यात गर्दै आएका छन् । 



तिहार पर्वबाहेक विवाह, व्रतबन्ध, पूजाआजा, माघे संक्रान्ति, तिजपर्वलगायतका विभिन्न पर्व र शुभकार्यमा पनि यसको प्रयोग हुन थालेको छ । तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाई दिएपछि प्रसादस्वरूप झिनियाँ दिने चलन छ । 

  • प्रकाशित मिति : कात्तिक २०, २०७५ मंगलबार १५:२९:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया